नयाँ नयाँ सपना बुनेर बसेका प्रधानमन्त्री ओलीलाई यति चाँडै संकट आउला भन्ने झनकसम्म थिएन । कम्रेड प्रचण्डको घुक्र्याउने बानी । यसपल्ट पनि “मलाई प्रधानमन्त्री छाड्ने होइन भनेर जिस्क्याएका हुन् भनी ठानेर केही दिन पख्नोस् न भन्दा झनक्क रिसाएर निस्किएका प्रचण्डले देउवाको शरण लिन पुगे । ब्राह्मणले मागेपछि ठकुरीकाजीले नदिने कुरै भएन । अझ त्यसमाथि आपूmलाई नोक्सान नपर्ने ठाउँमा किन कन्जुस्याई । भोकोभन्छ डाँडावारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ । सत्ताको भोकले खरिएका प्रचण्ड ओलीको चिप्लो बोलीमा कति दिन विश्वास गरुन् । अनि जताजता पानी उतैउतै लोटा लिएर २०५ सिटको कांग्रेसकोमा बास बस्न पुगे । अब मर्का प¥यो त ओली कम्रेडलाई । त्यसो त हुन नसक्ने कुराको सपना देखाउन सिपालु ओलीले मंसिरमा स्थानीय तहको निर्वाचन गराउने डंका पिटे । अरुलाई लाग्यो–पल्टनमा सुर्ती छरे झैं जताततै बजेट छरेको छ । बजेटको चारो टिप्न पल्केका राजनीतिक कार्यकर्ता दायाँबायाँ कतै नहेरी एमालेलाई भटाभट सूर्यमा छाप लगाउँछन् भनेर तर्सिएका पार्टीहरू कुन दाउ पर्ला र छिर्के हानौंला भनेर मौका पर्खेर बसेका थिए । कांग्रेसका लागि त पाडो पाए पनि पाडी पाए पनि भतुवालाई बिगौती न हो । यता एमाले प्रधानमन्त्री हुँदा अमिलो मोइको अवस्था रहेकोमा प्रचण्ड हुँदा बाक्लो र गुलियो दही पाउने पक्का छ । आफ्नो भागमा राम्रा मन्त्रालय ।
राजनीतिमा स्थायी शत्रु पनि हुँदैन, स्थायी मित्र पनि हुँदैन । संस्कृतमा एउटा श्लोक छ–मृगामृगै सङ्ग मनुव्रजन्ति अर्थात मृग मृगसँगै, गाई गाईसँगै भन्ने छ तर यहाँ कम्युनिष्टहरू कम्युनिष्ट सँगै हिँड्न सक्दैनन् । माओवादी मञ्चले चटक्कै छाड्यो एमालेलाई । हिजोसम्म ६३ भएर बसेका काम्रेडहरू यतिखेर ३६ बनेका छन् । नेपालमा सिद्धान्त र आचरणभन्दा नगदनारायण र सत्ता नै ठूलो देखा परेको छ । कम्रेड प्रचण्डलाई लाग्यो–एमालेले मलाई झुक्यायो । उकेरा लगाउने काम कम्रेड वामदेवले गरे–मलाई कुरा मिलाउन पठाउँदा सत्ता हस्तान्तरण गर्ने भद्रसहमति भएकै हो । अनि प्रचण्डले बुर्लुक्क उफ्रने र पाखुरा सुर्कने मौका पाइहाले । जेहोस्–प्रचण्डको काँधमा राखेर देउवाकाजीले बन्दुक चलाए । त्यो बन्दुकको अचूक गोली ओलीको मर्ममै लागेको हो ।
कसरी टाँसिने
