देश विकासको आंकाक्षी सबै हुन्छन् । यदि आकांक्षी नहुने हो भने तिनले आफ्नै घरलाई पनि व्यवस्थित गर्न सक्दैनन् । घरको विकासका लागि पनि हरेक घरमूलीले केही न केही सोची रहेका हुन्छ । उसले कुनै न कुनै कामलाई पूर्णता दिइरहेको हुन्छ । एउटा मानिसले जब विस्तारै आफ्नो जीवनलाई सुखमय बनाउँदै लान्छ त्यसपछि उसले घर परिवारका लागि सुख हुने, सबैले मनपराउने काम गरिरहेको हुन्छ । उसले आफ्नो क्षमता अभिवृद्धि गर्दै गइरहेको हुन्छ । सुरुमा एक कोठामा बस्ने पछि चार कोठे फ्ल्याटमा बस्छ र पछि कि त घर बनाउँछ या त अपार्टमेन्ट खरीद गरेर बस्छ । विकासको आकांक्षी हो ऊ भन्ने उसले आफ्नो कर्मबाट देखाइरहेको
हुन्छ । तर नेपालको हकमा भने सरकार विकासको आकांक्षी त्यति देखिँदैन । सरकार संचालन गर्नेहरुले मुलुकको विकास भन्दा आफ्नो विकासमा बढि ध्यान दिइरहेका हुन्छन् । देखिएको त्यही नै छ । यदि त्यसो नभएको भए विकास कार्यको जिम्मा लिएर बसेका कन्सट्रक्सन कम्पनीले समयमा काम नसक्याउँदा तिनको दोहोलो काढिन्थ्यो । पप्पु कन्सट्रक्सन होस् वा अरु कुनै ठेक्का पट्टाको काम लिने निर्माण कम्पनी । तिनलाई दपेड्ने हो भने कुनै पनि काम समयमा नसकिने होइन । तर हामी कहाँ त्यसो कहिले पनि देखिँदैन । कतिपय पुलहरु तीन वर्षमा बनिसक्नु पर्नेमा छ वर्षमा पनि सकिएको हुँदैन । जबकी त्यस कामका लागि दोब्बर तेब्बर खर्च सरकारले गरिसकेको हुन्छ ।
यस काममा सरकारी कर्मचारी नै जिम्मेवार छन् भनिरहँदा गलत हुन्न । यदि सरकारी कर्मचारी ति खरदार सुब्बा हुन वा शाखा अधिकृत वा उप, सह वा सचिव । तिनले ठेकेदारहरुसँग लेनदेन नगरिदिएको भए ठेकेदारले समयमा काम नसक्याई धरै पाउँथेनन् । ठेकेदारहरुको हिम्मत सरकारी कर्मचारीहरुकै कारण बढेको हो र तिनले समयमा काम नसक्याएर पैसा कुम्ल्याएका हुन् । पुल बनेको छ तर उदघाटन नहुँदै भत्किन्छ । सडक बनाएर दुईचार वटा गाडी गुडेको हुँदैन सडकमा प्वाल परेको हुन्छ । यस्ता देशभरि कति छन् कति विकृतिका हाँगाबिँगा । अहिले पनि बुटवल नारायणघाट सडक खण्डको काम सकिएको छैन । यही साउनसम्ममा सक्याउनु पर्ने यो सडकको काम २० प्रतिशत पनि सकिएको छैन भनिँदै आइएको छ । उता महालेखा परीक्षकको कार्यालयले खरबौंको बेरुजु रहेको बताउँदै आएको छ । तर सरकारको जिम्मा लिएर बसेकाहरु कसैलाई कुनै मतलब छैन । तिनलाई त सत्तामा टिकीरहनु छ । काम गर्नु छैन ।
के यसरी नै विकासको सपना सफलीभूत हुन्छ होला त ? यदि पहिलेदेखि नै विकास कार्य र मुलुक र नागरिकको हितका लागि सरकार र सरकारी कर्मचारीले यो मेरो जिम्मेवारी हो भनेर सोचिदिएको भए आज समय बेग्लै हुन्थ्यो । विकासको नाममा घुसको लुटतन्त्र मौलाउँदैनथ्यो । बनाउने पर्ने पूर्वाधार सबै निर्माण हुनेथियो । खोलानालाको पानी र जडिबुटीको सहि प्रयोग हुन्थ्यो । राज्यमा सर्वत्र विकृति मौलाएको छ । विकास विकृतिको भण्डार भएको छ । यतिबेला त सबैको कल्याण गर्ने पशुपतिनाथ पनि लाचार भएका हुन् कि ? जस्तो सबैलाई लाग्न थालेको छ ।