रेशमचाहिँ कहिले पुग्छन् जेलमा ?

Home Feature

काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेका गलत कदम औँल्याउँदै सर्वोच्च अदालतले डण्डा लगाउने काम गरेको छ । विभिन्न तीन ठूला दिवसहरु गणतन्त्र दिवस, प्रजातन्त्र दिवस र संविधान दिवसका बेलामा आफू निकटका कार्यकर्ताहरुलाई गम्भीर प्रकृतिको अपराध गरेका अपराधीलाई आममाफी दिने गलत प्रवृत्ति बसाउँदै आएको सरकारलाई सर्वोच्चले डण्डा लगाउँदै खबरदारी गरेपछि यसअघि छुटेका अपराधीहरुलाई पनि पक्राउ गरेर जेलमा राख्न सरकारमाथि दबाब परेको छ ।
बिहीबार सर्वोच्चको पूर्ण इजलासले नेपालगञ्जमा आठ वर्षअघि दिनदहाडै खुँडाले हानेर चेतन मानन्धरको हत्या गरेर सर्वस्वसहित जन्मकैदको सजाय पाएका हत्यारा रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयलाई उल्ट्याएर तत्काल अपराधीलाई पक्राउ गर्न परमादेश जारी गर्यो । सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको कैद मिनाहालाई कानून विपरीत भएको ठहर गर्दै बदर गरिदिएको हो । रिगलको जस्तै जघन्य अपराधमा सजाय पाएका एक सय ७० जनाको ६० प्रतिशत कैद मिनाहा गर्ने मन्त्रिपरिषद्को निर्णय र त्यो निर्णय अनुमोदन गर्ने राष्ट्रपतिको कदममाथि अदालतले झापड हानेको हो ।
सरकारले तजबिजीले जसरी कानूनको अवमूल्यन गर्दै उन्मुक्ति दियो त्यसमा चेतनकी पत्नी भारती शेर्पाले सरकारविरुद्ध सर्वोच्चमा उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा सरकारले कानूनको उल्लंघन गरेको पाएपछि सर्वोच्चले परमादेश जारी गर्दै हत्यारा रिगललाई पुनः पक्राउ गर्न आदेश दिएको थियो । अदालतले राष्ट्रपतिबाट हुन गएको गल्तीसमेत औँल्याइदिएको छ । जब राष्ट्रपतिले रिगलजस्तै हत्याराहरुसहित असोज ३ गते छ सय ७० जनाको बाँकी कैदमाफी गरेका थिए तबदेखि उनी आलोचित हुँदै आएका छन् । राष्ट्रपति पनि कानूनभन्दा माथि नहुने भन्दै उनीविरुद्ध आलोचना भइरहेको थियो । अधिकारको नाममा राष्ट्रपतिलाई पनि कानून मिच्ने अधिकार छैन भनेर विवेचना भइरहेको थियो । सोहीअनुसार सर्वोच्चले पनि परमादेश जारी गरेर आफ्नो गरिमा बढाएको छ ।
छ सय ७० जना अपराधको सजाय भोगिरहेकाहरु छुटेकामा एक सय ७० जना कुनै पनि हालतमा छुट्न नमिल्ने खालको अपराधमा सजाय काटिरहेकाहरु हुन् । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा ३७ मा विभिन्न १० ओटा शीर्षकमा सजाय भोगिरहेका ‘कसूरदार बाहेकका कसूरदारको कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय कारागारले तोकिए बमोजिम कट्टा गर्न सक्नेछ’ भन्ने उल्लेख छ । ती अपराधमा क, जन्मकैदको सजाय पाएको, ख, जबरजस्ती करणी सम्बन्धी कसूरमा सजाय पाएको,
ग, भ्रष्टाचार सम्बन्धी कसूरमा सजाय पाएको, घ, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा सजाय पाएको, ङ, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा सजाय पाएको, च, लागू औषधको ओसारपसार तथा कारोबार सम्बन्धी कसूरमा सजाय पाएको, छ, संगठित अपराध सम्बन्धी कसूरमा सजाय पाएको, ज, सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा सजाय पाएको, झ, यातना वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार सम्बन्धी कसूरमा सजाय पाएको, र ञ, मानवता विरुद्धको अपराध सम्बन्धी कसूरमा सजाय पाएको । कानून संशोधन नभएसम्म राष्ट्रपतिले यसलाई तलमाथि गर्न पाउँदैनन् । सरकारले संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर कैद पूरा नहुँदै जघन्य अपराधका दोषीलाई पनि माफी मिनाहा गर्ने क्रम बढेको छ । तसर्थ सर्वोच्चले भारतीको रिटलाई जिताउनु भनेको आइन्दादेखि फेरि कुनै पनि गल्ती नगर्नु भनेर सरकारलाई दिएको आदेश भनेर बुझ्नुपर्ने हुन्छ ।
