पार्टीभित्रै अप्ठ्यारोमा देउवा
काठमाडौं । भनिन्छ ‘जस्तो कर्म उस्तै फल’ । अब कर्म राम्रो गरे फल पनि राम्रो पाइन्छ । कर्म नराम्रो गरे फल पनि त्यही अनुसारको पाइन्छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पार्टीमा त्यस्तै पात्र बनेका छन् । उनीमाथि आरोप नै आरोप लगाइएको छ । कामै त्यस्तै गरेपछि उनले खेप्ने आलोचना नै हो । तर उनलाई बचाउन उनी पक्षका केन्द्रीय सदस्यरु भने हात धोएर लागिपरेका छन् । हुन त कर्म अनुसारको फल पाउने भएको भए देउवा एकपटक भन्दा बढी प्रधानमन्त्री हुन लायक पक्कै हैनन् । किनकि यिनी शुरुआतदेखि नै पार्टीमा विद्रोह गरेर प्रधानमन्त्री भए र अहिले जवरजस्ती ।
यसको भोग त उनले पक्कै तिर्नुपर्ला । तर महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आलोचना गरेर उनी र उनको टिम झनै आलोचित बनेको छ । त्यसैले त शनिबारको केन्द्रीय कार्यसमिति बैठकमा दुवै जनाले भएभरको जवाफ दिएका छन् । त्यसबाट स्पष्ट हुन्छ देउवा कत्तिको अनुदारवादी बन्दै गइरहेका छन् । थापाले पार्टीका निर्णय निर्वाचित महामन्त्रीले पत्रिका पढेर वा सामाजिक संजाल हेरेर थाहा पाउने हो भने टिप्पणी पनि पत्रिका वा सामाजिक संजालबाटै दिइने बताएका छन् ।
उनले महामन्त्रीको काम सभापति र अध्यक्षले गरेका निर्णयलाई थपडी बजाएर स्वागत गर्ने नभएको पनि स्पष्ट पारेका छन् । उनले संवैधानिक परिषदको हिसाबले महत्वपूर्ण विषय, भ्रातृ र किसान संघको जानकारी ट्वीट र समाचारबाट थाहा पाएछि जवाफ पनि त्यहीँबाट दिएको स्पष्ट पारेका हुन् । उनले प्रश्न गर्दै भने, ‘हामीले कहाँबाट थाहा पाउने, पार्टी सञ्चालन र सरकार यसरी चलाउने हो कि कसरी ध्यान दिनुपर्छ । पार्टी सभापति र अन्यले गरेका कामहरू हामीले बोक्ने मात्र हो ? ताली पड्काउने मात्र हो हाम्रो काम ? महामन्त्रीको काम यही हो ?’
उनले महामन्त्री पदको गरिमाबारे स्पष्ट पार्दै भने, ‘बोक्ने र ताली पड्काउने मात्र हामी होइनौं ।’ महामन्त्री थापाले विधानले भनेका कामहरु सभापतिले कलम नचोपी एउटा पनि नहुने भन्दै अगाडि भने, ‘तर साथीहरु युवाहरु आएर काम बिगारेको आरोप लगाउनु भएको छ । तर सभापतिलाई भन्न नसक्ने अनि बाहिर गएर गन्गन् गर्ने ?’उनले गुटको बैठकमा
महामन्त्री पनि सहभागी भयो भनेर गरिएको आरोपबारे स्पष्ट पार्दै भने, ‘गुटको बैठक गर्ने भनेर भन्नुभयो । यो भन्नेहरुले हिजो आफूहरुले गरेको गुटको बैठक सम्झनुहुन्छ कि हुन्न ? नत्र गुगलमा खोज्नुहोला बैठकको फोटो । जसरी हिजो ठूलो घर हुनेहरुले घरमै बैठक गरे होलान् नहुनेले पार्टी प्यालेसमा गरे होलान् । हिजो सुशील कोइरालासँग देउवाले गुटको भेला गरेको भनेर साथीहरुले कुरा लगाउनु हुन्थ्यो आज फेरि शेरबहादुर देउवासँग यही कुरा बसेर त्यही कुरा गरेका छन् ।’
उनले पार्टीमा अन्याय भयो भने गुटको भेला हुने भन्दै स्पष्ट पार्दै भनेका छन्, ‘न्याय भयो भने न गुट हुन्छ न गुटको भेला हुन्छ । त्यसैले न्याय गर्नुस् सभापतिज्यू । जहाँसम्म सामाजिक संजालमा समाचारमा टिप्पणी आएको भन्नुभएको छ हामी निर्वाचित महामन्त्री हो । हामीले पार्टी निर्णय पत्रिका पढेर थाहा पाउने हो भने टिप्पणी पनि पत्रिकामै आउँछ । होइन भने पार्टी र सरकार चलाउने क्रममा हाम्रो भूमिका के हो ?’
