काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट नेपाललाई शान्तिथलो बनाउन आग्रह गरिएको छ । आफ्ना पूर्वजले देशलाई शान्तिक्षेत्र प्रस्ताव गरेरै संयुक्त राष्ट्र संघबाट पारित भएको स्मरण गर्दै पूर्वराजा शाहबाट अहिलेका नेताहरुलाई स्वार्थको राजनीतिमा डुबेर मुलुकलाई रणमैदान बनाउन खोजेकोप्रति सचेत गराइएको हो । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिने क्रममा पूर्वराजा शाहबाट बिहीबार साँझ जारी १२ मिनेट लामो भिडियोमार्फत उक्त सचेत गराइएको हो । नेपाल कसैको रणमैदान नभइ सबै नेपालीको साँझा थलो भएको स्पष्ट पार्दै पूर्वराजाबाट सबै नेपालीको घर नेपाल र जात नेपाली हो भन्दै नेपाललाई शान्तिथलो बनाउन आग्रह गरिएको हो ।
सन्देशमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऔँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्र निर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’ यो भनाइले नेपालीहरुलाई फुटाएर राज गर्ने शक्तिहरु बढेको देखाइएको छ । सबैलाई एक ढिक्का भएर नेपालको रक्षा गर्नुपर्ने सन्देश यो भनाइले दिन्छ । भिडियो सन्देशमा पूर्वराजा शाहबाट पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिइएको थियो । पूर्वराजा शाहबाट नेपाल राष्ट्र निर्माणको पृष्ठभूमिको चर्चा गर्दै भिडियो सन्देशमा थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौतीको समय नभएको
उल्लेख गरिएको छ । पूर्वराजाबाट भनिएको छ, ‘विश्व साम्राज्य कसैको अधिनमा थियो । संसारमा अधिकांश देशले औपनिवेशिक नियति भोग्दै थिए । थुप्रै साना देशहरूले अस्तित्व र पहिचान गुमाउँदै गर्दा साम्राज्यका आँखै अघिल्तिर एउटा देश खडा गर्नु सानो चुनौती थिएन ।’ पृथ्वीनारायण शाहले तितरबितर भएर छरिएको र स(सानो भूखण्डमा विभक्त भएको नेपाललाई ठूलो प्रयासबाट एक सिंगो र सबल राष्ट्र दिएको जिकिरसमेत पूर्वराजा शाहबाट गरिएको छ ।
सो क्रममा शाहबाट नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको पनि बताइएको छ । ‘राष्ट्र निर्माताको स्मरण गर्दा हाम्रो ध्यान त्यता जानुपर्छ । समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ सन्देशमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’
पूर्वराजाबाट देशको आन्तरिक एकता र अविच्छिन्न राष्ट्रिय अस्मिता रक्षाका सूत्र दिव्योपदेशबाट प्राप्त भएको, चार वर्ण छत्तीस जातको फूलबारी नेपाल भएको चर्चा गरिएको छ । शाहबाट नेपाल मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, राजनीतिक सुरक्षा, न्याय, कूटनीति भएको देश भन्दै यसका लागि बाहिरी मुलुकबाट आएको वैचारिक विवाद आवश्यक नरहेको तर्क पनि गरिएको छ । पूर्वराजाबाट भनिएको छ, ‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्छ ।’ पूर्वराजा शाहबाट दलहरूलाई लक्षित गरेर कुनै टिप्पणी नगरे पनि देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको गुनासो गरिएको छ । यसले विश्वास गुमाउँदै गएका नेताहरुलाई राम्रो सबक पनि भएको छ ।