त्यतिमात्र होइन जसरी रिगललाई पुनः नियन्त्रणमा लिएर कैद सजायलाई निरन्तरता दिइएको छ त्यसरी नै सरकारले बाँकी रहेका १६९ जनाको बारेमा पनि पुनर्विचार गरोस् । अझ अचम्म त के भने माफी पाउने जघन्य अपराधका एक सय ७० मध्ये आधाजसोले त आधा समय पनि कैद भुक्तान गरेका थिएनन् । तसर्थ सर्वोच्चको आदेशपछि सरकारले जतिसक्यो छिटो जघन्य अपराधका दोषीमाथिको माफी मिनाहा पुनर्विचार गरोस् । राज्यले पीडितको रक्षा गर्ने हो, पीडकको हैन । विभिन्न दिवसमा दिन मिल्नेलाईमात्र कैदमाफी गर्ने हो । कैदमाथि दिने पनि प्रक्रिया छ । माथि भनिएजस्तै १० प्रकारका अपराधमा कैद बसेकालाई होइन । सरकारले सरकार र राष्ट्रपतिको गरिमा बढाउने काम गरोस् । तत्काल यसअघि गरिएका निर्णयको पुनर्विचार गरोस् र आइन्दादेखि यस्ता गल्ती हुने छैनन् भनेर सार्वजनिक माफी मागोस् । फेरि अर्को भारती जन्माउने कोसिस सरकारबाट नहोस् ।
अब पुराना फाइल खोलोस्, रेशम चौधरीलाई पनि थुनोस्
रिगललाई फेरि जेल कोचेपछि अब यस्तै प्रकृतिका घटनाका सबैलाई जेल पठाउनुपर्नेमा जोड हुँदै आएको छ । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएकामा उनलाई पनि फेरि जेल पठाउनु पर्नेमा जोड हुँदै आएको छ । मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएसँगै उनी रिहा भएका छन् । उनलाई पनि पक्रिन सरकारलाई दबाब बढेको छ । संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले जन्म कैदको सजाय सुनाएको थियो । सर्वोच्चले पनि त्यसैलाई सदर गरेको थिथो । तर आदेशको पूर्णपाठ पनि नआउँदै सरकारले उनलाई आममाफीका लागि सिफारिस गरेको थियो ।
२०७४ फागुन १५ देखि थुनामा रहेका उनी सत्ताको शक्तिको बलमा छुटे । उनलाई अदालतले तोकेको जन्मकैदको सजायअनुसार २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी भएपछि उनले करिब १५ वर्ष कैद सजाय मिनाहा पाएका थिए । टीकापुर घटनामा मारिएकामध्ये एक प्रहरी अधिकारीकी श्रीमतीले रेशमको कैद माफीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । राष्ट्रपतिबाट कैद माफीसँगै रेशम रिहा भएपछि मृतक केशव बोहराकी श्रीमती शारदा कडायतले गत जेठ २२ गते नै त्यसविरुद्ध रिट निवेदन दायर गरेकी गरेकी थिइन् । रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । रेशमको मुद्दाको पेशी यही कात्तिक २३ गते बिहीबारका लागि तोकिएको छ । जब रिगल पक्राउ परे भने रिगलले गरेको भन्दा अझ गम्भीर अपराध गरेका रेशम पनि फेरि जेल जाने पक्का जस्तै छ । जानकारहरु उनको कैदमिनाहाको निर्णय बदर हुने बताउँछन् । अब रेशममात्र हैन संविधान र कानून मिचेर गरिएका निर्णय सबै बदर गरेर सबैलाई फेरि जेल कोच्नका लागि चारैतिर दबाब परेको छ । रेशमकी श्रीमती मन्त्री हुँदैमा उनी बच्लान् त ?