पूर्वराजा भारत जाँदा ओलीलाई छटपटी

Home Feature

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत गएर फर्कँदा प्रधानमन्त्री केपी शर्मा ओली भने छट्पटिएका छन् । पूर्वराजालाई सम्मानपूर्वक भारतले बोलाइरहने र आफूलाई भने वास्ता नै नगरेको भन्दै ओली रिसले चुरचुर भएका छन् । उनको चुरचुरले आफू कहिले पदबाट खुस्किने हुँ भन्ने चिन्ताले सताएको भाव जनाउँछ । ह्ुन पनि ओली कहिले पदबाट हात धुनुपर्ने अवस्थामा पुग्ने हुन् उनी स्वयंलाई पत्तो छैन । तर पूर्वराजाको माहोल अहिले दिनानुदिन बढ्दै जाँदा नेपालमा फेरि राजतन्त्र फर्कन्छ र मुलुक हिन्दू राष्ट्र बन्छ भन्ने आँकलनसमेत भइरहेको छ ।
पूर्वराजाबाट निरन्तर भारतको भ्रमण भइरहेको छ । भारतले आफूलाई ‘करेक्सन’ गर्न खोजेसँगै पूर्वराजालाई निरन्तर स्वागत गरिरहेको छ । त्यतिमात्र होइन पूर्वराजाको भुटान भ्रमण पनि भारतकै सुझावमा भएको थियो । जसका कारण सबैभन्दा बढी चिन्तामा केपी ओली रहेको देखिन्छ । ओलीले दरबारमाथि खेलबाड गरेका थिए । उनले पटक पटक स्वार्थ लुट्न खोजेका थिए । तर जुनसुकै बेला छेपारोले रङ फेरेजस्तै बोली फेर्न माहिर ओलीप्रति दरबार विश्वस्त हुन नसकेपछि उनी २०७८ देखि नै छट्पटाएका थिए । ओलीले आए आँप गए झटारो भन्दै बाँचुन्जेल आफू नै सत्तामा रहने र पार्टीमा कब्जा गरिरहने नीति लिएसँगै पार्टीलाई त भड्खालोमा हाल्दैछन् नै नेपाललाईसमेत डुबाउने खेलमा लागेका छन् ।
त्यही भएर होला छिमेकी भारतले अब दलहरुलाई समर्थन गर्नुको औचित्य नभएको भन्दै पूर्वराजालाई नै अगाडि सार्ने सोच बनाएको हुन सक्ने बुझ्न सकिन्छ । पूर्वराजाको यसपालिको यात्रा गोरखपुरसम्मको मात्र रह्यो । पूर्वरानी कोमल शाह साथमा रहेका बेलामा प्रयागराज महाकुम्भसम्म पुगेर फर्कने योजना भएको भए
पनि प्रयागराजको माहोल त्यति सहज नभएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सहज निर्णय लिन सकेका थिएनन् । जसका कारण माघ १७ गते गोरखपुर गएका पूर्वराजा माघ २० गते भैरहवा फर्कनु परेको छ । तर यसबीचमा योगी आदित्यनाथसँग पूर्वराजाको गम्भीर छलफल भएको छ । भोलिको नेपालका बारेमासमेत योजना बुनिएको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘भेट नै भएपछि यो विषयमा चर्चा नहुने त कुरै भएन ।’
खासमा पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन रहेसँगै सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाहको यात्रा गोरखपुर भएको हो । सोअनुसार गोरखनाथ मन्दिरमा पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट सँगसँगै पूजा अर्चना भएको छ । सो अवसरमा आदित्यनाथसँग विभिन्न समसामयिक विषयमा कुराकानीसमेत भएको हो । सँगसँगै लञ्च गरेकाले पनि लामो समय पूर्वराजा र आदित्यनाथबीच कुराकानी भएको छ । स्रोत भन्छ, ‘यसपालिको राजाको यात्रा अलि विशेष भएको छ । यसले छिट्टै परिणाम दिने पनि देखिन्छ ।’
ओली ढलेँ ढलेँ भन्दै …
पूर्वराजाको पकड मजबुत हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली भने सरकार कुनै हालतमा नढल्ने बताइरहेका छन् । तर भित्रभित्र भने ओली ढल्दै गएका छन् । गल्दै गएका छन् । उनले भारतले आफूलाई नबोलाउँदा कता कता आफ्नो सरकार धेरै लामो समयसम्म अगाडि बढ्ने सम्भावना कम रहेको बुझेका छन् । त्यसैले त उनी जहाँ जान्छन् सरकार नढल्ने दाबी गर्दै आएका छन् । संसदमासमेत उनले यो विषय कोट्याए । उनले सरकार ढल्न लाग्यो भनेर विपक्षीले समय व्यर्थमा फालेको टिप्पणीसमेत गरे । गत शुक्रबारको प्रतिनिसभा बैठकमा उनले बजारमा चर्चा पाएको ’ढलेँ ढलेँ’ गीतजस्तै चर्चा गरिएको भन्दै कटाक्ष गरे ।
‘ढलेँ ढलेँ भन्ने गीत प्रचारमा छ । आमरूपमा राजनीतिक नेताले गाएको सुन्छु– ढल्यो, ढल्यो । यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवमा सुहाउला, पार्टीमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन । यस्तो गीत के नक्कल गरि’रा होला ? यस्ता गायन राजनीतिका मञ्चमा गाउन बन्द गरे हुन्छ । सरकार ०८४ सम्म टसमस गर्नेवाला छैन ।’
संसदमै यस्तो गीत गाउनु नौलो हैन । ओलीले आफू आज कि भोलि भन्नेमै दिन बिताउँदै गर्दा ठूलो सत्ताधारी दल नेपाली कांग्रेस भने सती गएकोजस्तो देखिएको छ । कांग्रेसले कुनै अस्तित्व नै जोगिने गरी काम गरेको छैन । तसर्थ कांग्रेसका केही हिन्दू पक्षधर नेताहरुले अब परिवर्तन अवश्यम्भावी भनी दाबी गर्न थालेका छन् ।