ईश्वर र प्रदीपको टक्कर

Home Feature

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेल यतिबेला काठमाडौं क्षेत्र नम्बर ५ का घरघरमा पुगिरहेका छन् । उनी प्रतिनिधि सभा निर्वाचनमा आफूलाई जिताउनका लागि मतदाताका घरघरमा पुगेका हुन् । तनहुँका उनी काठमाडौं आएर चुनाव लडे पनि नौलो भने होइन । प्रदीप हाल काठमाडौं जाल्पचोक बानियाँटार बस्दै आएका छन् । त्यसैले पनि काठमाडौं ५ का मतदाताका लागि प्रदीप नौला हैनन् ।
उनी काठमाडौं ५ को सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार छन् । अहिले काठमाडौं ५ बाट कांग्रेसमात्र हैन गठबन्धनका माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाका मतदाताले पनि भोट हाल्नेछन् । उनको राजनीतिक सौम्य आचरणका कारणले खुला हृदयले भोट हाल्नेको संख्या उल्लेख्य हुने दाबी गरिएको छ । उनको दैनिक घरदैलो कार्यक्रमपछिको विश्लेषणले पनि यही भनिरहेको छ । उनीसँगै घरदैलोमा हिँडेका नेताहरु भन्ने गर्छन्, ‘प्रदीप दाइलाई आउने भोट स्वतः स्फूर्त हुने देखिन्छ । उहाँको प्रभावकै कारणले पनि भड्किएका मतदाताले उहाँलाई नै भोट हाल्ने कुराकानीबाट थाहा पाएका छौं ।’ उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा टक्कर दिनेछन् । उनी यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भइसकेका छन् । प्रदीपसँग लामो समयदेखि नै संगत गरेकाहरु भने उनी जहाँबाट लडे पनि मतदातालाई खासै फरक नपर्ने बताउँछन् । प्रदीपले गत असोज २४ गतेबाट काठमाडौं महानगरपालिका वडा नं.
५ हाँडीगाउँबाट घरदैलोे अभियान शुरु गरेका हुन् । त्यसपछि उनी निरन्तर घरदैलोमै छन् । धेरैसँगको छलफलबाट प्रदीप उत्साही पनि भएका छन् । चुनाव हो यसै भन्न त सकिँदैन नै तर स्वतन्त्र व्यक्तिहरुलेसमेत दिएको आशीवर्चन र आश्वासनले भने प्रदीपको टिमलाई हौसाएको छ । प्रदीप पौडेलको सबैभन्दा राम्रो गहना भन्नु नै उनको बोली हो । उनी चर्को रुपले बोल्दैनन् । अरुलाई होच्याएर आफू माथि पर्ने काम उनले कहिल्यै गरेनन् । तथ्यपरक भएर बोल्ने उनको बानी र भाषण नै उनको सबैभन्दा बलियो गहना हो । नेता भएपछि झुटो बोलेर भए पनि आफू माथि नै पर्नुपर्छ भन्ने मान्यताबाट उनी टाढा छन् ।
उनको त्यही बानीकै कारण उनी भुइँनेता हुँदै यहाँसम्म आइपुगेका हुन् । उनी अध्ययनशील युवा नेतामा पर्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । शिक्षाअनुसार नै उनको राजनीतिक यात्रा पनि सँगसँगै अगाडि बढेको पाइन्छ । प्रदीप स्वार्थविहीन राजनीति गर्छन् । उनी नेतृत्वलाई झक्झक्याउनका लागि सामाजिक गतिविधि पनि गरिरहेका हुन्छन् । त्यसकै परिणामस्वरुप उनले संविधान निर्माणका क्रममा भएको ढिलासुस्तीविरुद्ध दबाब दिन ‘मेची(काली अभियान’ को नेतृत्वसमेत गरेका थिए । उनले २०७२ सालको विनाशकारी भूकम्प प्रभावित क्षेत्र र जिल्लामा एक हजार ७०० भन्दा बढी अस्थायी घर एवं पक्की विद्यालय भवन निर्माण साथै तत्काल राहत र उद्धारमा युवा परिचालन गरेका थिए ।
