कांग्रेसमा विद्रोहको तयारी
काठमाडौं । लोकतन्त्रको सुन्दर पक्ष भनेकै प्रतिस्पर्धामा भाग लिने हो । तर नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको एक पक्ष भने चुनावमा भाग नलिने चेतावनी दिइरहेको छ । संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको हो । काठमाडौंमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरूले आपत्ति जनाएका हुन् । निर्णय नसच्याए पार्टीमा विद्रोह हुनसक्ने उनीहरूले चेतावनी दिएका छन् । नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी निर्वाचनको टिकट वितरण हुनुपर्ने बताए ।
न्यायोचित रूपमा टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने उनले चेतावनी दिए । समानुपातिक तर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवासँग उनले माग गरेका छन् । नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हरेर नबस्न सजग गराए । उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु । नभए तपाईँहरूलाई पनि राम्रो हुनै छैन ।’
उनले देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘विद्रोह’ हुन सक्ने चेतावनीसमेत दिए । निर्वाचनका लागि बालुवाटारमा भइरहेका बैठक र प्रचण्ड तथा नेपालले माग गरेको सिट संख्याप्रति उनको आक्रोश थियो । ‘म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु – हामी आक्रोशको चरणमा छौँ । यसपछि विद्रोह हुनसक्छ । बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौँ बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाएजति सिट जितिँदैन ।’
उक्त खबरदारी सभाको सभापतित्व गरेका जगदीशनरसिंह केसीले समानुपातिक तर्फको सूची देउवाले असोज १६ गतेसम्म नसच्याए आफूहरू विद्रोह गरेर अघि बढ्न बाध्य हुने बताए । देउवा पक्षले निर्वाचनको टिकट वितरणमा एकलौटी गरेको उनले आरोप लगाए । नेता केसीले आफूहरुलाई न्याय चाहिएको बताएका छन् । समान अवसर र न्याय नभए
सम्म पार्टीमा चुप लागेर नबस्ने उनको कथन थियो । त्यस्तै अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिए । पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन लड्ने घोषणा गरे । उनले भने, ‘निर्वाचनमा टिकट पाइन भने पनि कालिकोटमा निर्वाचन लड्छु । तर नेताको दास भएर बस्दिन । टिकटमा न्याय नभए विद्रोह हुन्छ ।’
पछिल्लो समय शेखर कोइराला समूह विद्रोहको विगुल फुक्ने तयारीमा छ । पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइरालाले ४० प्रतिशत बढी मत ल्याएका थिए । पार्टीको ४० प्रतिशत मत ओगटे पनि उनी निकटको पक्षलाई भने पूर्णरुपले बेवास्ता गरिएको आरोप छ । अहिले टिकट दिँदासमेत सोही अनुरुप नदिइए विद्रोह गर्ने नीति कोइराला पक्षले लिएको हो । अब कोइराला पक्षले विद्रोह गरे कांग्रेसको स्थिति के होला ? शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका नाममा कोइराला पक्षलाई पेलेपछि कोइराला पक्ष एकाएक आक्रामक भएको छ । यदि कांग्रेसको एक पक्षले नै विद्रोह गर्ने हो भने कांग्रेस कहाँ पुग्ला ? तर उक्त खबरदारी सभामा कांग्रेस पदाधिकारीहरु कोही पनि सहभागी थिएनन् । डा. शेखर कोइराला पनि सहभागी थिएनन् । उम्मेदवारी हारेका र टिकट नपाउनेहरुमात्र उपस्थित रहेका थिए ।