माओवादी केन्द्र ः नेताहरूमा आपसी दन्तबझान…

यताउताका कुरा

कम्रेड जनार्दनलाई असह्य भएको थियो, पार्टीको महासचिव पद नपाएकोमा त्यसको रिस कम्रेड प्रचण्डकै अगाडि पोखे–आउरे बाउरेहरूलाई काखी च्यापेर पार्टी चल्दैन । पार्टी चलाउन दरिला नेता र अनुशासित कार्यकर्ता चाहिन्छ । प्रचण्ड मात्र के कम, भनिदिए तिमीलाई हुर्काएर ल्याएको मैले हो । सबैको अगाडि तीतो शब्द प्रयोग गरेको कसलाई मन पर्छ र ? अनि झाँको झार्ने काम प्रचण्डले गरे–अर्थात अर्थमन्त्री बनाउने काम कसले ग¥यो त ?। अर्थमन्त्री भए, एकपल्ट राजीनामा गरे, दोस्रोपल्ट पनि अर्थमन्त्री भएपछि जनार्दनमा बढी बोसो पलायो, अनि अध्यक्षसँग चरचर्ती बाझ्ने क्षमताको विकास भयो । कम्युनिष्ट पार्टी भनेको एकतन्त्रीय राणा शासन हो–प्रधानमन्त्रीले भनेको कुरा सबैले मान्नैपर्छ–त्यो हुकुम हो तामेल नगरी सुख छैन । त्यस्तै कम्युनिष्ट पार्टीमा अध्यक्षले भनेपछि त्यसलाई ढुंगाको अक्षर ठान्नुपर्छ । माओवादी केन्द्रमा अध्यक्षको आलोचना गर्ने आँट बटुलेर लौ अरु पनि बोलन भनेर उक्साएको हो कि ? म उस्तै परे अध्यक्षलाई किनारा लगाइदिन्छु भनेको हो ? कसै कसैले अध्यक्षको तीखो आलोचना गर्ने आँट त ग¥यो । माओवादीमा दन्त बझानको सिलसिला शुरु भयो, अब एमाले नेता ओलीको पनि आलोचना शुरु हुन्छ कि ?
अहिलेसम्म एमालेमा कम्रेड ओली चन्द्रशमशेर जस्तै हुन्, जसको अगाडि सबै नतमस्तक । खल्तीबाट नाम झिकेर केन्द्रीय समिति बनाउन सक्छन्, “मान न मान झैं तेरा मेहमान गर्दै जुनियरलाई महासचिव बनाउन सक्छन्, आपूmमाथि कर्के आँखा लगाउनेलाई भासिदिन्छन् । कुनै बेला माधव नेपालका नजिक पुग्न खोजेका १० भाइको पार्टीमा कुन हैसियत छ–सबैले जाने बुझेकै हो । कतै आफ्नै पार्टीभित्रबाट तीखो टिप्पणी आउने हो कि भनेर ओली कम्रेड तीखा बचन बोल्न छाडेका छन् । आफ्नै घर भित्रबाट आलोचना आयो भने अरुलाई के भनेर अत्याउने । कसैले परेर चत्छन् कसैले देखेर चेत्छन्–माओवादी भित्र निस्कन थालेको दन्त बझानले कम्रेड ओलीलाई छस्काउने हो कि ? कतै माओवादी भित्रको दन्त बझान एमालेमा नराखेस् ।


