काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार मध्यपश्चिम र सुदूरपश्चिमको यात्रामा निस्कने कार्यक्रम रहेको छ । यो भ्रमण भने एकदेखि डेढ महिना लामो हुने निर्मल निवास स्रोतले बताएको छ । काठमाडौँमा राजनीतिक अस्थिरताले मुलुकलाई अप्ठेरोमा पार्दै गर्दा पूर्वराजा यो कोलाहलबाट टाढा मध्यपश्चिम र सुदूरपश्चिम गई देश चिन्तनमा लाग्ने बताइएको छ । देशमा भइरहेको अस्थिर राजनीतिबाट मुक्त पार्ने चिन्तनमा लागेको लामो समय भए पनि अझै यसबाट बाहिर निस्कने जुक्ति भने फुरिसकेको छैन । विशेषतः व्यवस्था फेरेर पटक पटक नेतासमेत फेरेर मुलुकले ट्रायल गरेको धेरै भइसकेको छ । नेपाल र नेपालीको अवस्था भने बदलिएको छैन । दिनानुदिन झन् गिर्दो अवस्था रहेसँगै यसबारे गम्भीर चिन्तनमा पूर्वराजा लागेको पाइएको छ ।
पूर्वराजाको मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमण यसपटक बढी नै फलदायी हुने विश्वास गरिएको छ । दाङ र बर्दियामा विशेष कार्याक्रम हुने बताइएको छ । पूर्वराजदरबार निकट स्रोतका अनुसार योजना बन्दै गइरहेको छ । नेपालगञ्ज पुगेपछि कार्यक्रम तय हुने बताइएको छ । यसपालि छिमेकी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका
दूतहरुसँग पनि गहन छलफल हुने स्रोतले बताएको छ । यसलाई पूर्वराजाको दशैँताका भएको भुटान भ्रमणको फलोअपका रुपमा लिइएको छ । भुटानले रेड कार्पेट बिछ्याएर पूर्वराजाको स्वागत गरेको थियो । त्यो स्वागत भुटानले एक्लै आफ्नो बलबुँताले गरेको पक्कै हैन । स्पष्टै छ नरेन्द्र मोदीको इशारा बिना भुटानले पूर्वराजाको भव्य सत्कार गरेको अवश्य हैन । यसको जानकारी नेपालका नेताहरुलाई पनि थाहा छ । पूर्वराजाले भुटानमा भव्य स्वागत खाएसँगै नेपालका नेताहरु केही अताल्लिएका पनि छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक आफ्नो सरकार नढल्ने बताइरहनुको पछाडि उनीमाथि कालो बादल मडारिइरहेको छनक पाउन सकिन्छ ।
हो भारतले नेपाललाई सिक्किमको जस्तो व्यवहार गर्न सक्दैन । तसर्थ पनि छिमेकीको नाताले नेपाललाई सुधार गर्न लाग्नु अनौठो हैन । सधैको अस्थिर राजनीतिका कारणले भारत पनि नेपालबाट फाइदा उठाउन सकिरहेको छैन । भारतले नेपाललाई बेवास्ता गर्ने हो भने निसंकोच नेपाली भूमि भारत फुटाउने योजना बनाउने थलोको रुपमा अरु कुनै शत्रु देशले उठाउन सक्छ भन्ने उसलाई पक्कै थाहा छ । अर्कातिर छिमेकीको नाताले पशुपतिनाथको आस्थाको धरोहर हिन्दू राष्ट्रलाई धर्म निरपेक्ष बनाएको र राजसंस्था फालेर नेताहरुले आफूलाई छोटेराजाहरु बनाएको पनि पटक्कै रुचाएको छैन । थिति बस्ने अवस्था नदेखेपछि दलहरुप्रति छिमेकी रिसाएको उसका पछिल्ला गतिविधिले देखाउँदै आइरहेको छ । यस्तो अवस्थामा पूर्वराजालाई अभिभावकीय भूमिका खेल्न छिमेकीले आग्रह गर्नु नौलो होइन । आखिर देशको जिम्मा देशको चिन्ता गर्नेलाई नै दिने हो । ताकि उसलाई मेरो देश प्राण भन्दा प्यारो छ भन्ने भावना सबैमा जगाउन सकोस् ।
यही अर्थमा पूर्वराजाबाट भारत आशावादी देखिएको पाइएको छ । अस्थिर राजनीति र अस्थिर धर्मका कारण बुद्धभूमि हिंसामा जाने डरले पनि छिमेकी सचेत रहेको पाइएको छ । आफ्नो स्वार्थ एक ठाउँमा छँदैछ । तर रोटीबेटीको सम्बन्ध गरेको छिमेकीले देश सप्रेको देख्नका लागि कुनै पहल गर्छ भने अन्यथा किन लिने ? हो खान पल्केकाहरुलाई भने समस्या अवश्य हुनेछ ।