सत्ता बाहिर रहनु पर्दा न खान रुच्ने न त निद्रा पर्ने । यस्तोमा परेका छन् गच्छदार र कमल थापा । प्रचण्डले आपूmलाई दुई पैसाको जति पनि नगनेर देउवासँग गर्धन जोड्न पुगे । यताबाट वेवास्ता गरेपछि निकै छटपटी बढेको छ । अलि मौकैमा थाहा पाउन सकेको भए प्रचण्डभन्दा पहिले आफैं पुग्थे देउवाकहाँ । तर यसपल्ट हुस्सु बनेकै हो । त्यसो त मित्रहरूले ओलीको दिन अब धेरै छैन है भनेकै हुन्–तर बज्रभन्दा कडा ओली यति चाँडै असिना पग्लिएझैं पग्लेर राजनीतिमा बिलाउलान् भन्ने लागेको थिएन ।
भनिन्छ–लोभले लाभ लाभले बिलाप–अहिले सीपी मैनालीदेखि चित्रबहादुर केसीसम्म र विजय गच्छदारदेखि कमल थापासम्म लाभ र लोभमा परेर ओलीको काँध थाम्न पुगे–अनि रुन्चे हाँसोमा परेका छन् । तर मौकामा चौका हान्न सिपालु गच्छदार र थापा कुन कुन तानावाना बुनेर हुन्छ–अबका केही दिनमा कम्रेड प्रचण्डको सरकारमा लपक्क टाँसिन पुग्छन्–बाँदरको बच्चो आमासँग टाँसिए झैं । यो पनि एक प्रकारको विशेष कला नै हो । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड–यस्ता पाका, लामो समय मन्त्री पद खाकाहरूलाई कसैले सिकाउनु पर्दैन नयाँ मन्त्रिपरिषद्भित्र कसरी अटाउने भन्ने कुरा । बुद्धिमानलाई इशारा काफी छ ।
मुसा भाग्न थाले
जहाजमा प्वाल परेको थाहा पाएपछि मुसाहरू भाग्न थाल्छन् रे । ओली विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि अब पक्कै उनी प्रधानमन्त्री रहँदैनन् भन्ने थाहा पाएपछि एमालेका एकथरि नेताकार्यकर्ता आफ्नो गन्तव्य बदल्न थालेका छन् । हिजोसम्म बालुवाटार धाउनेहरू अब कोटेश्वरको बाटो नाप्न थालेका छन् । जंगबहादुरका छोरा–नाति जब काटिन थाले–काँडाघारीमा चाकरीमा जान लागेकाहरू समेत जितजंग जगतजंग मुर्दावाद भन्दै थापाथलीतिर चाकरीमा पुगे । एकैदिनको कुरा न हो–मान्छेको मन परिवर्तन हुन कति नै बेर लाग्दैन । यतिखेर सबभन्दा बढी चोट ईश्वर कम्रेडलाई लागेको छ । अब म अध्यक्ष पदमा दोहो¥याएर लड्दिन भनेर ओली कम्रेडले भनेदेखि उनको काँध चढेर आपूm पदोन्नति खाने दाउमा लागेका ईश्वर कम्रेड कोटेश्वर गएर पनि पार लाग्ने ढाँचा छैन । तर एकथरि नेताको लर्को कोटेश्वरतिर लागेको छ । हिजो ओलीको बोलीमा लहैलहै लगाउनेहरू बोली फेरेर माधव कम्रेडको गुन गाउन थाल्लान् तर हिजो माधवका नाउँमा तर मारेर यतिखेर ओलीको बोलीमा लोली मिलाउन पुगेकाहरूको पो बेहाल हुने भयो त ।
कम्रेड भीम रावल उपाध्यक्ष हुँदासम्म माधवको बुढी औंला समातेर ताँती गर्दै हिँडेका थिए, उपप्रधानमन्त्री भएपछि उल्टोमाला घुमाउँदै ओलीको जयगानतिर लागे । तर एकपल्टको विश्वास गुमेपछि फेरि पाउन मुस्किल नै पर्ला । त्यसो त कम्रेड वामदेव एकताका ज्यान छोडेर ओलीको पक्षमा लागे तर फाइदा जति अरुको भागमा, आपूmले पाउँछु भनेर कुरेर बसेको पदसमेत नपाएपछि देखा जाएगा भनेर धारे हात