भिड्ने मुडमा एमाले र माओवादी

Home Feature

एकले अर्को पार्टीलाई धम्क्याउँदै बामपन्थी नेताहरु



काठमाडौं । २०६४ साल चैत २८ गते भएको पहिलो संविधान सभाको निर्वाचन कस्तो होला भन्ने कौतुहलता सबैलाई थियो । तर जति कौतुहल बनाएको थियो डर अझै बढी थियो । किनकि जंगलबाट आएको माओवादीले जंगली शैलीमै लुटपाट मच्याएर भए पनि चुनाव जित्ने आँकलन थियो । नभन्दै माओवादी पहिलो पार्टी बन्यो पनि । किनकि उसले निकै ठूलो जाल बिछ्याएको थियो । माओवादीले ‘कसले कता भोट राख्छ थाहा हुन्छ भोट हामीलाई नदिए खुकुरीले छप्काइदिन्छौं’ भन्ने सम्मका अभिव्यक्ति पनि दिएका थिए । अनि नडराएर भयो त ? कतिपय स्थानमा त बुथै पनि कब्जा गरियो ।
विरोधका आवाज त उठेकै हुन् तर निर्वाचन अधिकृतका परिवारका वैयक्तिक विवरण लिएर बसेका माओवादीका उश्रृंखल कार्यकर्ता सामु कसको के लाग्नु र ? वाध्य भएर जसो जसो भन्छन् त्यसै त्यसै गरे । अर्कातर्फ अन्मिन लगायतका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आफूलाई सफल देखाउनका लागि नै मान्छे नमरोस् बाँकी जे सुकै होस् भनेजस्तो गरेरै भए पनि आँखा चिम्म गरिदिए । त्यस्तै भएको थियो –अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईले जित्दा पनि ।
मान्छेलाई ज्यान भन्दा ठूलो केही लाग्ने रहेनछ । अनि विगतलाई सम्झेर कयौं अन्य दलका कार्यकर्ताले पनि माओवादीलाई भोट हान्यो । अर्कातिर सर्वहारा वर्गका लागि लड्ने भनेको छ पक्कै केही त गर्ला भन्ने आशा पनि थियो । त्यतिबेलासम्म नेपाली कांग्रेस र एमालेको नेतृत्वको सरकारलाई जनताले चाखिसकेका थिए । आखिर माओवादी पनि खाओवादी बन्यो । केही गरेन । तर उसको वाइसीयलप्रति जनता डराएकै हुन् । हुनत त्यतिबेला एमालेको युथ फोर्स थियो । एमाले र माओवादीबीच ठाउँठाउँमा भिडन्त भएकै हो । तर जति सोचिएको थियो त्यति खतरनाक भने थिएन । किनकि त्यतिबेला केन्द्रीय नेताहरुले संयम अपनाउन आग्रहसँगै कार्यकर्तालाई निर्देशन दिएका हुन्थे ।
यसपालि भने अलि खुल्लमखुल्ला च्यालेन्ज दिन थालिएको छ । स्वयं दलका अध्यक्षहरु नै भिडन्त गरेरै भए पनि पछार्नुपर्छ भनिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग भिड्न पछि नपर्नु भनिरहेका छन् । त्यस्तै एमाले अध्यक्ष केपी
शर्मा ओलीले पनि चुईक्क बोल्न नदिने गरी परास्त गर्नका लागि निर्देशन दिइसकेका छन् । जनताको मत भन्दा पनि शक्तिको अहम् देख्नेहरुका लागि परिस्थिति फरक नदेखिन सक्छ । तर स्थिति गम्भीर बन्दै गइरहेको छ । प्रचण्ड र ओली एक अर्कालाई सिध्याउने खेलमा लागेका छन् । यसले नेपाली राजनीतिलाई कतै पनि राम्रो गर्दैैन । युवा शक्तिलाई देश निर्माणमा लगाउनु पर्नेमा एक अर्कालाई मार्न तम्सिन निर्देशन दिने दुई ठूला पार्टीका अध्यक्षहरुको बुद्धिको लेखाजोखा गर्नुको अर्थ नै रहन्न ।
यो कारणले पनि आगामी चुनाव पक्कै सहज हुन्न । रगतको खोलो बग्ने र बगाउने धम्कीहरु दिँदै जाने हो भने लोकतन्त्र आएको अर्थ पनि रहेन । दुवैले भिड्ने मनस्थितिमै आफ्नो युवा फोर्सलाई सक्रिय पारेका छन् । माओवादीले वाईसीयल ब्यूँताउँदा एमालेले युथ फोर्सलाई जगाएको छ । अर्थात् धाक र धम्कीबाट कम्युनिष्ट पार्टीहरु अगाडि बढ्ने रणनीतिमा छन् ।