गठबन्धनभित्र अर्को गठबन्धन
काठमाडौं । चुनाव आउन थालेपछि नयाँ नयाँ समीकरण देखिन थाल्छ । २०७४ सालमा माओवादी केन्द्रले स्थानीय तहमा नेपाली कांग्रेससँग र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेको थियो । अनि पार्टी नै एकता गरेर साढे तीन वर्ष करिब दुई तिहाईको सरकार चलाए । तर अपवित्र गठबन्धन टुट्यो । अहिले पार्टी नै फुटेको छ । त्यसैगरी गत एक वर्षदेखि बनेको पाँच दलीय गठबन्धनमा पनि दरार पैदा भएको छ । सत्ताधारी तीन दलले एक आपसमा अर्को गठबन्धनको तयारी गरिरहेका छन् । सत्ता गठबन्धन दलमा नेपाली कांग्रेस बाहेकका मुख्य तीनवटा घटक नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुले अर्को गठबन्धनको तयारी गरेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एस पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच धेरै पटक भएको छलफलका क्रममा यस्तो कसरत शुरु भएको हो । गत साता एकीकृत समाजवादी पार्टीका तर्फबाट नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम नसकिँदै सत्तारुढ दलका तीन नेताहरु गोप्य छलफलमा जुटेका थिए ।
बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूको सपथ हुँदै गर्दा उनीहरु उपेन्द्र यादवको निवासमा गोप्य छलफलमा जुटेका थिए । ‘उहाँहरु यादवको निवासमा जानु भएको थियो’, माओवादीका एक नेताले भने ‘कांग्रेसले साह्रै पेलेको छ सोही बारेमा छलफल गर्न उहाँहरु जुट्नु भएको हो ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए ।
नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन् । समाजवदी पार्टीको रोग अन्य दलहरुमा पनि सरेको भन्दै माओवादी केन्द्रभित्र मन्त्री हेरफेरबारे कुराकानी चलिरहेको भए पनि प्रचण्डले त्यसलाई रोकेर राखेका छन् । तर एस पार्टीमा त्यही विषय ठूलो विवाद बन्यो । मन्त्रिपरिषद पुनर्गठनमा ढिलाई भएको विषयमा असन्तुष्ट बनेको एस पार्टीकै अगुवाइमा उपेन्द्र निवासमा भेटघाट भएको थियो । ‘संघीय संसदको निर्वाचनको मिति घोषणाको चर्चा परिचर्चासँगै तीन दलको गुट भेला भएको हो’,
स्रोतले भन्यो ‘उहाँहरुले निर्वाचन अघि नै सिट बाँडफाँडमा अडान लिने संभावना रहेको छ ।’ उनीहरुबीच भएको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि पनि उनीहरुले कांग्रेसले धोका दिएको भन्दै भेटघाट गरी छुट्टै गठबन्धन बनाउने प्रयास हुने गरेको थियो । आगामी संघ प्रदेशको चुनावमा गठबन्धनको तयारीमा रहेका सत्ता गठबन्धन दलका यी मुख्य तीन घटकबीच केही साता यता निरन्तर भेटघाट र छलफल भइरहेको छ ।
जनता समाजवादीमा पनि मन्त्री फेर्न चर्को दवाब भए पनि उपेन्द्र यादव र डा बाबुराम भट्टराईका बीचमा देखा परेको अन्तरविरोधका कारण त्यो सम्भव हुन सकेको छैन । उपेन्द्रले त्यही भएरै सोमबार राति बैठक डाकेर सर्वाधिकार आफूले लिएर मन्त्री पठाउने र हटाउने अधिकार पाएका छन् । त्यसो त बाबुराम भट्टराई अहिलेको गठबन्धनबाट सन्तुष्ट छैनन् । उनी विस्तारै एमालेतिर लहसिएका छन् । गोरखामा उनको निर्वाचन क्षेत्र र नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र एउटै भएकाले पनि त्यहाँ समस्या उत्पन्न हुने अवस्था आएकाले स्थानीय तहको निर्वाचनपछि भट्टराई एमालेतिर लहसिएका हुन् । सम्भवतः जसपा केही दिनमै फुट्ने छ । तर भद्र सहमति भनिएको छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा धोका दिएको विषयमा तीन दल सहमत भए पनि कांग्रेस बाहेक कुनै पनि स्थानमा एक्लै निर्वाचन लड्ने पक्षमा तीन दल रहेका छैनन् । उनीहरुले कुनै न कुनै रुपमा कांग्रेससँग सहकार्य गर्ने विषयमा यसअघि पनि छलफल गरेका थिए । तर एस पार्टीले भने यसपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बताएको छ ।