अधिकांश मन्त्रीहरु ‘असफल’

Home Feature समाचार

काठमाडौं । भनिन्छ नि सेनाविनाको सेनापतिले हार्छ । सेना लायक नभएनन् भने पनि सेनापतिले युद्ध हार्छ । त्यस्तै भएको छ अहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई । उनको सत्ता सहज छैन । उनले सत्ता सम्हालेको आठ महिना पुग्न थाल्यो । तर कामले भने गति लिन सकेको छैन । कमजोरी देउवाको भन्दा पनि उनका लन्ठू मन्त्रीहरुका कारणले हो । मन्त्रीहरु विभिन्न दलबाट सत्तागठबन्धन हुँदै आएकाले गर्दा पनि समस्या भएको हो । उनी सीमित मन्त्रीहरुको कामबाट मात्र प्रभावित छन् । उनको नजरमा अधिकांश मन्त्रीको कार्यसम्पादन औसतमुनि छ । तर गठबन्धनको परिबन्दका कारण मुख खोल्न नसक्नु उनको कमजोरी हो । २३ सदस्यीय मन्त्रिपरिषदमा उनी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका मात्र हैन आफ्नै पार्टी नेपाली कांग्रेसका मन्त्रीहरुबाटसमेत देउवा सन्तुष्ट हुन सकेका छैनन् । मतलब उनी लन्ठू मन्त्रीहरुका सरदार भएको आरोप लागेको छ ।
सामान्यतया मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन एक वर्षमा गरिन्छ तर प्रधानमन्त्री देउवाले मन्त्रीहरूको ६ महिने कार्यकालको व्यवहार र प्रस्तुतिलाई ‘नोटिस’ मा राख्ने गरेको बताइन्छ । गृहमन्त्री बालकृष्ण खाँण देउवाका खम्बा हुन् । उनीप्रति देउवा खुशी देखिएको बालुवाटार स्रोत बताउँछ । खाँण नभएको भए देउवा दोस्रो पटक पार्टी सभापति नहुने दाबी गरिन्छ । खाँणले नै प्रकाशमान सिंहलाई फकाउन सफल भएका थिए । खासमा इतर पक्षले चुनाव दोस्रो चरणमा पुगे इतरलाई नै सघाउने सहमति गरेका थिए । तर त्यसलाई तोडेर खाँणले देउवालाई सहजै सभापति बनाउन सघाए ।
तर देउवाले विश्वास गरेका कांग्रेसका नेताहरु सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, खानेपानीमन्त्री उमाकान्त चौधरी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको कार्यसम्पादन औसतभन्दा माथि उठ्न नसकेकाले देउवा सन्तुष्ट छैनन् ।
अन्य दलका मन्त्रीहरुसँग त उनी सन्तुष्ट हुने कुरै भएन । त्यो किसिमको काम मन्त्रीहरुले गरेका पनि छैनन् । माओवादी केन्द्रबाट अर्थमन्त्री रहेका जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग उनी सन्तुष्ट छैनन् । मन्त्री शर्माले त एमसीसी पेश गर्न नै नमानेपछि देउवा उनीसँग सबैभन्दा बढी आक्रोशित थिए । तर कुर्सी नै दाउमा परेपछि वाध्य भएर माओवादीले एमसीसीमा समर्थन गरेको लुकेको छैन ।
एकीकृत समाजवादीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको कार्यसम्पादन पनि प्रधानमन्त्री सन्तुष्ट हुन सकेका छैनन् । आले उश्रृंखल देखिएका छन् भने झाँक्री पनि बिलाएकी छिन् । जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, कृषि तथा पशुपक्षीमन्त्री महिन्द्र राय यादव र वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवको कार्यसम्पादन पनि औसतभन्दा तलै छ । रेणुलाई त
मन्त्रीबाट नहटाएर देउवाले सारै नै निरीह प्रदर्शन गरेका छन् । रेणुले ‘गौर घटना दोहो¥याउने’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएकी थिइन् । आखिर देउवाको वाध्यताले गर्दा सरकार नाममात्रको भएको छ । तर स्थानीय तहको निर्वाचनको आचारसंहिता लाग्नुअघि नै देउवाले सरकार पुनर्गठनको तयारी गरेको बालुवाटार स्रोत बताउँछ ।