एमालेलाई ‘नेकपा एस’ कति बाधक

समाचार

काठमाडौं । यतिबेला नेकपा एमालेलाई सारै अप्ठेरो छ । पार्टी फुटेपछि स्वभावतः एमालेलाई अप्ठेरो परेको हो । त्यो भन्दा पनि ठूलो अप्ठेरो एमालेले गरेको कर्मका कारण हो । दुई पटक संसद विघटन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अहिले स्थानीय तहको निर्वाचन निकै सकसपूर्ण देखिएको छ । खासगरी एमालेबाट विभाजन भइ बनेको नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो घोषणापत्रमा ओलीकै कारण एमाले विभाजन गर्नु परेको भन्दै ओलीमाथि व्यवस्था विरोधीको आरोप लगाएपछि एमालेकै लागि सकसपूर्ण भएको हो । दुई पटक प्रतिनिधि सभा विघठन गरेर सरकार बाहिर रहेका ओलीले पार्टीका विभिन्न बैठक र भेलाहरुलाई सम्बोधन गर्दा संसद विघठन ठीक थियो भन्ने तहबाट सम्बोधन गर्ने गरेका छन् ।
सरकार पक्षीय गठबन्धन दलहरुले एमाले अध्यक्ष ओलीकै कारण व्यवस्था नै धरापमा परेको, संविधान मिचेको जस्ता आरोप लगाइरहेका बेला ओलीले संसद विघठन ठीक थियो भन्ने तहबाट अभिव्यक्ति दिएका छन् । एस पार्टीले लिखित रुपमा ओलीलाई कम्युनिष्ट आन्दोलनको दोष दिएपछि ओलीले बाध्य भएर एमालेका नेता कार्यकर्तालाई संसद विघटन ठीक थियो भन्ने र प्रतिरक्षा गर्न निर्देशन दिएका हुन् ।
नेकपा एसले दुई तिहाइको सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको मात्रै दोष दिएको छैन उसले ओली दक्षिणपन्थीभाषमा डुबेको आरोप लगाएको छ । ‘स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनओटै तहका निर्वाचनमा आम जनताले ठूलो अपेक्षा र विश्वासका साथ वामपन्थीहरूलाई मत दिएका थिए । झन्डै दुई तिहाई संसदीय स्थानमा विजय प्राप्त गरी केपी ओलीको नेतृत्वमा बनेको सङ्घीय सरकारले शुरुदेखि नै जनअपेक्षा बमोजिम काम गरेन । आफ्नो वर्गपक्षधरता भुलेर, दलाल पूँजीपतिहरुको सेवामा सरकारको अग्रसरता बढ्यो । त्यस सरकारले भ्रष्टाचार र कुशासनलाई प्रश्रय दिएका कारण त्यसको प्रभाव प्रादेशिक र स्थानीय तहमा पर्न थाल्यो । यसरी तत्कालीन नेकपाको सरकारबाट जनताले गरेका अपेक्षामाथि कुठाराघात भएपछि आम जनताका मनमा केपी ओलीको दक्षिणपन्थी अवसरवादका बारेमा मात्रै होइन, समग्र कम्युनिष्ट आन्दोलनप्रति वितृष्णा उत्पन्न हुन थालेको थियो । त्यतिबेला हाम्रा सामु आत्मसमर्पण वा विद्रोहमध्ये एउटा विकल्प रोज्नुपर्ने थियो । हामीले आत्मसमर्पणलाई अस्वीकार ग¥र्यौं र विद्रोह रोज्यौँ । हामीले समयमै विद्रोह ग¥र्यौं र कम्युनिस्ट आन्दोलनलाई जोगाउने प्रयास ग¥र्यौं’, एस पार्टीले जारी गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।
यसरी एस पार्टीले पटक पटक एमाले र ओलीमाथि लिखित रुपमै आक्रमण गरेपछि ओलीले बाध्य भएर प्रतिरक्षाका लागि नेता कार्यकर्ताको साथ सहयोग खोजेका हुन् । एमालेभित्र केही नेताहरु अझै पनि संसद विघटन गलत थियो भनिरहेका छन् । ओलीले संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भुलेर पनि त्यस्तो अभिव्यक्ति नदिन पार्टीका नेताहरूलाई आग्रह गरेका छन् । पार्टी भित्रै पनि डा. घनश्याम भुषालले संसद विघटन गलत थियो भन्ने अभिव्यक्ति दिँदै आएका छन् । माधवकुमार नेपालले एमाले विभाजन गरी बनाएको नेकपा एस पार्टीले तयार पारेको भिडियो प्रचारमा सबैभन्दा बढी प्रहार ओलीमाथि गरिएको छ । त्यसमा पनि संविधान मास्न खोजेको, निरंकुश बन्न खोजेको भन्दै ओलीलाई व्यवस्था विरोधीको रुपमा चित्रण गर्न खोजिकएको छ । त्यसलाई चिर्न र प्रतिरक्षा गर्न पनि एमालेका सबै नेता कार्यकर्ता लाग्नुपर्ने भएकाले ओलीको सो अभिव्यक्ति आएको
हो । तर एमालेको घोषणापत्रमा माधव नेपाललाई भने केही भनिएको छैन । तर कम्युनिष्ट गठबन्धनलाई भने चर्को गाली गरिएको छ । उसले सत्ताधारी गठबन्धनलाई नै गाली गरेको छ । जतिसुकै गाली गरे पनि संविधान मिच्ने ओलीकै कुरा ठूला छन् ।