कम्युनिष्ट नेताहरुको पोल खोलाखोल

Home Feature

काठमाडौँ । नेपालका कम्युनिष्ट नेताहरु एक अर्कालाई आपसमा सिध्याउन लाग्छन् नै । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापित भएपछि दर्जन पटक त पार्टी फुटेकै छ । अनि थुप्रै नेताहरुमाथि आरोप लागेको छ । पार्टीबाट निष्काशित गरिएको छ । किनकि कम्युनिष्टको रोग हुन्छ एक अर्कालाई सिध्याउने । आफू नै एक नम्बर नेता हो भन्ने भ्रम परेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कहिल्यै नेता मानेनन् । प्रचण्ड पनि दुवै दल मिलेर बनेको नेकपाको कहिल्यै अध्यक्ष कहलाइएनन् । एमाले नै छाड्ने तरखरमा माधवकुमार नेपाल भइरहँदा कहाँबाट प्रचण्ड जोडिएका थिए ।
नभन्दै प्रचण्ड त बाहिरिए नै एमालेका पूर्व महासचिव माधवकुमार नेपाल पनि बाहिरिएर नेकपा एकीकृत समाजवादी पार्टी खोले । अनि थाले ओलीलाई गाली गर्न । उनले पछिल्लो समय ओलीको ठगी राजनीतिको धन्धाको पर्दाफास गरिरहेका छन् । नेपालले प्रधानमन्त्री ओली सरकार जनताप्रति गम्भीर नभएको आरोप लगाए । शनिबार काठमाडौँमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनमा उनले यस्तो बताएका हुन् । उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै विरोध गरे । ओली दुनियाँलाई ठग्नका निम्ति प्रधानमन्त्री बनेको आरोपसमेत उनले लगाए । ओली सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नमा केन्द्रित भएको उनको भनाइ थियो । उनले संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । उनले भने, ‘अहिले तपाईंले सुन्नुभयो, अध्यादेशको कुरा । अध्यादेश ६÷६ वटा अध्यादेश ल्याइयो । हुन त त्योभन्दा पहिला पनि तपाईंहरूले सुन्नुभयो, एउटा सरकार चलिरहेको थियो, त्यो सरकार रातारात बदलियो । बदल्नुपर्ने कारण के थियो ? त्यसको औचित्य के थियो ? दुईवटा कम्युनिस्ट पार्टी मिलेर सरकार चलाइरहेको अवस्थामा त्यो सरकार हटाउनुपर्ने कारण के परेको थियो ? प्रधानमन्त्री पद नै चाहिएको थियो भने प्रचण्डजीसँग कुरा गरेको भए त्यो पद पनि दिनुहुन्थ्यो कि क्या हो, बार्गेनिङ गरेको भए ! नछोडेको भए हामीलाई पनि भनेको भए, फेरि एउटा प्रधानमन्त्रीको संख्या थप्नु छ भनेको भए, बनाइदिनुस् भनेको भए मान्थ्यौँ होला ।’ नेता नेपाल त्यत्तिमै रोकिएनन् । उनले अगाडि भने, ‘त्यही प्रधानमन्त्री बनेर दुनियाँ ठग्नको लागि संविधान संशोधन गर्नुछ भनेर गफै हाँक्ने हो भने त्यो गफको के काम ? अब संविधान संशोधनको विषय पनि ०८७ को विषय बन्यो । अब ०८४ देखि चुनाव हुने कुरा सुनेका छौँ । ०८४ मा चुनाव हुने अनि ०८७ मा संविधान संशोधन गर्ने भनेपछि योबीचको अवधिमा को हुने हो प्रधानमन्त्री ? यसको केही छ जवाफ ? मुखबाट त्यो निस्किएको हो कि नबोल्नुपर्ने कुरा ! अर्थात्, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यो मुलुक सञ्चालन गर्ने कुरामा गम्भीर हुनु हुन्न ।’
ओलीमाथि थप आरोप लगाउँदै नेता नेपालले भने, ‘उहाँ वास्तवमा देश चलाउनका लागि, जनताको समस्या समाधान गर्नको लागि होइन, कसरी हुन्छ सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने कुरामा केन्द्रित भएर लाग्नुभएको छ । यसले हाम्रो देशको भविष्यलाई बढो संकटग्रस्त बनाएर जाने सम्भावना छ । उहाँहरूले अहिले नयाँ भाष्य ल्याएको छ । नेपालमा दुईवटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्छ । भन्नुको मतलब दुईदलीय व्यवस्था नेपालमा स्थापित गर्नुपर्छ, बहुदलीय व्यवस्था
होइन । त्यसो भए उहाँहरूको एजेन्डा संविधान संशोधन गरेर बहुदलीय होइन, दुईदलीय शासन प्रणाली स्थापित गर्ने कुरा राख्नुभएको छ कि ! हामी त्यो पर्खिएर बसिरहेका छौँ ।’ यसअघि बिहीबारको संसद बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले समर्थन गर्नेको मतलाई अराधीलाई चोख्याउने सुनपानी बनाइरहेको कटाक्ष गरे । उनले सत्तापक्षका सांसदहरूलाई दुःख नमान्न आग्रह गर्दै भने, ‘तपाईंहरूको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ ।’
उनले भ्रष्टाचारीमाथि कारबाही कहाँ पुग्यो भन्दै प्रश्न गरे । ‘अनाथ केटाकेटीका जमीनको समेत भ्रष्टाचारमाथि कारबाही कहाँ पुग्यो ? म दिन्छु उत्तर, मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आईपीओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमै मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्बौं ऋणको दुरुपयोगको छानबिन के भयो ? सामसुम पारियो । ‘नक्कली भुटानी शरणार्थी काण्डमा बेचन झाको बयान के भयो ? पूरै नक्कली शरणार्थी काण्ड अब बेचन झामै सीमित भयो ।’ प्रचण्डले बाँसबारी छालाजुत्ता कारखाना जग्गाको काण्ड पनि मिलाइएको दाबी गरे । दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बनाउनुपर्ने बताए । उनले ओलीको यति र ओम्नीसँगै गिरीबन्धुको छानबिन कहाँ पुग्यो भन्दै छानबिन गर्नुपर्ने बताए । उनले आफू कुनै प्रकरणमा जोडिएको भन्दै छानबिन गर्न कुनै आपत्ति नभएको भन्दै आफ्नो पनि छानबिन गर्न निर्देशन दिने हैसियत बनाउनु भन्दै ओलीलाई भ्रष्टाचारको नाइके बनाए । के यी दोषबाट ओलीले मुक्ति पाउलान् त ?