युवा नै देशको विकासका आधार हुन् भन्नेमा विश्वस्त प्रदीपले युवालाई उद्यमशील बनाउने उदेश्यले ‘युथ इन्टरप्रेनरशिप क्याम्पेन २०७१’ प्रारम्भ गरेका छन् । स्वास्थ्यलाई प्राथमिकतामा राखेका प्रदीपले कोभिड महामारीका बेलामा धमामम संक्रमितको मृत्यु हुन थालेपछि संक्रमितलाई रगतको सहजताको लागि ‘प्लाज्मा एप’ नै निर्माण गरे । त्यस्तै कोभिड महामारीको बेलामा ३०० बढी बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण एवम् अत्यावश्यक उपकरण र औषधि वितरण गरेका थिए । प्रदीपको सबैभन्दा ठूलो जितको आधार भनेको उनको इमानदारी नै हो । उनले अहिलेसम्म गरेका काममा कहीँ कतै पनि खोट लगाउने ठाउँ छैन । चाहे राजनीतिक वा सामाजिक काम किन नहोस् प्रदीपले कहीँ पनि स्वार्थलाई केन्द्रमा राखेर सेवा गरेका छैनन् । अर्कातर्फ उनमा भ्रष्ट मानसिकता कहीँ पनि अहिलेसम्म देखिएको छैन । र, उनी युवा हुन् । एक जोश र जाँजर लिएर चुनावी मैदानमा होमिएका युवा । त्यसो त चुनावी मैदानमा उत्रिएपछि विपक्षी कत्तिको बलियो छ भन्ने विषयले पनि अर्थ राख्छ ।
विपक्षमा बलिया उम्मेदवार छन् । उनी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुन् । उनी चुनावका लागि भेट्रान प्रतिस्पर्धी नै हुन् । यसअघि पनि उनले नै यो क्षेत्रमा चुनाव जितेका थिए । पटक पटक मन्त्री पनि भइसके । पछिल्लो कार्यकाल उनले उपप्रधानमन्त्री खाएका थिए । शक्ति केन्द्रसँग उनको निकै नै हिमचिम छ । जसले गर्दा उनले धेरै नै अवसर पाएका छन् । तर जसरी उनी हेभिवेट हुन् त्यसरी नै ईश्वरका कमजोरी प्रदीपको जितका आधार हुन सक्छन् । ईश्वर पोखरेलले यो क्षेत्रमा धेरै नै आश्वासन बाँडे । उनले लामो समयदेखि बाँडेका आश्वासन कहिल्यै पूरा गर्ने बारेमा सोचेनन् । यही आश्वासन दिने तर वाचा पूरा नगर्ने उनको कमजोरीका कारण स्थानीय रुष्ट छन् । पोखरेलसँग विस्तारै मतदाता टाढिएको एमालेकै स्थानीय नेताहरुले बताउन थालेका छन् । उनले मतदातालाई बेवास्ता गरेको आरोप छ । जब आश्वासन नै पूरा हुँदैनन् भने उनलाई मत दिएर के फाइदा भनेर आन्तरिक विरोधमा लागेका एमालेका मतदाता पनि देखिएका छन् ।
अर्कातर्फ शक्ति केन्द्रमा रहेर पनि ईश्वरले नचाहेरै यो क्षेत्रमा काम नगरेको उनीमाथि आरोप छ । यस्तोमा मतदाताले नयाँ परीक्षण गर्न खोजे भने एमालेको मत पनि प्रदीपलाई आउन सक्नेछ । त्यसो त यो क्षेत्र एमालेको गढजस्तै मानिन्छ । तर काठमाडौंका मतदाता निकै नै सचेत छन् । जसरी स्थानीय तहमा अनपेक्षित परिणाम आएको थियो त्यसरी नै यसपालि प्रदीपको दीप थप चम्किलो बनाउनेमा काठमाडौं ५ का मतदाता नै अग्रसर भएको बुझिन्छ ।