लगाउँदै बालुवाटारको बाटो नाप्न छाडेका हुन् । अब केहीको उठिबास लाग्न सक्छ भने केहीले कोटेश्वरको बास गर्न सक्छन् । एउटा कुरा पक्का के हो भने बलेको आगो ताप्ने बानी परेकाहरू सत्ताबाट खुस्कनेहरूबाट टाढा हुने र भविष्यमा फलानाको सम्भावना छ भने पछि त्यतै लाग्छन्–संसारको प्रचलन नै यही हो । जता गहिरो उतै पानी–कमजोर देखे अनि पछि बलियो हुन्छ कि भन्नेतिर जाने । ओलीको जहाज प्वाल प¥यो, अब नेतादेखि कार्यकर्तासम्मका मुसाहरू धमाधम भाग्न थालेका छन् ।
अब हाम्रो पालो
ओली सरकार ढल्ने समाचार बाहिर आउन नपाउँदै अबको मन्त्री म भन्नेहरूको ताँती लागिहाल्यो । १४ मन्त्रालय पाउने भएपछि कांग्रेसभित्रका ऐरे, गैरे नत्थु खैरेहरू सलबलाउन थाले । गोपालमान बादेखि उदयसमशेर नातिसम्म अब मेरो पालो भनेर फलाकिँदै आएका छन् । भारथाम्न सहयोग गर्ने विमलेन्द्र, प्रकाशशरण, पूर्णबहादुर लगायतका नेता लौ हेरौं त हामीलाई कसरी मन्त्री बनाउँदैनन् भनेर कुर्लन थालेका छन् । म महिला नेतृ, एकपल्ट उपप्रधानमन्त्री भैसकेकी, यसपल्ट मलाई उपप्रधानमन्त्रीमा सिफारिस गर्नुपर्छ भन्दै हिँडेकी छन् । राजन् केसीलाई मर्का–आफैंले हराएको प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा कसरी जाने ? बालकृष्ण खाँडदेखि गगन थापासम्मका युवापुस्ताले भन्ने गरेका छन्–कति मात्र बुढाखादा पठाउने । कांग्रेसभित्र १४ जनाको सिटमा १४० जनाको दावी देखियो भने अनौठो मान्नु पर्दैन । यस्तै हो, भाग खान लुछाचुँडी ।
माओवादी केन्द्रमा पनि कोभन्दा को कम ?। सरकार पल्टाउने पूरै समय र बुद्धि लगाएका कृष्णबहादुर महरा उपप्रधानमन्त्री भन्दा कमको पदमा जाने कुरै भएन । त्यसमा थप गृह मन्त्रालय पाउनुपर्ने, गृहमा कांग्रेसले टाङ्ग अड्याएको छ । अर्थ मिष्टर अनन्त बाहेक अन्त जाने कुरै भएन । जनार्दन शर्मा पनि को भन्दा को कम ?। कम्रेड ओलीले जतिजना मन्त्री बनाए पनि हुने, सांसद हुनु नपर्ने–सडकछापले पनि मन्त्री पद पाउने गराएका छन्, त्यसैले वैद्यबालाई लोप्पा लगाएर आएका नेताहरूलाई पनि भाग पु¥याउनै प¥यो । सरकार परिवर्तन गर्ने कुरा नारायणकाजीलाई चित्त बुझेको छैन रे । एक्लो वृहस्पति झुटा–उनी एक्लै न हुन्, रामबहादुरको पल्लाभारी छ, उनको दरिलो सिफारिस कसको नाउँमा जान्छ–हेर्दै जाऊँ । तर कांग्रेस, माओवादी केन्द्र दुवै पार्टीमा मन्त्री पद पाइन्छ कि भनेर आँ…गर्नेको संख्या अनगिन्ती छ ।
अन्त्यमा–
अबको सरकारमा अटाउने उपाय खोज्दै केही मन्त्रीहरू झण्डा छोपेको गाडी लिएर लाजिम्पाट धाउन थालेको देख्दा घुमन्तेलाई लाज लाग्यो ।