काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफू इमानमा रहेको राजनीतिज्ञ भए आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्नेछन् । उनी २०७८ को मंसिरमा भएको महाधिवेशनबाट अध्यक्ष भएका थिए । उनले सदावहार अध्यक्ष कमल थापालाई दुई सय मतले पराजित गरेर सनसनी नै मच्याएका थिए । उनले चुनाव जित्नासाथ उनले राप्रपामा अब कुनै गुट नरहेको टिप्पणी गरेका थिए । ‘जित्नै पर्ने बाध्यताकाबीच भएको प्रतिस्पर्धाले पार्टीमा चिरा पर्ने आशङ्काहरू रहे पनि’ भन्दै उनले आन्तरिक प्रतिस्पर्धालाई स्वभाविक बताउँदै भने, ‘अब आजबाट हामी सबै एक छौँ । कोही कुनै पक्षका छैनौँ ।’
त्यतिबेला अध्यक्षका प्रत्यासी कमल थापासँगको प्रतिस्पर्धा कुनै पनि प्रकारको विरोध वा विद्रोह नरहेकोसमेत उनले दोहो¥याएका थिए । उनले भनेका थिए, ‘म आज पनि भन्न चाहन्छु कि यो कुनै नेता र व्यक्तिको विरुद्धको विरोध र विद्रोह होइन । राष्ट्रिय प्रजातन्त्र पार्टीको जीवनका लागि मात्रै होइन, राप्रपाले लिएको मुद्दाको जीवनको लागिसमेत अनिवार्य र अपरिहार्य कदम थियो । राप्रपालाई हिजोको दिनको जस्तै गतिहीन र निष्क्रिय बनाएर लैजाने छुट हामीलाई थिएन ।’ उनले अगाडि भनेका थिए, ‘त्यसकारण राप्रपालाई मात्रै होइन, अझ त्यो भन्दा बेसी यसको मुद्दालाई समाप्त हुन नदिनको लागि हामीले बाध्यकारी कदमका रूपमा नेतृत्व परिवर्तनलाई लियौँ र अहिले हामी अनेक आशङ्का र अनेक प्रकारका प्रतिकूलताका बाबजुद यो काममा सफल भएका छौँ ।’ त्यतिबेला हजारौँ कार्यकर्ताले उनको भनाइमा ताली पिटे । तर लागेको बानी कहिँ नजाने भनेझैँ उनले गुटबन्दीलाई झन् फैलाउँदै गए । पार्टीको एजेन्डा एकातिर र उनको एजेन्डा अर्कातिर भएर जाँदै गर्दा उनी आफ्नो नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि गए ।
पहिले राजसंस्था र हिन्दूधर्मको प्रचार गरी गरी कमल थापा एमाले, माओवादी र कांग्रेसको सरकारमा सामेल भइराखे । उपप्रधानमन्त्री पनि खाइराखे । तर राजसंस्थाको खोल ओढेर युरोपियन युनियनलाई पनि भेटिरहे । ठ्याक्कै त्यही गति राजेन्द्र लिङ्देनले लिए । आफूले नेतृत्व गरेर राजतन्त्रका लागि लड्नु त कता हो कता दुर्गा प्रसाईको पछि कार्यकर्तालाई लाग्न भने । यहाँ भन्दा नालायकी के होला ? त्यही गुटको राजनीति गरेर आफ्नो दुनो सोझ्याएका लिङ्देनलाई महामन्त्री डा धवलशमशेर राणाले चुनौती दिएका छन् । यो गुटको छताछुल्ल पछिल्लो केन्द्रीय समिति बैठकका क्रममा भयो । राणाले लिङ्देनलाई आरोपित गर्दै लिखित विचार राखेपछि बैठक तरंगित भएको थियो । राणा राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षका आकांक्षी हुन् । त्यसका लागि वातावरण बनाउन उनले अहिल्यैबाट कसरत शुरू गरेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बुझाइ छ । यद्यपि पार्टी बैठकमा औंलामा गन्न सकिने केन्द्रीय सदस्यहरूमात्र धवलको पक्षमा खुले पनि खुल्न बाँकी सदस्यहरू पछाडि धेरै नै छन् । उनीहरू अहिले खुल्दा समस्या हुने भन्दै चुनावकै बेलामा खुल्ने बताइसकेका छन् ।
लिङ्देनको व्यवहारबाट वाक्क भएकाहरू सबै धवलको पक्षमा संगठित हुँदैछन् । केही अवसरवादी नेताहरू अझै अध्यक्षकै पछि लागेको स्रोतको दाबी छ । अहिले रेखा थापा खुलेकी छिन् । पार्टीको कार्यसम्पादन समिति सदस्यसमेत रहेकी रेखाले आफूले गुट बदलेको स्पष्ट जनाउ बैठकमा दिइन् । उनले गत महाधिवेशनमा लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । तर कमल थापाको प्यानलबाट उठेकी कुन्ती शाहीसँग पराजित भइन् । कुन्तीले करिब चार सय मतले जित्दा रेखा दोस्रो भइन् । अहिले आएर कुन्ती र रेखा दुवै लिङदेन विरोधी कित्तामा खडा भएका छन् ।
रेखासँग लिङ्देनको सम्बन्ध बिग्रिएको एक वर्ष भयो । गत माघमा रेखा बच्चा पाउन अमेरिका गएपछि पार्टीलाई जानकारी नदिइ गएको भन्दै सार्वजनिक कार्यक्रममै लिङ्देनले टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’
लिङदेनको यो टिप्पणीले रेखा आक्रोशित बनिन् । अमेरिकाबाटै उनले सामाजिक सञ्जालमार्फत पार्टी अध्यक्षलाई कडा जवाफ फर्काएकी थिइन् । उनले लिङ्देनकी छोरी पनि अमेरिकामा बसिरहेको भन्दै लेखेकी थिइन्, ‘देशको माया हुनेहरूले आफ्नो सन्तालाई फिर्ता बोलाए हुन्थ्यो । किन अमेरिकामा राखेको ?’
यही सवाल जवाफपछि बिग्रिएको सम्बन्ध चिसिएर अहिले खुलेआम धवल कित्तामा पु¥याएको छ । यसरी चिँढिनेहरू थुप्रै छन् । रेखा त धेरै सक्रिय छँदै छैनिन् । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा रेखा ३५ मिनेटमात्रै बसेकी थिइन् । अध्यक्षको आलोचना गरिन् र फर्किइन् । रेखाले लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएकी थिइन् । संगठन विभाग प्रमुखबाट धवललाई हटाइएकोप्रति आलोचना गरिन् । आफू सन्तान जन्माउँदा अमेरिका गएको भनेर गरिएको टिप्पणी र बिरामी अवस्थामा धवललाई जिम्मेवारीबाट हटाउने काम उस्तै भएको रेखाको टिप्पणी थियो । यो लिङ्देनको विरोधको उदयमात्र हो । लिङ्देन पनि कमल थापा मार्गमा हिँडेपछि पछिल्लो समय दरबारले पनि लिङ्देनको टाउकोमा राखेको हात झिकेको अनुमान पार्टीभित्र भइरहेको छ । त्यसैले त लिङ्देनलाई छाड्ने बढेका छन् भने सच्चा राजावादीहरू धवलको पक्षमा लाग्दै गएका छन् ।