बालेनको लौरो

बालेनको लौरोले राजधानीका मै हुँ भन्ने एकथरिलाई झस्काएको छ । पार्किङ भनेर अण्डर ग्राउण्ड बनाउने, दुई पैसा बढी पाइन्छ भनेर भाडामा लगाउनेहरूमा यतिखेर ढ्याङ्ग्रो ठोकेको छ । जो चोर उसैको ठूलो स्वर गर्दै एकथरि मान्छे अनियमित निर्माण जोगाउन ठूलाबडालाई प्रयोग गर्न पुगेका छन् । तर नबिराउनु नडराउनु भनेझैं नियम पु¥याएर अनि कानुन भित्र रहेर मिच्दै जानु कहाँ नराम्रो हो र ? अहिले अनियमित घर बनाउनेदेखि सडक र खोला मिच्नेहरू लगानी डुब्ने भयो भनेर टाउकोमा हात राखेका छन् । वसुन्धराको ५ तले घर नक्सा पास गर्दा टहरो भनेको, अग्लो घर बनाउँदा सरकारी जमीन मिचेको, अहिले बालेनको लौरो टाउकोमा बज्रियो, बुलडोजर घरमा ठोक्किन पुग्यो । करोडौं लगानी बालुवामा पानी हाले सरह भयो ।
अहिले अस्पतालदेखि कलेजसम्म वहाल उठाएर खाएको रकम नपच्ने भयो भनेर आँशु झार्दैछन् । भित्र कलेज र अस्पताल, बाहिर सटर बनाएर लिने भाडा । अब बहालकर तिर्नुपर्छ भनेर बालेन खडा भएका छन् । आमदानी गरेपछि खर्च पनि गर्नुपर्छ भन्ने नबुझेका त होइनन्, बुझ पचाउन खोजेका हुन् तर अब उम्किन गाह्रो । एकथरिलाई किन भोट हाल्यौं होला बालेनलाई भनेर पक्क व्यक्क मानेका छन्, तर आफ्नै टाउकोमा लौरो बर्सेपछि चोक्टा खान गएको सम्धी झोलमा डुबेर मरेजस्तो भएको छ । आम जनता प्रशन्न असर पर्ने अप्रशन्न हुँदै गएकोले बालेनको लौरो झन्झन् दरिलो बन्दै गएको ठान्दछ–घुमन्ते ।


मुटु काम्न थाल्यो

कवि शिरोमणि लेखनाथ पौड्यालले प्रगति भन्ने कवितामा लेखेका छन्–
निर्धा नर्वे, इटली, टर्की थररर काँपी ओर्की फर्की ।
अमेरिकाको हेर्छन् थर्की मुखले भन्छन् गर्छौं प्रगति ।।
यस्तै छ–भुरे टाकुरे नेताहरूको अवस्था–सबै पार्टीमा । पहिलो कुरो तल्लो निकायबाट आफ्नो नाम सिफारिस गराउन नै मुस्किल । सिफारिस भैहाले पनि टिकटमा हस्ताक्षर गर्ने नेताले नाक खुम्च्याउने हुन् कि अथवा टेढो आँखाले पनि नहेर्ने हुन् । अर्को कुरा तल्लो निकायले भर्सेलामै परोस् भनेर नाम पठाए तर त्यो निर्वाचन क्षेत्रमा आफ्नो भाग पर्छ भन्ने के टुंगो । गठबन्धनका पार्टीहरूमा निर्वाचन क्षेत्र पाउन मारामार भैराखेको बेला–कुन पार्टीको भागमा आफ्नो चुनाव क्षेत्र पर्ने हो–अँध्यारोमा वाण हाने जस्तै । एउटै निर्वाचन क्षेत्रमा दुई दलका जगरसेठ नेता पौठा जोर्न आइपुगे भने । त्यसैले अहिले भुरेटाकुरे नेताहरू कसो गर्दा टिकट पाइएला भनेर चारधाम यात्रा प्रारम्भ गरेका छन् । अहिलेसम्म कसो केन्द्रले–राजधानी कुर्न आउने होइन– आफ्नै क्षेत्रमा बसेर संगठन गर्नु भन्ने उर्दी जारी गरेको छैन । पार्टीका उच्च नेताले फलानोलाई टिकट दिने त होइन, तर मन शान्तिका पहिलो चरणमा नाम राखेर पठाइदिनु भन्ने हुकुम गर्न थालेको छ । भोलि भन्न पाइने–पार्टीले त तपाईको नाम राखेकै हो, तर परिवन्द त्यस्तै पर्न गयो, अर्को पल्टका लागि गरौंला । कुरा के हो भने भोलि भोलि हुँदैमा सबघर बितिगो बक्सियोस् आज झोली–यस्तैमा कतिले झोलीतुम्बा बोकेर राजनीतिबाट सन्न्यास लिनुपर्ने हो । के होला र कसो होलामा धेरैको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ ।
उम्मेदवार हुन्छु भन्दैमा कसले सुनको किस्तीमा असर्फी राखेर टक््रयाउन आओस् । उल्टै सम्धीले गोरुदिए मैले राडीदिएँ भनेझैं टिकट दिए वापत नेतालाई कति नजराना चढाउनु पर्ने हो, टुंगो छैन । नजराना कति तोक्ने हुन् भनेर मुटु ढुकढुक हुन थालिसकेको छ । उहिलेका नेताहरू एक हातले उम्मेदवारी दर्ता गर्ने स्वीकृतिपत्र दिने गर्दथे भने अर्को हातले लौ यो चुनाव खर्च भनेर नयाँनयाँ नोट थमाउथे । तर अब कठै ती दिन गैगए जस्तो भएको छ । एकहातले उम्मेदवारीको स्वीकृति पत्र लिनु छ भने अर्को हातले राम्रै नजराना चढाउनु छ । पाइलैपिच्छे काँडा–चुनाव लड्न खोज्नेको मुटु अहिलेदेखि ढुकढुक–के हुने हो कसो हुने हो भनेर ।


