नेविसंघको चुनाव ः विवाद चुलियो

Home Feature

NSU-flagकाठमाण्डौ । नेपाली काँग्रेसका भ्रातृ संगठनहरू लामो समयपछि बल्ल महाधिवेशन गर्ने दौडधुपमा लागेका छन् । लामो समयसम्म तदर्थवादमै चल्दै आएका भ्रातृ संगठनमा चुनावी सरगर्मी देखिए पनि विवाद भने चुलिँदो छ ।
छ वटा भ्रातृ सङ्गठनको अधिवेशन आउँदो दशैंअघि सक्ने तयारी छ । विगत आठ वर्षदेखि हुन नसकेका केन्द्रीय अधिवेशन यसपटक गर्न पार्टी सभापति शेरबहादुर देउवाले उर्दी जारी गरिसकेका छन् । तर हैकम शैलीमा उर्दी जारी गरे पनि समाधानतर्फ भने लागेका छैनन् ।

नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल किसान संघ र नेपाल सांस्कृतिक संघका जिल्ला अधिवेशन धमाधम भइरहेका छन् । तीमध्ये नेविसंघ चरम विवादमा फसेको छ । काँग्रेस नेताहरु जसरी पनि महाधिवेशन हुन्छ भन्ने गरेका छन् । तर उनीहरुले कुनै ठोस योजना दिएका छैनन् । जसरी महाविधेशन गर्न र व्यवस्थित गर्न भ्रातृ संगठन हेर्ने गरी पार्टीले पाँच सदस्यीय निर्देशक समिति पनि गठन गर्दैछ । त्यसका लागि सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग दुई सदस्यको नाम दिन भनिसकेका छन् ।

नेविसंघको अधिवेशन हुने भन्ने चर्चा चलेको धेरै वर्ष भयो । जिल्ला अधिवेशन सुरु हुने भनिएको त दुई वर्ष बित्यो । पछिल्लोपटक केन्द्रीय अधिवेशन यही साउन २३ देखि २५ सम्म काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ । तर समयमै हुनेमा शंका छ । हालसम्म संघको ६४ जिल्ला अधिवेशन सकिएका छन् । ११ वटा जिल्लामा पूर्ण विवाद देखिएको छ । विवादै नभएका जिल्लाको संख्या ४१ मात्र छ । तदर्थवादमा रमाएका सांसदसमेत रहेका नेविसंघ अध्यक्ष रंजित कर्ण महाधिवेशन गराउने पक्षमै नभएको आरोप लाग्दै आएको छ ।

त्यसैले आइतबारदेखि संघका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेसहितका नेताहरुले रिले अनसन थालेका छन् । पार्टी कार्यालय सानेपामा रिले अनसन थालेको उनले बताए । अनसन तोड्न दवाव आए पनि हामीले विधिवत रुपले महाधिवेशन होस् भन्ने चाहेकाले बिना समाधान अनसन नतोड्ने उनको भनाइ छ ।

हाम्रो क्षमतालाई तुहाउने काम माउ पार्टीले गरेको भन्दै नेविसंघको असन्तुष्ट पक्ष आक्रामक बनेको छ । आठ वर्षदेखि महाधिवेशन नहुँदा आफूलाई गु्रमसमेत गर्न नसकिएको उनीहरुको चित्त दुखाइ छ । हुन पनि विद्यार्थीबाट तरुणको उमेरसमेत काटेर काँग्रेसकै
टिकटमा चुनाव लड्ने पनि नेविसंघकै नेता हुन सुहाउने कुरा हो र । फेरि ७० वर्षका पनि युवा नेता हुने ठाउँ न प¥यो नेपााली काँग्रेसमा ।