चोलेन्द्रले नेताहरुकै पोल खोलेपछि..

Home Feature

काठमाडौं । महाभियोग खेपिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गरेको भण्डाफोरले नेताहरुको भागाभाग नै भएको छ । महाभियोग आरोप खेप्दै महाभियोग सिफारिश समितिमा पुगेका जबराले आफूलाई प्रश्न तेस्र्याउने सांसदहरूलाई नै प्रतिप्रश्न गर्दै भण्डाफोर गरेपछि उनको बयान लम्बिएको छ । उनलाई ४३ प्रश्न सोधिने छ । गत बुधबारदेखि उनले बयान दिइरहेका छन् । उनले आफूमाथि महाभियोगको आरोप लगाउनु गलत भएको भन्दै प्रमाणित गर्न नै चुनौती दिएका छन् । उनले आफूलाई बेथितिविरुद्ध लडेकै कारणले महाभियोगतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् ।
उनले भनेका छन्, ‘यो महाभियोग प्रस्ताव टुङ्गो लगाउन किन ढिलाइ भयो ? किन यतिका दिनसम्म छलफल भएन ?’ जसलाई प्रश्न गरेर गलाउन खोजियो उसैले यसरी प्रश्न तेस्र्याएपछि महाभियोग सिफारिश समितिका सदस्य मौन रहे । सांसदहरुले सोधेको प्रश्नमा चोलेन्द्रले प्रतिप्रश्न गरेपछि सांसदहरु मुखामुख गरे । आखिर एक भ्रष्ट र संविधान विरोधी भएको भए अहिलेसम्म कारबाही प्रक्रिया किन अगाडि नबढाइ निलम्बन गरेर राखियो त ? त्यसैले त उनले महाभियोगको औचित्य सकिएको जिकिर गरेका छन् । सांसदको गरिमा राख्नका लागि मात्रै जवाफ दिन आएको उनले बताएका छन् । त्यस्तै सांसदहरूले प्रतिनिधि सभा विघटनको फैसलाका विषयमा पनि प्रश्न गरेका थिए । उनीहरूले फैसला हुँदा एकमत नभएको विषय उठाएका थिए ।
त्यसको जवाफमा पनि जबराले दलहरूलाई नै औंंला देखाएका छन् । ‘राजनीतिक रूपले नियुक्त भएका न्यायाधीश भएका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ’, उनले जवाफ दिएका थिए । सांसदहरूले प्रधानन्यायाधीशको जिम्मेवारीको विषयमा प्रश्न गरेका छन् । संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने व्यवथा गरेको उल्लेख गर्दै जबरालाई सोधेका थिए, ‘न्यायपालिकाले गरेका निर्णयको जिम्मेवारी तपाईं लिनुहुन्छ कि हुन्न ?’ त्यसमा पनि जबराले सबै निर्णयको जिम्मेवारी आफूले नलिने आशय व्यक्त गरेका थिए । जसमा उनले प्रतिनिधि सभा विघटनको फैसलालाई उल्लेख गरेका थिए । राजनीतिक नियुक्तले गर्दा न्यायाधीश एकमत हुन नसकेको जिकिर गरेका थिए । ‘केही कुरा सीमाभन्दा बाहिर गएर पनि बोल्नुभएको छ । न्यायपालिकाले गर्ने निर्णयको जिम्मेवारी आफूले लिनुपर्नेमा अरूको टाउकामा थुपार्न खोज्नुभएको छ’ सांसद मीन विश्वकर्माले भनेका छन् ।
महाभियोग समितिले तयार गरेका प्रश्नमध्ये शक्ति सन्तुलन कायम गर्न नसकेको र भ्रष्टाचारका विषयमा प्रश्न सोधिएको थियो । तर जसलाई प्रश्न सोधियो, उनैले नै सांसदहरुलाई प्रतिप्रश्न गरेपछि सांसदहरु मूकदर्शक बनेका छन् । सुगाले जस्तै प्रश्न तेस्र्याएका उनीहरु जवाफ दिने हैसियतमा छैनन् । भ्रष्टाचार गरेको भन्ने विषयमा पनि जबराले लामो व्याख्या गरे । उनले आफूले भ्रष्टाचार नगरेको जिकिर गरे । बरु उल्टै सांसदहरूलाई प्रतिप्रश्न गर्दै भने, ‘सांसद, मन्त्रीहरूलाई पनि भ्रष्टाचारको आरोप लाग्ने गरेको छ ।’ उनले सर्वोच्च अदालतका अन्य न्यायाधीश, नेपाल बार एशोसिएशनका पदाधिकारी र राजनीतिक दलका नेतालाई नै आरोपित गरेका छन् । सत्तारूढ दलका सांसदले गत फागुन १ गते ९८ सांसदले जबराविरुद्ध प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएसँगै जबरा निलम्बनमा छन् । उनीमाथि छानबिन गर्न प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिले उनी विरुद्ध प्रमाण जुटाउन कोशिस गरिरहेको छ । त्यही क्रममा उनीमाथि लागेका आरोपमा जवाफ माग्न बयान लिन थालिएको हो ।
तर चोलेन्द्रले नेताहरुको भ्रष्ट मानसिकता, सरकारको किचलो, ललिता निवास जग्गा प्रकरणसँगै स्वयं सर्वोच्च अदालतमा भ्रष्टाचारको चाङ, न्यायाधीश नियुक्ति प्रक्रिया दलीय भागबण्डा लगायत थुप्रै बेथितिमा प्रश्न तेस्र्याएर उनले नेताहरुका कर्तुतलाई छर्लङ्ग पारेका छन् ।
उनको छविका विषयमा पनि प्रश्नहरु नउठेका होइनन् । केपी ओलीका पालामा विवादित संवैधानिक परिषद्को बैठकमा सहभागी भएर निर्णय गर्न र ओलीलाई सघाएको एकथरीको आरोप छ । परिषद्मा भाग पनि खोजेको उनीहरुको दावी छ । तर त्यसो गर्न प्रेरित गर्ने नेताहरु नै भएकोमा कुनै शंका छैन । जे होस्, उनले अहिलेको सरकारलाई दह्रोसँग झापड हानिरहेका छन् ।
शेरबहादुर देउवा यसअघि प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि यसैगरी महाभियोग दर्ता भएको थियो । अहिले चोलेन्द्रमाथिको महाभियोगको प्रक्रिया पनि त्यही बेथितिको श्रृंखलामात्रै हो ।