आगोको भुङ्ग्रोमा रास्वपा

Home Feature

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला घर न घाटको पार्टी हुने अवस्थामा पुगेको छ । जसको महत्वाकांक्षामा पार्टी खडा भएको थियो उनी नै राजनीतिमा टिक्ने वा नटिक्ने भन्ने टुंगो नलागेको अवस्थामा रास्वपा आगोको भुङ्ग्रोमा परेको शंका गरिएको हो । रास्वपाका सभापति रवि लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीको हिरासतमा रहेका छन् । उनी कार्तिक २ गते पक्राउ परेका थिए । एक महिना उनी प्रहरीकै हिरासतमा बसिसकेका छन् । उनले आफू दोषमुक्त नहुन्जेल कसैलाई कार्यबाहक दिन खोजिरहेका छैनन् ।
सभापति नै जेलमा रहेपछि पार्टी कसरी चलिरहेको होला त ? तर केही वरिष्ठ नेताहरु नै रास्वपालाई रविको निजी कम्पनी भएको प्रमाणित गर्दै आफूहरु रक्षक भएको बताउन थालेका छन् । नभन्दै रविलाई निष्पक्ष छानबिन गरेर न्याय दिन अदालतलाई अनुरोध गर्नुको सट्टा सरकारको प्रतिशोधमा पक्राउ गरेको भनेर आरोपलाई ढाकछोप गर्दै नेताहरु तत्काल रिहा गर्न दबाब दिइरहेका छन् । रास्वपाले रवि कुनै हालतमा दोषी नभएको भन्दै प्रतिशोधका कारण पक्राउ परेको भन्दै रिहा नभएसम्म आन्दोलन सशक्त पार्ने निष्कर्ष निकालेको छ । रास्वपाले रविलाई छानबिन सकिएर दोषमुक्त भएपछि पुनः सभापतिको पद सम्हाल्ने गरी कसैले पनि कार्यबाहक सम्हाल्ने आँट गर्न सकेको छैन । यसका उपसभापति डोलप्रसाद अर्याल (डीपी) ले रवि लामिछाने ज्युँदो
रहेसम्म रास्वपाको सभापति रहने बताएर रास्वपालाई रविको निजी कम्पनी जस्तो बनाइदिएका छन् । अर्यालले तत्काल कसैले पनि कार्यबाहक नपाउने बताए । उनले भने, ‘रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो । यसमा कार्यबाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’
पार्टीमा डीपीसँगै स्वर्णिम वाग्ले उपसभापति छन् । रास्वपाको विधानमै सभापतिले तोकेका वा ज्येष्ठ उपसभापति मध्येबाट कार्यबाहक तोक्ने विधानमा व्यवस्था भए पनि अहिलेसम्म पार्टीले कसैलाई कार्यबाहक दिएको छैन । त्यतिमात्र होइन रविलेसमेत कसैलाई कार्यबाहक दिने आँट गरेका छैनन् । हुनत केन्द्रीय समिति बैठकको अध्यक्षता डीपीले नै गरे । तर उनले चाकडी गरिसकेका छन् कि ज्युँदो छन्जेल सभापति रवि नै हो । रवि जेल पर्दा सहकारी सहितका विभिन्न प्रकरणमा आफूहरु पनि तानिने चिन्तामा रास्वपाका नेताहरु रहेको चर्चा पनि छ । जो सहकारीमा प्रत्यक्ष परोक्ष मुछिएका छन् उनीहरुले रविलाई मुक्त गर्न पाए सबै चोखिने सोचमा छन् ।
दोस्रो धारको आवाज बलियो बन्दै
रास्वपाभित्र दोस्रो धार पनि सक्रिय हुँदै गएको छ । उनीहरुले रविलाई हटाएर अरु कसैले कार्यबाहक लिनुपर्ने भनिरहेका छन् । रवि दोषी भए पनि पार्टी भने निरन्तर चल्नुपर्नेमा उनीहरुको जोड छ । यस्तो जोड दिनेहरुको नेतृत्व स्वर्णिम वाग्लेले गरिरहेका छन् । उनी आफूले कार्यबाहक पाउनुपर्नेमा लागेको पाइएको छ । केही नेताहरुले उनलाई समर्थनसमेत गरेका छन् । वाग्लेले आन्तरिक रुपले यसलाई लबिङ गरिरहेकोसमेत पाइएको छ । त्यसो त उनी नेपाली कांग्रेसबाट फाइदा लुट्नुसम्म लुटेर रास्वपामा गएका हुन् । नभन्दै उनलाई कांग्रेस मतदातालेसमेत भोट हालेर रास्वपाको सांसद पद पड्काइहाले । अनि पार्टीको उपसभापति पनि भइहाले ।
अब उनको इच्छा यहीबेलामा पार्टीको नेतृत्व नै सम्हालौँ भन्ने रहेको छ । हुनत रास्वपा ‘सटकट’ बाटो राजनीतिमा आउनेहरुका लागि खुलेको पार्टी हो । त्यही भएर पनि होला वाग्लेले सटकट बाटोबाटै सभापति हत्याउने योजना बुनिरहेका छन् ।
भारतकै गुलामी गर्ने बन्ला त रास्वपा ?
यदि स्वर्णिम पार्टीको कार्यबाहक सभापति भए भने रास्वपा भारतको गुलाम हुनेमा दुईमत नहोला । किनकि स्वर्णिम तिनै नेता हुन् जसले नेपाल भारतको छाता मुनि बस्नुपर्छ भनेर राष्ट्रियता बेच्न तम्सिएका थिए । उनले देश नै भारतको निहितमा रहेर चल्नुपर्छ भन्ने नेता भएपछि रास्वपा त भँडखालोमा जान्छ नै देशकासमेत गद्दारहरु उत्पादन गर्ने पार्टी नबन्ला भन्न सकिन्न ।