देउवा छन्जेल सुध्रेन कांग्रेस

Home Feature राजनीति

काठमाडौं । नेपाली कांग्रेस अब नाममात्रको लोकतान्त्रिक पार्टी बनेको छ । जुन पार्टीमा अधिनायकवाद शैली चल्छ त्यो पार्टी कहिल्यै लोकतान्त्रिक बन्न सक्दैन । पटक–पटक लिखित ध्यानाकर्षणपत्र बुझाउँदासमेत एकल निर्णयमा सभापति शेरबहादुर देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको आरोप इतर पक्षले लगाएसंगै पार्टीको हैसियत सपाट देखिएको हो ।


वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अनुसार देउवा तानाशाह हुन् । उनी यही चरित्रमै देखिन मन पराउँछन् । त्यसकै परिणाम कांग्रेस आज ७४ वर्षको इतिहास भएर पनि राणाकालीन शैलीको लाग्छ । महाधिवेशन गर्न थपिएको समयमा विभाग गठन गरेर महाधिवेशन प्रभावित गर्न खोजेको निष्कर्ष निकालेको पौडेल समूहले सभापति देउवाका पछिल्ला कदमहरु विधान विपरीत भएको आरोप लगाइरहेको छ ।


पार्टी समायोजन थाँती रहेका बेला नवप्रवेशीलाई महत्वपूर्ण जिम्मेवारी दिएपछि पार्टीमा विवाद झन् चर्किएको छ । तत्कालीन पार्टी सभापति सुशील कोइरालाले तेस्रो वर्षमा विभागहरु गठन गर्दा त्यतिबेला संस्थापन इतरका नेता देउवाले विरोध गर्दा गठन भएका विभागहरु खारेज नै भए । कोइरालाले त्यहाँ इमान देखाएका थिए ।


यहाँ देउवा मैले जे भन्यो त्यही हुन्छ भनी हैकमी देखाइरहेका छन् । त्यो पनि आफ्नो कार्यकाल सकिएपछि पनि । १३ औं महाधिवेशनबाट पार्टी सभापति निर्वाचित भएपछि विभाग गठन गर्न देउवालाई करिब पाँच वर्ष लाग्यो । उनले गएको पुसमा विधानमा भएका २८ विभागलाई बढाएर ४८ पु¥याएका थिए । पौडेल पक्षले विरोध गरेपनि देउवाले २० ओटा विभाग एकलौटी ढंगबाट गठन र विस्तार गरेका थिए ।


विधानको व्यवस्थाअनुसार छ महिनामा पार्टीका विभागहरु गठन र विस्तारले पूर्णता पाउनुपर्छ । महाधिवेशन गर्न थपिएको एक वर्षभित्र विभाग विस्तार नभइ महाधिवेशन केन्द्रित कार्यहरु गर्नुपर्ने हो । तर देउवाले त्यसतर्फ चासो नै दिएका छैनन् ।


देउवाको विधानविपरीत व्यक्तिवाद यतिमा मात्र सीमित छैन । २०७५ साल कार्तिक २० गते तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपसभापति मनोनयन गरियो । त्यसबेला विधानले गच्छदारलाई उपसभापति बनाउने अधिकार दिएको थिएन । २०७५ फागुनमा संशोधन भएको विधानले मात्र दुई जना उपसभापतिको व्यवस्था ग¥यो ।


त्यसैगरी कांग्रेस विधानले कम्तीमा १० वर्ष निरन्तर पार्टीको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्येबाट निर्वाचित व्यक्तिलाई मात्र आठ जनालाई सहमहामन्त्री बनाउने व्यवस्था छ । अहिले राप्रपा परित्याग गरेर आएका सुनील थापालाई विधान विपरीत सहमहामन्त्री बनाएर भित्र्याएको बताइन्छ । थापा बाहेक अझै कांग्रेसमा छ जना सहमहामन्त्रीको पद रिक्त छ ।
देउवाका कर्तुत यत्तिकैमा रोकिन्नन् । विधानसम्मत् महाधिवेशनपछि शक्तिशाली मानिएको महासमिति बैठक सभापतिको हैसियतले देउवाले चार वर्षमा एकपटक मात्र बोलाएका छन् । जबकि यो बैठक प्रत्येक वर्ष बस्नुपर्ने हो । उनले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन गर्नपनि चासो देखाएका छैनन् । आफू जसरी चलिरहेको छु त्यसरी नै तिमीहरु पनि चल भनेजसरी देउवा हिँडिरहेका छन् ।


दलित संघ, किसान संघ, भूतपूर्व सैनिक संघलगायतका अन्य भ्रातृ संगठनहरुको महाधिवेशन वर्षौंदेखि हुन सकेको छैन । तरुण दल र नेपाली विद्यार्थी संघले पनि विभिन्न विवादका कारण पूर्णता पाउन सकेका छैनन् । विधानअनुसार चार वर्षमा महाधिवेशन गर्नुपर्ने हो । यो एक वर्षको समयमा महाधिवेशन केन्द्रित कार्यक्रमहरु हुनुपर्ने थियो । तर पछिल्लो समय कोरोना महामारीलाई कारण देखाएर महाधिवेशन केन्द्रित कार्यतालिका परिमार्जन भएको छ । फागुनमा महाधिवेशन गर्न कांग्रेसले प्रयास गरिरहेको छ ।


तर संवैधानिक व्यवस्थाको फाइदा उठाउँदै र कोरोना महामारीलाई कारण बनाएर अझै छ महिना पर महाधिवेशन धकेल्ने देउवाको दाउ रहेका आरोपहरु पनि लाग्न थालेका छन् । उनी जसरी हुन्छ आफू सुहाउँदो गर्न खोजिरहेका छन् । चुनावमा आफूलाई हराउन खोजेको र श्रीमती आरजु देउवालाई हराउन भूमिका खेलेको भनेर दुवै जना कार्वाहीमा परे ।


त्यतिमात्र होइन प्रतिशोध साँध्न माहिर रामचन्द्र पौडेललाई पनि देउवाले खुशी पारेका छन् । उनको क्षेत्रमा उम्मेदवारी दिएको भनेर गोविन्दराज जोशीलाई कार्वाही गरेर । यिनीहरु पाँच वर्षका लागि पार्टीबाट निलम्बनमा परेका छन् । तर पार्टीका पुराना र त्यागी नेताहरुलाई छाडेर पञ्चायतको रगत पसिना शरीरबाट अझै नगएका सूर्यबहादुर पुत्र सुनील थापालाई पार्टीमा हुल्नु भने कम गहन विषय बनेको छैन । अब आरजु नै राप्रपा ।


उनकी आमा प्रतिभा राणा राप्रपा नेतृ । तर देउवाले आफ्नी सासुलाई विपक्षी दलको नेताको हैसियतमा दवाव दिएर एमालेद्धारा राजदूत बनाउन भ्याएका थिए । अब बुझौं देउवा को हुन् । फेरि सुनील थापालाई भित्र्याउँदा के नै फरक पर्ला र ।