‘एमसीसी’ को विषयमा प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट

Home Feature

प्रचण्ड र महतबीच शीतयुद्व !


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफू मातहतका मन्त्रीहरुसँग खासै सन्तुष्ट छैनन् । उनी अरुले काम गरुन् र आफू मज्जाले घुमेर बसौँ भन्ने योजना पाल्छन् । त्यसैअनुसार देशको अर्थतन्त्री खस्किदै गए पनि उनी घुम्न छाडेका भने छैनन् । भरपूर खर्च गराएर भए पनि अरुले गरेको कामको जश लिन पल्केका प्रचण्ड यसपालि भने सबै मन्त्रीहरुसँग सन्तुष्ट हुन सकेका छैनन् । सबैभन्दा बढी असन्तुष्ट उनी अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भएका छन् । नेपाली कांग्रेसले पाएको अर्थ मन्त्रालयमा महतको कामकारबाहीलाई लिएर प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदा खटपटसमेत भएको छ ।
यो खटपटले प्रचण्ड अर्थमन्त्री फेर्ने मनस्थितिमा पुगेको आँकलन गर्न थालिएको छ । त्यस्तै अर्थमन्त्री महत पनि पछिल्ला केही दिनदेखि सार्वजनिक कार्यक्रममा सहज हुन सकिरहेका छैनन् । उनले अर्थ मन्त्रालय छाड्ने संकेत गर्न थालेका छन् । तर विदेशमा जाँदा नेपालीहरुसँग सहयोग गर्नुस् भनेर दुई पाँच डलर भिख माग्ने महतले धान्नै नसक्ने मन्त्रालय धानेका हुन् । गत बिहीबार दिउँसो सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा हुँदा प्रधानमन्त्रीले अर्थ मन्त्रालयको काम समयमा पूरा नभएको र नेटवर्थ राम्रो नभएको बताउँदै सचिवहरुमाझनै अर्थमन्त्रीको आलोचना गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनको अवस्थाबारे सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका थिए । त्यस क्रममा उनको तारो अर्थमन्त्रीमाथि थियो ।
अर्थमन्त्रीले केही दिनअघि मात्रै बिग्रेको अर्थतन्त्र लयमा आएको दाबी गरेलगत्तै प्रधानमन्त्रीले आलोचना गरेका हुन् । बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको थियो । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक महिनामा सरकारले गरेका कामहरूको समीक्षा गरिएको थियो । सो छलफलमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्ययोजना अनुसार कामहरू भए नभएकोबारेसमेत छलफल भएको र त्यस क्रममा अर्थमन्त्रीले प्रस्तुत गरेको काममा प्रधानमन्त्रीको असन्तुष्टि रहेको थियो । उनले चौमासिक समीक्षामा अर्थमन्त्रीको आलोचना
गरेपछि अन्य मन्त्रीहरुले प्रधानमन्त्रीको अनुहारमा हेराहेर गरेको बैठकमा सहभागी एक सचिवले भने । गत जेठमा पनि प्रधानमन्त्री प्रचण्डले बजेटका कारण सत्ता गठबन्धनमा खटपट हुने गरी अर्थमन्त्रीको आलोचना गरेका थिए । त्यतिबेला प्रधानमन्त्री प्रचण्डको सचिवालयले बजेटमा कमा, फुलस्टप, परिवर्तन गर्न नहुने परम्परालाई तोड्ने पक्षमा रहेको बताएर अर्थमन्त्री महतको आलोचना गरेको थियो । पछिल्लो पटक अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहायता परिचालनमा अर्थ मन्त्रालयले समस्या देखाएको भन्दै प्रधानमन्त्रीले अर्थमन्त्रीसँग असन्तुष्टि जनाएका थिए । सम्झौताअनुसार सहायता कार्यान्वयनका लागि बनेको निकाय एमसीए–नेपाल र अर्थ मन्त्रालय बीचमा अविश्वास बढ्दा कार्यान्वयनमै गतिरोध पैदा भएको प्रधानमन्त्रीको बुुझाइ छ ।
एमसीए नेपालको बोर्ड अध्यक्ष हुने अर्थसचिव, एमसीए नेपालको तालुकमन्त्री अर्थमन्त्री महत रुष्ट भएको विवरण प्रधानमन्त्रीलाई बुुझाइएको थियो । ‘प्रधानमन्त्रीले सहजीकरण खोजिरहनु भएको थियो । हामीले पुुरानो ठेक्का रद्द गरेर नयाँ लगाउँदा पनि रद्ध हुने अवस्था नआओस् भनेका थियौँ’, अर्थमन्त्रालयका एक अधिकारीले भने । अमेरिकाको भक्त हुनुपरेका प्रचण्डलाई त्यसको विरोधमा लागेपछि उनलाई पनि चित्त दुख्नु स्वभाविकै हो । नेपालको कानून मिचेको भए पनि जब उनलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले बोलायो भने त हेग जानुपर्छ । त्यही डरले पनि प्रचण्ड अमेरिकालाई चिँढ्याउन चाहिरहेका छैनन् । त्यसको सट्टा प्रकाशशरण गएर उनलाई केही फरक पर्ने छैन । फेरि प्रकाशले पनि चाहिने भन्दा बढी कमिशन खानका लागि लागत बढाएकै रहेछन् । अब प्रचण्डले फेर्लान् त महतलाई ?