कांग्रेस–एमाले मिलेपछि माओवादी केन्द्रमा बढ्दो छटपटी

Home Feature

सत्ता गुम्दा प्रचण्डलाई आयो होश


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकभर सत्तामै रहन खोज्छन् । उनी जंगलबाट सहर छिर्नासाथ अधिकांश समय सत्तामा छन् । उनको पार्टी माओवादी केन्द्र सरकारमा रहिरहेकै हुन्छ । जब प्रचण्ड सत्ता बाहिर हुन्छन् अनिमात्र उनलाई छटपटी हुन्छ र सुकुटे पुगेर आत्मसमीक्षा गर्न थाल्छन् । उनको प्रिय स्थान हो सिन्धुपाल्चोकको सुकुटे । त्यहाँ गएर बसेपछि उनी निकै फ्रेस हुन्छन् । यसको खास कारण हो उनका दाहिने हात अग्नि सापकोटाको घर त्यहीँ । तिनै सापकोटाले व्यवस्था मिलाउँछन् र प्रचण्ड सुरक्षित महसुस गर्छन् । अनि ओकल्न थाल्छन् पीडा ।
उनले तत्काल सत्तामा जाने सम्भावना नदेखेपछि आत्मसमीक्षासमेत गरेका छन् । यद्यपि उनले दोष भने आफ्नो कहिल्यै देखेनन् । सर्वहाराको उत्थान गर्न निस्केका प्रचण्ड आफू भने पूँजीपति वर्गको रहन सहनमा बस्छन् । तिनै प्रचण्डले स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जित हासिल गरेर आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका–५, तेतेरियामा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभामा उनले आउँदो स्थानीय निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने जिकिर गरेका हुन् । ०७९ को स्थानीय तह निर्वाचनमा माओवादी तेस्रो बनेको थियो । गएको मंसिर १६ गतेको स्थानीय तह निर्वाचनबाट पूर्व क्षेत्रले माओवादी केन्द्रलाई नयाँ उचाइमा उठाउने सन्देश दिएको उनले उल्लेख गरे ।
विरोधीहरूले अब माओवादी कमजोर भयो भन्दै फैलाएको अफवाहलाई चिर्दै अघि बढ्ने उनले उद्घोषसमेत गरे । प्रचण्डले आफ्नो पार्टी ओरालो यात्रामा रहेका बेला कहिले नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको बताए । अब आफ्नै बलबुतामा अघि बढ्ने उनले बताएका छन् । देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका निम्ति फेरि एकपटक माओवादी केन्द्रलाई बहुमत दिन उनले आग्रह गरे । उनले भने, ‘एकचोटि ०६४ को अनुभव दोहो¥याइयो भने अब माओवादी ०६४ जस्तो विभाजित हुने छैन । विभाजितहरू पनि छिटै
सबै एकताबद्ध हुँदैछौँ ।’ आफू नेतृत्वको पछिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई अघि बढाएको उनले बताए । तर वर्तमान सरकारले त्यसलाई कमजोर पारेको उनले आरोप लगाए ।
आफू सत्तामा हुँदा आफूभन्दा मुनिका र आफूलाई खतरा महसुस गराउने नेताहरुलाई छोडेरै गएको राम्रो भनेर उक्साउने र हेप्ने प्रचण्डले सत्ता बाहिर गएपछि भने गल्ती गरेको भनी भ्रम छरेर आफूतिर आकर्षित गर्छन् । तर अब भने उनको खुराफाती दिमागलाई धेरैले पढेको स्पष्ट हुँदै गएको छ । उनले कहिले मोहन वैद्य त कहिले विप्लवलाई डाँडा कटाए भने कहिले डा बाबुराम भट्टराई, बादल र टोपबहादुरहरुलाई भित्तामा पु¥याए । उनले आफू शक्तिमा रहुन्जेल कसैलाई पनि गनेनन् । अहिले कांग्रेस र एमाले मिलेपछि छटपटी भइरहेको महसुस गरिरहेका छन् । आफ्नो शक्ति बलियो बनाउन उनी फेरि तिनै वैद्य र विप्लवको साथ खोजिरहेका छन् ।