काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा ठूलै सफलता हासिल गर्न सफल भयो । एमालेसँग मिलेरै भए पनि राप्रपाले नेपालको संविधान २०७२ पछि पहिलो पटक सबैभन्दा धेरै सिट जित्यो । त्यसले के देखायो भने राप्रपाको एजेन्डा स्थापित हुँदैछ । राप्रपाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापित हुनुपर्ने एजेन्डा राखेको छ ।
तर यसपालिको स्थानीइ तहको उपनिर्वाचनमा भने राप्रपा लज्जित हुनुप¥यो । राप्रपालाई जनताले पत्याएनन् । पत्याउन् पनि किन । उसका अध्यक्ष राजेन्द्र लिङ्देन देशमा राजा ल्याउँछु र हिन्दू राष्ट्र बनाउँछु भन्दै अमेरिकाका चोकचोकमा नेपालीहरुसँग पैसा लिए । तर त्यो पैसाको जिकिर पार्टीमा गर्दै गरेनन् । यसरी राजसंस्था देखाएर आफ्नो गोजी भर्न सफल भएका लिङ्देनप्रति एकाएक विश्वास घट्दै गएको त हैन भन्ने देखिएको छ ।
जस्तो कि कीर्तिपुर नगरपालिकामा ३१ हजार ११२ मतदाता रहेकामा २१ हजार २९९ मत उपनिर्वाचनमा खस्यो । ५३१ मत बदर भयो । कुल सदर मत २० हजार ७६७ कायम भयो । राप्रपाका मेयरका उम्मेदवार ध्रुव महर्जनले जम्मा ९९५ अर्थात् कुल सदर मतको ४.७९ प्रतिशत मात्र प्राप्त गरे । अर्थात् उनको जमानत जफत भयो ।
कीर्तिपुर त्यस्तो पालिका बन्यो जहाँ राप्रपाले उपनिर्वाचन भएका ठाउँमध्ये सबैभन्दा बढी मत पायो । कीर्तिपुर–१ मा राप्रपाका वडाध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद उप्रेतीले ६४ मत मात्र ल्याए । कीर्तिपुर–४ का वडाध्यक्षका उम्मेदवार राप्रपाकै विजेश बस्नेतले १६४ मत पाए । यो लज्जास्पद मत पनि अन्यत्र भन्दा धेरै हो । राप्रपाका सबै उम्मेदवारको जमानत जफत भयो ।
अब कल्पना गरौँ राप्रपाले के गरिरहेको छ । राजावादीहरुसँग आड, भरोसा र आर्थिक सहयोग लिइराख्ने तर जनताका काम गर्न चुक्ने नेता भएकै कारण अहिलेको नतिजा देखिएको हो । राजसंस्थालाई धोका दिने पार्टीमा एमाले अग्रस्थानमै पर्छ । कांग्रेसले खुलेआम
च्यालेन्ज गरेको भए पनि एमालेले भने ढुलमुले नीति लिँदै हस् हस् भनेर धोका दिएको हो ।
त्यो अहिलेमात्र होइन नेपालमा प्रजातन्त्र आएदेखि नै राजसंस्थामाथि गद्दारी गर्ने पार्टी कोही हो भने एमाले नै हो । स्वार्थ लुट्ने तर धोका दिने एमालेको चरित्र अहिले पनि कायमै छ । तर यसपालि त्यो धोका दिने एमालेसँग राप्रपाको तालमेल भएन अनि आफ्नो हैसियत देखियो ।
कीर्तिपुरमा अरुले भन्दा अगाडि नै उम्मेदवारी घोषणा गरेर राप्रपा भोट माग्न व्यस्त भएको थियो । सो क्रममा लिङ्देनले देशको अवस्था गणतन्त्रवादी दलहरूले बिगारेको आरोप लगाएका थिए । कीर्तिपुरवासीलाई भोटमार्फत व्यवस्था परिवर्तनको शंखघोष गर्न उनले आह्वान गरेका थिए । तर आफैँले जित्ने घोषणा गरेका पालिकामा राप्रपाको जमानतसमेत जोगिएन ।
उपनिर्वाचनमा राप्रपाको अवस्था देशभर खराब रह्यो । मधेस प्रदेशको राजधानी रहेको धनुषाधाम–१ मा २७ मत, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ दुई मत, ओखलढुंगाको मोलुङ–५ मा तीन, रौतहटको गढीमाई–८ मा चार, तेह्रथुमको लालीगुराँस–८ मा चार, सप्तरीको डाक्नेश्वरी–४ मा छ, गुल्मीको मुसिकोट–१ मा पाँच, जाजरकोटको कुशे गाउँपालिका–७ मा छ मत पायो । लिङदेनको गृहजिल्ला झापाको कन्काई–६ मा २६ मत पायो । हेटौँडा उपमहानगरपालिका–१२ मा १७८ मत पायो ।
एकातिर राप्रपा नेताहरूले गणतन्त्रवादीको सरकारबाट नागरिक वाक्क दिक्क भइसकेको भनेर प्रचार पनि गर्ने अनि अर्कोतिर जनताको मत जित्न पनि नसक्ने अवस्था आउनुले राप्रपा नेतृत्वको हैसियत छर्लङ्ग भएको छ । बेलैमा नसम्हालिने हो भने राजसंस्था र हिन्दू राष्ट्र हुने आशामा बसेका नागरिकमाथि गद्दारी ठहरेको देखिनेछ । राप्रपा सच्चियोस् । नेताहरु सच्चिउन् ।