नारायणी किनारमा ओलीको देवत्वकरण

राजनीति


काठमाडौं । देवता नदी किनारमा पाउँछन् । नदी किनार पवित्र स्थल हो । जब भगवान नै त्यहाँ पाउँछन् भने कसैलाई देवता मान्नु छ भने किन उसलाई त्यहाँ नलैजाने ? हो, त्यसैले त एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी नदीको किनारमा देवत्वकरण गरिँदैछ । एमालेको दशौं महाधिवेशनको उद्घाटन त्यही किनारमा हुँदैछ । पाँच लाख जनता भेला गरेर ओलीलाई देवत्वकरण गर्न खोजिएको छ । त्यसैले त यो महाधिवेशन एउटा कर्मकाण्डी प्रक्रिया मात्रै भएको जिकिर भइरहेको छ । यो महाधिवेशनमा विगतमा जस्तो पार्टीको वैचारिक बहस र नेतृत्वको प्रतिस्पर्धा हुँदैन । महाधिवेशनमा नेतृत्वमा को आउला, कसले जित्ला र कस्तो वैचारिक बहस र सिद्धान्त अनुमोदन होला भनेर जिज्ञासा वा कौतूहलता नै छैन । यसभन्दा पहिले नै विधान महाधिवेशन सम्पन्न गरी नेतृत्व घोषणा गर्न बाँकी रहेको मात्र हो । किनभने महाधिवेशन पछिको नेतृत्वको नाम निश्चित नै छ । सिद्धान्तमा नाम जे दिइए तापनि विधान महाधिवेशनको नाममा पहिले नै ओलीवाद पास गराएर राखिएको छ ।
जसरी जुन रीतले विधान अधिवेशन भयो यस महाधिवेशनमा पनि त्यही नै हुने पूर्व संकेत देखिएको छ । औपचारिकता पूरा गर्ने अभिप्रायले एमालेले आफ्नो महाधिवेशन सम्पन्न गर्न एक्सप्रेस गतिमा काम अगाडि बढेको देखिन्छ । एमालेले २०७८ फागुनभित्र जसरी पनि ओलीलाई अध्यक्ष घोषणा गर्नुपर्ने देखिन्छ । किनभने फागुनपछि ओलीले ७१ वर्षमा पाइला टेक्छन् । यो महाधिवेशन भनेको औपचारिक रुपमा ओलीलाई निर्विकल्प अध्यक्ष घोषणा गराउने र अरू ओलीले आफ्ना खल्तीका मान्छेलाई टीका लगाउनु बाहेक केही नयाँ हुँदैन । ७२ वर्षको इतिहास बोकेको नेकपा एमाले जनताको पार्टी बन्ला, फराकिलो सोचाइ बनाउला भन्दा झन् साँघुरिएर निरङ्कुश ओली र ओली कम्पनी जस्तो देखिएको छ ।
अघिल्लो निर्वाचनमा धन्नै दुईतिहाई मत लिएर पार्टी चलाउन नसकी आन्तरिक कलहले देशलाई अनिर्णयको बन्दी बनाइएको थियो । अन्ततः संसद विघटन नै गरियो र पुनः डरलाग्दो फोहोरी खेलको शुरुआत भयो । यसैको परिणामस्वरुपः आज देशमा राजनैतिक अस्थिरता झन् बढ्दै गएको छ ।
एमालेले आफू कतैबाट चोखो बन्न सकिन्छ कि भनेर ओलीलाई देवत्वकरण गरिरहेको छ । एमाले पार्टी यस्तो बनाइएको छ कि कुनै कार्यकर्ताले बोल्न र आलोचना गर्न नै पाइँदैन । पार्टीभित्र पसेपछि यो पटक ओलीको जयजयकार गर्नुको विकल्पै छैन । त्यस्तो एक छत्र बनाइएको छ । अहिले नेकपा एमाले यस्तो जड पार्टी बनेको छ कुनै पनि कार्यकर्ताले विचार र नेतृत्वप्रति मुख बन्द नै गर्नुपर्छ । यस्तो परिवेशले नेकपा एमालेको दशौँ महाधिवेशनले कार्यकर्ता र शुभेच्छुकलाई केही नयाँ आशा र शक्ति ल्याउने लक्षण देखिँदैन । पार्टीभित्र एक शक्तिशाली व्यक्तिको रुपमा ओलीलाई नै पूजा गरिरहेको देखिन्छ । पार्टीमा यस्तो परिवेश बनाइएको छ कि उनको विपक्षमा बोल्ने तागत कसैले पनि राख्न सक्दैन । मुख नै खोलेर बोल्नेहरू पाखा लागिसकेको हुनाले आवाज ननिकाली ओठ मात्र चलाएर बोल्न र लेख्न खोज्नेहरूको सुनुवाइ नै हुँदैन । सायद डा. भीमबहादुर रावल र घनश्याम भुषाल कित्ता चुप्प लाग्ने र जे भन्छन् र जुन पद दिन्छन् त्यही स्वीकार्नुको विकल्प देखिँदैन । कुनैबेला शक्तिशाली र आशाका अनुहार भनेर गनिएका १० भाइको ओठमुख सुखिसकेको देखिन्छ । विद्रोह वा असहमत चेत भएका १० भाइलाई एमालेको ओली कम्पनीले यसरी पछार्यो कि अब पार्टीभित्र चुइक्क बोल्न नसक्ने अवस्थामा पुगे । कहिलेकाहीँ रावल र भुषालको लिखित स्वर आए पनि त्यसको खासै तात्पर्य छैन । रावल अध्यक्षमा ओलीसँग प्रतिस्पर्धामा उत्रने घोषणा चाहिँ गरेको सुनिन्छ । त्यसको खासै उपलब्धि केही छैन । त्यो भनेको ओली गुटबाट अझै टाढा र आँखाको
कसिङगर नै हुनु हो । आज एकछिन ओलीको देवत्वकरण गर्दा केहीलाई क्षणिक फाइदा होला तर सिङ्गो पार्टी र प्रणालीलाई ठूलो घाटा हुन्छ । पार्टी प्रणालीमा व्यक्ति पूजा गर्नु शुभेच्छुक र गुट इतर कार्यकर्तालाई ठूलो असर पर्छ । पूजाको परिणाम भोग्दा भोग्दै पुनः ओलीको मूर्ति नै बनाई धुप, दीप बाल्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो ।
एमालेलाई ओलीको निजी कम्पनी बनाउँदा पार्टीको अस्तित्व नै सकिन्छ । निर्विकल्प अध्यक्ष बनाउने भन्दैमा एउटा जीवन्त पार्टीको अध्यक्षलाई देवता नै बनाई जयजयकार गर्दा पार्टी नै समाप्त हुन्छ । नेपालको राजनैतिक इतिहासमा देवत्वकरणका उदाहरण अरु पनि नभएका होइनन् । भीमसेन थापा, राजा त्रिभुवन, राजा महेन्द्य, वीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी, प्रचण्ड आदि । कसैलाई देवत्वकरण र दानवीकरण गरिनु स्थायी हुँदैन ।