नेता थापाले आफूहरु सार्वजनिक जीवनमा भएपछि जवाफदेही हुनुपर्छ भन्दै अगाडि भने, ‘तपाईहरुले यति कुरा विचार गर्नुस् यसैगरी घेर्ने नाममा घिच्याउने प्रयास नगरियोस् हामी निर्वाचित महामन्त्री हौं । त्यत्तिकै बस्दैनौं ।’ नेता थापाले स्थानीय तहको निर्वाचनको परिणामबारे भने, ‘ठूला शहर र तराईमा घाटा लागेको हेर्नुपर्छ । हामी एक्लै लड्न र बाँच्न सकिन्छ भन्ने साथीहरू हुनुहुन्थ्यो । सभापति खुशी बनाउन जे भनियो यसले पार्टी हित हुँदैन । सभापति खुशी बनाउन गरिएको कुराले पार्टी र सभापतिलाई फाइदा हुँदैन । सरकारको कामले मत पाउँछौ । हिजो सरकार कसरी चलाउनुपर्छ ओलीलाई भन्यौं तर आज कसरी चलेको छ देखिरहेका छौं । अझै कति रक्षा गर्ने सरकारको ?’उता अर्का महामन्त्री शर्माले अहिलेसम्म सरकारका काम, पार्टीको काम, सफलता, विफलता र आफूमाथि लागेका आरोपको कलात्मक शैलीमा जवाफ दिएका छन् । उनले सोधेका छन्, ‘विभाग ६ महिनामा बनाउने वैधानिक व्यवस्था छ, बनाउँ भन्नु र बनाउनु, सभापतिलाई सहयोग हो कि असहयोग ?हजारौं युवा जिम्मेवारीविहीन छन्, भ्रातृसंस्थालाई पूर्णता दिएर सबैलाई परिचालित गरौं भन्नु असहयोग हो ? विरोध हो ? कि संगठनको काममा गति दिउँ भन्ने भावना हो ? सहमहामन्त्रीहरुको भागमा विधानले निश्चित जिम्मेवारी तोकेको छैन, महामन्त्रीहरुलाई सघाउने भन्ने स्पिरिट मात्रै छ । तर विधानको धारा २५ को उपधारा ४ भन्छ – पदाधिकारीको कार्य विभाजन सभापतिबाट हुनेछ , त्यो गरौं भन्नु असहयोग हो ?’
आफूखुशी निर्णय गर्ने देउवालाई निर्वाचित दुई महामन्त्रीले एकै दिन पेटभरको जवाफ दिएपछि देउवा रन्थनिएका छन् । उनी अक्करमा परेका छन् । यदि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पास गर्ने बेलामा गगन अगाडि नसरेको भए त्यो संसदबाट पास हुने अवस्थासमेत नरहेको भन्दै अहिले आएर तिनै गगनलाई देउवाले अप्ठेरो पार्नु आफ्नै खुट्टामा बन्चरो हान्नु सरह भएकोसमेत विश्लेषण गरिएको छ ।