काठमाडौं । थपाथलीस्थित सुकुम्बासी बस्तीमा महानगर डोजर लिएर पुग्दा उक्त क्षेत्र क्षणभरमै रणभूमि बन्यो । काठमाडौं महानगरको वडा–११ मा पर्ने सुकुम्बासी बस्तीमा बस्नेहरू एकाएक नेपाल प्रहरी र नगर प्रहरीमाथि जाइलागे । केहीले त हातमा खुकुरी नै लिएर सुरक्षाकर्मीमाथि धावा बोले । उनीहरूले राजनीतिक दलका नेताहरूमाथि पनि आक्रोश पोखे । केही सुकुम्बासीले आफूहरूको व्यवस्थापनमा राज्यले सधैँ राजनीति गर्दै आएको र भोट बैंकको लागि मात्रै सुकुम्बासीलाइ प्रयोग गर्दै आएकोसम्म आरोप लगाउन भ्याए ।
खोलानजिक टहरा बनाएर बसेका सुकुम्बासीको व्यवस्थापन अहिले एकाएक देखा परेको समस्या भने होइन । विगतदेखि नै सुकुम्बासी व्यवस्थापनका नाममा आधा दर्जन आयोग बनिसकेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका टहरा भत्काउन खोज्दा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त ‘सुकम्बासीमाथि राज्यको आतंक’ भन्दै सार्वजनिक अभिव्यक्ति नै दिए । तर, उनकै नेतृत्वको सरकार रहँदा पनि सुकुम्बासी समस्या समाधान गर्न आयोग बनेको थियो । आयोग कर्मकाण्डी मात्रै बन्दा सुकुम्बासी व्यवस्थापन हुन सकेन । ०४७ सालयता सुकुम्बासी व्यवस्थापनका नाममा ३२ वर्षमा १७ वटा आयोग बनेका छन् । सुकुम्बासीमाथि जिम्मेवार सरकारी निकाय र नेताहरूले गर्दै आएको खेलवाडका कारण अहिलेसम्म समस्य सुल्झन सकेको छैन । बरु सुकुम्बासी समस्या अझ बढी जेलिएको छ । विभिन्न समयमा बनेका आयोगले भूमिहीनलाई ४३ हजार विघा जमिन वितरण गरिसकेको भूमि आयोगले जनाएको छ ।
०४७ सालपछि बनेका हरेक सरकारले आयोग बनाएको देखिन्छ ।
राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्नेबित्तिकै सुकुम्बासी समस्या समाधान आयोग बनाएको इतिहास छ । केहीले भने आयोगको म्याद थप्ने काम गरे । आयोगको नाममा गतिलो सेवासुविधा दिएर नेताका नतागोतालाई पोस्ने मात्रै काम भएको पाइन्छ । यसबीचमा राजनीतिक दलका नेताहरूले सुकुम्बासीको नाममा आफ्ना दलका कार्यकर्ता र नातागोतालाई जग्गा बाँड्ने कामसमेत भयो । विगतमा बनेका आयोगहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विक्रम पाण्डेदेखि हाल जेलमा रहेका मोहम्मद अफताब आलमसम्मले नेतृत्व लिएको देखिन्छ । हाल आयोगको नेतृत्व केशव निरौलाले गरिरहेका छन् । उनी नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेसको शिक्षक संगठनमा लामो समय बिताएका निरौलाले पनि गतिलो काम गर्न सकेका छैनन् । नेताहरूको बेलगाम बोली र दलगत स्वार्थ नै उनीसामु पनि सबैभन्दा ठूलो समस्या बनेको छ ।
अर्कोतिर, सहरभित्रको जग्गालाई मनमौजी ढंगले प्रयोग गर्न अग्रसर सुकुम्बासीहरूको जीवनशैली पनि फरक देखिन्छ । उनीहरूका टहरा बाहिरबाट जस्ताले छाएको देखिए पनि भित्र विलासिता र महँगा बस्तुले भरिएका देखिन्छन् । केही सुकुम्बासीका त महँगा गाडीसमेत छन् । सुकुुम्बासी बस्तीमा बस्ने कतिका छोराछोरी विदेशमा पनि छन् । सुकुम्बासी बस्तीमा बस्ने थुप्रैको नाममा देशका विभिन्न भागमा जग्गा÷जमिनसमेत रहेको खुलासा पनि हुँदै आएको छ । आफ्नो नाममा जग्गा÷जमिन भए पनि काठमाडौं लगायतका सहरी क्षेत्रमा जग्गा पाइने लोभमा पनि धेरै जना सुकुम्बासी बस्तीमा बस्दै आएका छन् । सिनामंगलस्थित वागमति करिडोर, विष्णुमति करिडोर, बल्खु खोला करिडोरलगायत विभिन्न खोलासँगै टाँसिएका सडकमा सकुम्बासीका टहरा देख्न सकिन्छ ।