काठमाडौँ । ठूला दलका नेताहरूप्रति जनताको वितृष्णा बढेको बढ्यै छ । दोस्रो जनआन्दोलन पछिको नाजुक अवस्था कहिँकतै छैन । उतिबेला परिवर्तनकारी व्यक्तित्वको रूपमा लिएर स्वागत गर्नेहरू अहिले नेताहरूमाथि ढुंगा बर्साउने हुँदै खुकुरी प्रहार गर्ने हदमा पुगेका छन् । जनताले परिवर्तनको प्रत्याभूति गर्न नपाउँदा परिस्थिति यो हदमा पुगेको हो । तथापि, ठूला दलका नेताहरू सच्चिन तयार देखिँदैनन् ।
उल्टै उनीहरूले प्रतिगमन खल्बलाएको बताएर जनतालाई विगतमा झैं झुक्याउने चेष्टा गरिरहेका छन् । आकाशमा उडेको चिल देखाएर जमीनमा कुखुरा चोर्ने कोसिस नगर्दा हुन्छ । जनताले क्षमतावान र योग्य अभिभावकत्व भित्रीमनले रोजिसकेका छन् । परिणामतः राजसंस्था पुनस्र्थापनाको पक्षमा जनलहर उर्लिएको छ । यसैसाता काठमाडौंमा सम्पन्न राप्रपाको विरोध सभामा देखिएको व्यापक जनसहभागिता त्यसकै परिणति हो ।
जनतामा चुलिएको ठूला दलका नेताहरूप्रतिको वितृष्णा यत्रतत्र प्रकट हुँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्येक जिल्ला र प्रदेशका भ्रमणहरूमा कालो झण्डा झेल्दै आएका छन् । एमालेका केपी ओलीमाथि पूर्वी पहाडी भ्रमणमा ढुंगामुढा बर्सिएको धेरै भएको छैन । माधव नेपाल र बाबुराम भट्टराईहरू जनताको सामु मुख देखाउन वा उभिनसमेत नसक्ने खालको परिस्थिति सृजित भएको छ । ललिता निवास प्रकरणमा उनीहरूले पाएको उन्मुक्तिलाई स्वाभाविक मान्न कोही तयार छैनन् । बालकृष्ण खाँणको गिरफ्तारीले शेरबहादुर देउवामाथि शंकाको सुई सोझ्याएकै छ । त्यसमाथि आरजु राणा शरणार्थी प्रकरण, टीकापुर जग्गा काण्ड तथा झापाको गिरीबन्धु टी स्टेटको भ्रष्टाचारमा विवादित भएकी छन् । ठूला दलका प्रभावशाली सबै नेताहरू भ्रष्टाचारी हुन् भन्ने जनतामा परेको छ । ठूला नेताहरूलाई चोरको संज्ञा दिनेहरूको संख्या बढेको बढ्यै छ ।
ठूला नेताका छोरा खालहरू अरु नाङ्गिएका छन् । पूर्व उपराष्ट्रपति नन्द किशोर पुन, पूर्वसभामुख कृष्ण बहादुर महरा, वर्षमान पुन, रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका वर्तमान र पूर्व माओवादी नेताका छोराहरू भ्रष्ट रहेको भन्ने समाचार सोशल मिडियामा रंगिने गरेकै छन् । ईश्वर पोखरेल लगायतका एमालेका केही ठूला नेताका सन्ततीको पनि चर्चा नहुने गरेको छैन । देउवाकै छोराको बारेमा समेत यदाकदा समाचार बनेकै छ । ठूला नेताहरूको शानवान र तामझाम पूर्ण जीवनशैली पहिलेका महाराजाहरूको भन्दा कम छैन । हिजोका दिनमा खाली खुट्टा हिँडेका र यदाकदा चप्पल पड्काउनेहरू सत्तामा पुगेपछि रातोरात करोड र अरबपतिको शान शौकतमा देखिँदा सबै कुरो बिग्रिएको छ । जनताले नेताहरूलाई त्यत्तिकै नरुचाएका होइनन् । गाउँ घरतिर यतिबेला सयौं राजा पाल्नु परेको प्रतिको पश्चातापको स्वर घन्किन थालेको छ ।
प्रदेश प्रमुखहरूको लागि काठमाडौंमा दरबार र महल ठडिएको अवस्थाले जनतालाई थप विक्षिप्त बनाएको छ । प्रादेशिक संरचनाको लागि वार्षिक अरबौंको फजूल खर्च गरिएको प्रति जनता उत्तिकै रुष्ठ छन् । राजा रहँदासम्म टेबुल मुनिबाट थोरै रकम लिँदा पनि चिटचिट पसिना काढ्नेहरू अहिले हाकाहाकी घूसको मोलतोल गर्ने भएका छन् । ठूला दलका नेता र कार्यकर्तालाई सुविधा उपलब्ध गराउनकै लागि प्रादेशिक संरचनाको बोझ लादिएको प्रतीत हुँदैछ । सबै खाले भ्रष्टाचार, तस्करी र संगठित ठगीमा ठूला दलकै नेता, कार्यकर्ता, सन्तती र झोले समर्थकको संलग्नता पाइनु सामान्य संयोग होइन । ठूला दलहरूप्रति जनताको विश्वास घट्नुका यस्ता धेरै कारण छन् ।