उहाँहरू नभै हुँदैन

सिनेमा बनाउन राम्रो अभिनय गर्ने कलाकार चाहिन्छ, राजनीतिमा पनि अभिनयको महत्व दिनदिनै बढ्नै गएको छ । भित्रभित्र छुरी बाहिर बाहिर औषधि झैं केही महामहिमहरू समाजमा खुराफात नगरी बस्नै सक्दैनन्, नेताहरूलाई तिनीहरूकै सहयोग चाहिन्छ । विगत हेरेर हुँदैन अहिले नेता रिझाउने गुन भए पुग्छ । आउँदो चुनावका लागि पार्टीले यस्तैयस्तै कतिपय उम्मेदवार छानेका छन् । अपराध भन्ने कि भ्रष्टाचार भन्ने, जे गरे पनि हाम्रा नेताहरूलाई त्यस्तै महाशयहरू चाहिने रहेछ । पार्टीका तर्फबाट कोको उम्मेदवार बनाउने भन्ने सिफारिसमा आफ्नो नाम अटाउन सफल भएकाहरूमा एमालेदेखि कांग्रेससम्म छन् । रौतहटका दादा हुन् कि मनाङ्का गुण्डा–यी नभए पार्टी चल्दैन जस्तो छ सबैलाई एउटै तौलमा राखेर जोख्न मिल्दैन तर पार्टीले सिफारिस गर्दा यतातिर ध्यान दिनै पर्दैन कि कसो ?
एकताका भारतको राजनीतिमा बाहुबलीहरूको बिगबिगी थियो । जसले शक्ति देखाउन सक्छ, पार्टीहरू उसैको भक्ति गर्छन् उखानलाई चरितार्थ गर्दै थुप्रैतिर बाहुबलीलाई चुनावी अखण्डामा उतार्थे । अहिले त्यो चलन घटेको छ, त्यो क्रम उताबाट सरेको छ । दोष लगाएर मात्र हुँदैन, प्रमाण दिन सक्नुपर्छ, तर प्रमाण पनि कृष्णपक्ष र शुक्लपक्षको चन्द्रमा जस्तो–कहिले काहीं स्पष्ट देखिने अनि फ्याट्टै हराउने । मुद्दा बोकेका हुन् कि जेलमा हावा खाइरहेका हुन्–यस्ता पराक्रमी नभै चुनाव जित्न नसकिने भएर होला–यस्तालाई ज्वाइँको सम्मान, भाञ्जाको माया प्राप्त भइरहन्छ ।


अन्त्यमा–
दोस्रोपल्ट स्वीकृत गर्नैपर्ने बाध्यता भएको नागरिकता सम्बन्धी विधेयक अलमल्याएर राष्ट्रपतिले आपूmलाई ‘आइरन लेडी’ बनाउन खोजेको हो कि भन्ने चर्चा चलेको छ ।