काठमाडौँ । यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहको बसाई नेपालगञ्जमा रहेको छ । त्यहाँ बसाईका क्रममा भइरहेका महत्वपूर्ण भेटघाटले ठूलै परिवर्तनको संकेतसमेत दिइरहेको छ । गत मंसिर १७ गते काठमाडौँबाट नेपालगञ्ज गएका पूर्वराजाको दाङमा विशेष कार्यक्रम सम्पन्न भइसकेको छ भने अब भैरहवामा पनि विशेष अभिनन्दनको कार्यक्रम हुने पूर्वराजा निकट स्रोतले बताएको छ । पूर्वराजा नेपालगञ्ज रहेका बेलामा नेपालगञ्जको बागेश्वरी मन्दिर, राप्तीसोनारीको भुवरभुवानी मन्दिरसँगै दाङ र बर्दिया जिल्लाको भ्रमण भइसकेको छ । पूर्वराजासँगै नेपालगञ्जमा पूर्वरानी कोमल तथा पुत्रीहरुसमेत रहेको जनाइएको छ ।
यसबीचमा पूर्वराजा शाहको भारत भ्रमण भएको छ । भारतको लखनउमा भएको भ्रमण निकै नै फलदायी भएको दाबी गरिएको छ । पूर्वराजाको भारत बसाई पनि लामो नै रह्यो । पूर्वराजाको टोली गत पुस ७ गते भारत गएर १९ गतेमात्र नेपालगञ्ज फर्किएको हो । पूर्वराजाको लखनउ बसाई नेपाली राजनीतिमा तरङ्ग ल्याउने किसिमले नै फलदायी भएको दाबी गरिएको छ । पूर्वराजाको भ्रमणबारे संवाद सचिवालयले आधिकारिक जानकारी नदिए पछि विश्वस्त सूत्रका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग विशेष छलफल भएको दाबी गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको अहिलेको सत्ता समीकरणसँग सन्तुष्ट छैनन् । लोकतन्त्र आएपछि नै नेपाली राजनीतिलाई खासै वास्ता नगर्नु र नेताहरुको भारतलाई पेल्ने शैलीमा चीनतिर लम्पसार परेजस्तो गरेर भ्रम छर्न खोजेकोप्रति मोदी असन्तुष्ट बनेका हुन् । विश्वस्त सूत्रका अनुसार नेपालबाट राजसंस्था फाल्नु नै
दुर्भाग्य भएको र यसको जरुरी अब देखिएको भन्दै भारतले पूर्वराजासँगै पूर्वराजाका दूतहरुसँग गम्भीर छलफल अगाडि चलाएकोसमेत स्रोतको दाबी छ ।
मोदीकै निर्देशनमा भुटानले पूर्वराजालाई भव्य स्वागत गरी राजकीय हैसियतमा सम्मान दिनुले पनि भारत सरकारले नेपालमा फेरि परिवर्तन चाहिरहेको संकेत पाउन सकिन्छ । नेताहरुको स्वार्थीपनबाट नै वाक्क भइसकेको भारतले अब नेपालमा राजसंस्थाको विकल्प नभएको मनस्थितिमा पुगेको पनि बुझ्न सकिन्छ । अझ भुटानी राजा आएर नेताहरु कसैलाई भेट नगरी फर्केर जानुलाई थप शंकाका दृष्टिले बुझ्न सकिन्छ । यसले धमिलो तस्बिर झन् चम्किलो हुँदै गएको भनी बुझ्न कठिन छैन ।
भारतले पूर्वराजालाई सक्रिय बनाएर फेरि एकपटक जिम्मेवारी सम्हाल्न आग्रह गरिरहेकोसमेत पाइएको छ । यसका लागि सुरक्षा सल्लाहकार डोभलले मोदीको सन्देश लिएर पूर्वराजासँग कुराकानी गरेकोसमेत स्रोतको दाबी छ । साथै योगी आदित्यनाथले पनि नेपाललाई हिन्दू राष्ट्र बनाउँदै पूर्वराजालाई सक्रिय भूमिकामा आउन आग्रह गरेको दाबीसमेत गरिएको छ ।
सम्भवतः यही कारणले गर्दा यसपालि भारतले परराष्ट्र मन्त्री डा आरजू राणा देउवालाईसमेत बेवास्ता गरेको पाइएको छ । डोभलले आरजूसँग भेट गर्न अस्वीकार नै गरे । यसको मतलब तत्काल भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा नबोलाउने निश्चित जस्तै भएको छ । यसको प्रभावका कारण पूर्वराजाप्रतिको भारतीय दृष्टिकोण स्पष्ट हुँदै गएको छ ।