गाउँघरतिर खासगरी चिया पसल र चौतारीहरूमा गफगाफ हुँदा एउटा राजा फालेर सयौं महाराजा र अधिराजकुमार तथा युवराजहरू पाल्ने गल्ती भएको प्रतिको पश्चातापपूर्ण अभिव्यक्ति सुन्ने गरिएको छ । एमाले हुँदै समाजवादीमा पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले त्यत्तिकै गाउँतिर राप्रपाको प्रभाव बढेको र काठमाडौंको विरोधसभामा धेरै ठूलो जनसहभागिता जुटेकोप्रति चिन्ता प्रकट गरेका होइनन् । प्रधानमन्त्री दाहालबाट बारम्बार दोस्रो जनआन्दोलनको उपलब्धि गुम्ने खतरा रहेको उल्लेख गर्ने गरिएको छ । केपी ओलीले समेत बेलामौकामा
त्यस्तै आशय प्रकट गर्ने गरेका छन् । यो विषय माधव नेपालको दैनिक रोदन र क्रन्दनमा पर्ने गरेकै छ । उनीहरूको चिन्ता, रोदन वा टिप्पणी जनभावनामा आएको परिवर्तनको यथार्थ चित्रण हो । यो कुरा विदेशीले समेत बुझिसकेका छन् । तथापि सरोकार पक्ष अर्थात दरबार पूरै बेखबर देखिएको छ । त्यही कारण त्यताबाट कुनै टिप्पणी नआएको सचेत स्वदेशी र विदेशीले महसुस गर्न थालेका छन् ।
त्यसो त नागरिकको सोचमा हावी भएको यो परिवर्तन नितान्त नौलो होइन । बालेन र हर्कहरूले अप्रत्यासित रूपमा चुनाव जित्नुको कारण जनतामा हावी भएको विकल्प खोज्ने सोचको परिणाम थियो । त्यही जगमा रवि लामिछानेको रास्वपा चम्केको तथा राप्रपाको आकार ह्वात्तै बढेको हो । ठूला दलप्रतिको जनवितृष्णाले राजसंस्थाको अभिभावकत्व खोजिरहेको छ । राजा गद्दीमा छँदाका दिनमा अहिलेको नाङ्गो भ्रष्टाचार, तस्करी र संगठित ठगी भएको थिएन । दोस्रो जनआन्दोलन टुंगिएपछि ठूलाठूला सामूहिक हत्याकाण्ड भएका छन् । गौर हत्याकाण्ड, मधेश आन्दोलनताका भएको रौतहट काण्ड, टीकापुर कैलाली काण्ड आदि उदाहरण छन् । सर्वत्र अराजकता हावी भएको छ । मान, सम्मान र मर्यादा स्खलित भएको छ । जसको शक्ति उसको भक्ति बढेको छ । बाहुबलीहरूको सर्वत्र बिगबिगी छ । जनता पटक्कै सन्तुष्ट छैनन् ।
दोस्रो जनआन्दोलन शान्तिपूर्ण रूपले टुंग्याउने कार्यमा दरबारको विशेष भूमिका रहेकै हो । ०४६ मा तत्कालीन राजा वीरेन्द्रबाट आन्दोलनको “स्पिरिट” भन्दा दुई कदम अघि बढेर बहुदलीय व्यवस्था पुनस्र्थापन गरिएको थियो । त्यतिबेलाको आन्दोलनले पञ्चायती वर्गीय संगठनको अनिवार्य सदस्यता खारेजीलाई प्रमुख एजेण्डा बनाएको स्वदेशी तथा विदेशी सामु छिपेको छैन । राजा वीरेन्द्रबाट दुई कदम अघि बढेर बहुदलीय व्यवस्था दिइएको सबैले बुझेका छन् । ०६२–०६३ को आन्दोलन मत्थर पार्न स्थायित्व तथा शान्ति कायम गर्न र मुलुकलाई समृद्धितर्फ लैजान राजा ज्ञानेन्द्रबाट संसद पुनस्र्थापन गरिएको जगजाहेरै छ । हदम्याद सकिएर अस्तित्वमा नै नरहेको संसद ब्युँताउने राजा र तत्कालीन आन्दोलनरत आठ दलबीच भएको सहमति तोडेर कांग्रेसका गिरिजाप्रसाद कोइराला र माओवादीका प्रचण्डले केही विदेशीको निर्देशन कार्यान्वयन नगरेको भए जनता निराश हुने अवस्था आउने थिएन । बहुमत नेपाली जनताले यही निष्कर्ष निकालेका छन् । दलहरूप्रति बढ्दो निराशा त्यसकै उपज हो ।
दोस्रो जनआन्दोलन टुंग्याइँदाको यथार्थ जनसमक्ष ल्याउन खुट्टा कमाउनु बेकार छ । कति बुँदे सहमति भएको हो र कुन पक्षले किन तोड्यो ? यो सवालको जवाफ सचेत नेपालीले खोजेका छन् । जनतालाई विकल्प नभै भएको छैन । हस्ताक्षर गरेर धोका दिनेहरू सबैले गल्ती सच्याउनु पर्दछ । राजा र दलबीच सहकार्य भएको खण्डमा जनता मौन र शान्त हुने छन् । अन्यथा, स्वस्पूmर्त विद्रोहले मुलुकको लागि ठूलै बिग्रह निम्त्याउन खतराले चिह्याइसकेको छ । त्यसपछि यी कसैले पनि माफी पाउने छैनन् ।