आमाको सम्झना, मनाइयो मातृ सम्मान दिवस

Home Feature समाज

काठमाडौं । आमाको सम्झना हरेक दिन हुने गर्छ । तर एक दिन त विशेष नै हुने गर्छ । त्यो हो मातृ सम्मान दिवसमा अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमालाई घर घरमा सम्मान पूर्वक मीठो खान एवं राम्रा कपडा लगाउन दिएर आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस मनाइएको छ ।

प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमाको सम्मानमा मातृ सम्मान दिवस मनाउने वैदिक सनातन विधि छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले यस दिन बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं ६ थानकोट नजिकैको मातातीर्थमा मेला लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण स्थगित गरिएको थियो ।

आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्ने गर्थे ।