कांग्रेस–एमाले सहकार्यमा ढुक्क नहुँदा दबाब र त्रास

Home Feature

ओलीलाई कुर्सी जोगाउनै सकस्


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अहिले कुर्सी जोगाउनै सकस परेको छ । वनको बाघले खाओस् कि नखाओस् मनको बाघले खाएजसरी अहिले ओली त्रसित छन् । जसका कारण उनी काम गर्ने भन्दा पनि आफ्नो कुर्सी जोगाउने खेलमै व्यस्त छन् । नेपाली कांग्रेससँग सहकार्य गरेर सरकार बनाएपछि त ढुक्कसँग काम गर्ने बेलामा दुई तिहाईको दम्भ उनमा लागु भएको छैन । उनीमाथि धेरै दबाब र त्रास देखिन्छ । अनि बाध्य भएर शुक्रबार राजधानीमा एमालेले शक्ति प्रदर्शन नै गर्नुप¥यो । र, उनले दरबारमार्गमा कांग्रेससँगको सत्ता समीकरण आगामी निर्वाचनसम्म कायमै रहने बताए ।
सरकार दशैँ, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरूले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम फैलाउने काम गरिरहेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले सरकार आगामी २०८४ साल मंसिरमा हुने निर्वाचनसम्म कायमै रहने दाबी गरे । शुक्रबार काठमाडौँमा एमालेको जागरण सभामा बोल्दै उनले अबको १८ महिनापछि आफूले सरकारको नेतृत्व शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने उल्लेख गर्दै उनले सरकार पूरा कार्यकाल रहँदैन भन्नेहरूले फैलाएको भ्रम चिर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । प्रधानमन्त्री ओलीले मुलुक र लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न नदिन र समाजमा अराजकता मच्चाउने काम हुन नदिन कांग्रेससँग सहकार्य गरेर अघि बढ्नु परेको पनि स्पष्ट पारे ।
उनले भने, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदै पाउँदैन, त्यो पनि पायो । यो महिना कट्दैन, त्यो पनि कटयो । दशैं देख्दैन, देख्ने मात्रै होइन, मनायो । तिहार देख्दैन, त्यो पनि देख्यो । कार्तिक कट्दैन, त्यो पनि कटयो । देख्दैन, त्यो पनि देख्यो । अब भाका राख्दै छन् फेब्रुअरीको । फेब्रुअरी भनेको त्यो माघ, फागुनको कुरा हो । फागुनको कुरा होइन, म भन्न चाहन्छु–२०८४ सालको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ–कान खोलेर सुने हुन्छ । मेरो अवधि म अब २०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु । त्यसपछि म प्रधानमन्त्री छोडेर शेरबहादुर देउवाजीलाई जिम्मा लगाउँछु ।’
ओलीले अगाडि भने, ‘उहाँले प्रधानमन्त्रीत्व फेरि १८ महिना चलाउनु हुन्छ । यसमा कुनै भ्रम
नराखे हुन्छ । त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु–यस्ता भ्रममा नपर्नुस्, यस्ता भ्रममा आम जनतालाई पर्न नदिनुस् । यस्ता भ्रमहरूको खण्डन गर्नुस् । ढुक्कले अगाडि बढ्नुस् । अवश्य पनि नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धी पार्टी पनि हुन् । अहिले नेपाली कांग्रेस र नेकपा एमाले किन एक ठाउँमा छन् ? यस कारण कि अहिले हामी बीचको प्रतिस्पर्धा भन्दा एकता महत्वपूर्ण कुरा हो । देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ, लोकतन्त्रलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । संविधान मास्न खोजिएको छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । अराजकता मच्चाएर समाजलाई भाँड्न खोजिएको छ ।’
ओलीले जसरी भाषण ढुक्कसँग गरे त्यत्ति नै उनी त्रसित देखिन्थे । किनकि उनलाई त उनकै कार्यकर्ता (एमालेका पूर्व केन्द्रीय सदस्य) दुर्गा प्रसाई हल्लाउन काफी छन् । उनले राजसंस्थाको बाटो रोजेपछि ओलीले एमालेलाई बढी क्षति हुन्छ भनेर शुक्रबार प्रसाईले गर्ने भनेको विरोध प्रदर्शनअघि नै उनलाई पक्राउ गराएर त्यो विरोधको ठूलो संगठनलाई राक्ने काम गरे ।
ओलीको कम्बोडियाको संचारमा लगानी रहेको पर्दाफास गर्ने क्रममा प्रसाईलाई साइबर अपराधमा मुद्दा चलाइएको छ । जसका कारण उनी हिरासतमा छन् । प्रसाई हिरासतमा रहेपछि उनको समूहले सशक्त विरोध प्रदर्शन गर्न सकेन । नत्र गत वर्षको मंसिर ७ को पहिलो अभियान भन्दा यसपालिको मंसिर ७ को दोस्रो अभियान विशाल हुने कार्यक्रम तय भएको थियो ।
ओली आत्तिएको त अब अन्य साना दलले पनि भन्न थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लेसमेत ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् । सरकार कुनै पनि बेला ढल्न सक्ने भएकाले प्रधानमन्त्री ओली बचाउमा केन्द्रित हुनु परेको उनको जिकिर छ । हुन पनि कथित रुपमा भारतलाई दाइ बनाउने ओली नै थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाइ भनेर आशीर्वाद लिने बानी परेका ओलीलाई यसपटक दाइले घरमा बोलाउँदै नबोलाएपछि छटपछिमा छन् । त्यसमाथि पनि दाइको दुस्मनी घर चीनमा गएर विभिन्न सहमति गरेर फर्कने भनेपछि दाइ पनि चुप लागेर त किन नै पो बस्थ्यो र ।