रामचन्द्र पौडेलको अर्कै दाउ !

Home Feature

काठमाडौं । जीवनको उत्तरार्धमा चुनाव जितेर आएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल देशलाई योगदान गर्न भन्दै फेरि एक पटक सके प्रधानमन्त्री नभए राष्ट्रपति बन्ने दाउमा छन् । त्यसका लागि उनले राजनीतिक भेटघाटसमेतलाई तीव्रता दिएका छन् । वर्तमान सत्ता गठबन्धनका सुत्रधारसमेत मानिने पौडेल समाकालीन नेतामध्ये ‘अभागी’ मानिन्छन् । उनलाई जीवनमा एक पटक प्रधानमन्त्री र पार्टी सभापति बन्ने ठूलो इच्छा थियो । तर अब पार्टी सभापति बन्ने संभावना नभएपछि उनको दाउ प्रधानमन्त्री बन्नेतिर छ । तर अहिले पौडेल प्रधानमन्त्री बन्ने संभावना पनि छैन ।
त्यसैले पौडेल यतिबेला प्रधानमन्त्रीको आवरणमा राष्ट्रपति बन्ने खेलमा लागेका छन् । पौडेलले आफूलाई प्रधानमन्त्रीको दावेदारको रुपमा प्रस्तुत गरे पनि खासमा उनको दाउ भने राष्ट्रपति हुने रहेको स्रोतले जनाएको छ । सिधै राष्ट्रपतिको दावेदारी गर्दा आफूले नपाउन सक्ने तर प्रधानमन्त्री पदमै दावेदारी गरेपछि अरु प्रधानमन्त्रीका दावेदारले आफूलाई व्यवस्थापन गर्नकै लागि राष्ट्रपति दिने पौडेलको बुझाइ छ । खासमा आफूले प्रधानमन्त्री नपाउने कुरामा पौडेल विश्वस्त छन् । तर, अहिले यो पदको लागि उनको दावेदारी ‘बार्गेनिङ टुल’ भएको स्रोत बताउँछ । आफूलाई प्रधान
मन्त्रीको लाइनबाट पन्छाउनकै लागि सत्ता गठबन्धनका नेताले आफूसँग राष्ट्रपति पदको डील गर्न आउने पौडेलको विश्वास छ । आफूले सिधै राष्ट्रपतिमा दावी गरे कांग्रेसभित्रबाट कुनै आपत्ति नहुने पौडेलको बुझाइ छ । तर, गठबन्धन कायम राख्नका लागि अरु दलहरुलाई पनि भाग दिनुपर्ने अवस्था छ । गठबन्धनभित्र राष्ट्रपति पदका अर्का दावेदार नेकपा एसका नेता झलनाथ खनाल हुन् । प्रतिनिधि सभामा समेत पराजित भइसकेका खनाल राष्ट्रपति पनि नपाए ‘बेरोजगार’ हुने अवस्थामा छन् । त्यसैले उनले स्वभाविक रुपमा राष्ट्रपतिमा दावी गर्न सक्छन् ।
यो कुरा पौडेलले पनि बुझेका छन् । र, यही बुझाइका आधारमा सोमबार पौडेल नेकपा एसका अध्यक्ष माधव नेपाललाई भेट्न पुगे । बाहिर दिइएको जानकारीमा दुईबीच भावी प्रधानमन्त्रीका विषयमा छलफल भएको बताइयो । तर, खासमा पौडेल आफूलाई राष्ट्रपति बनाउन सहयोग गरिदिन नेपाललाई फकाउन गएका थिए किनकि उनलाई झलनाथ खनालको दावेदारीले आफू पाखा पर्न सक्ने त्रास छ । पौडेलले राष्ट्रपतिमा दावेदारी गरेपछि कांग्रेस नेतृत्वलाई अर्को समस्या भने उत्पन्न हुन सक्छ। पौडेललाई राष्ट्रपति दिए गठबन्धनमा दोस्रो हैसियतको दल माओवादी केन्द्रले स्वभाविक रुपमा प्रधानमन्त्री माग्ने स्थिति आउँछ जुन कांग्रेस नेतृत्व चाहँदैन । कांग्रेसका धेरै नेताहरुले ठूलो दलको हैसियतमा सरकारको नेतृत्वमा कांग्रेसको दावेदारी रहने बताइसकेका छन् । यस्तोमा कांग्रेसलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै दिन सत्ता साझेदार दल तयार नहुन सक्छन् ।