काठमाडौं । नेकपा एमाले निकै ठूलो दलदलमा फसेको छ । पार्टी विभाजन भएपछि नछुट्टिएका नेताहरुको डिमाण्ड दिनानुदिन बढ्दो छ । त्यतिमात्र हैन माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीमा नगएर एमालेमै टाँस्सिएका नेताहरु आफ्नो हकका लागि संघर्ष गरिरहेका छन् । तर उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले टेरेकै छैनन् । उनीहरुले एमाले २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने अडान राखिरहेका छन् । ओलीले १० बुँदे सहमति पनि गरेका हुन् । तर त्यसलाई कार्यान्वयन गरेका छैनन् । १० बुँदे कार्यान्वयन हुन्छ भनेर माधव नेपाललाई धोका दिएकाहरु कतै आफूहरुले नै ओलीबाट धोका खाइने हो कि भन्ने चिन्तामा छन् । स्थायी कमिटीमा असन्तुष्ट बनेकाहरुको साथमा रहेका केन्द्रीय सदस्यहरुले पनि त्यो
डिमान्ड राखे । तर ओलीले बेवास्ता गरे । भोलिका दिनमा के हुन्छ पत्तो छैन । अनुमान लगाउनेहरु भनिरहेका छन् कि ओलीले घर न घाटका बनाएपछि वाध्य भएर उनीहरु माधव नेपालतिरै जानेछन् । केन्द्रीय कमिटीको बैठकमा पनि हालीमुहाली ओली पक्षकै नेताको भयो । भीम रावलजस्ता एक दर्जन नेताका नेताहरु त कुनै भाउमै परेनन् । तर त्यो बैठकमा ओली पक्षकै नेताहरुको असन्तुष्टि हेर्न लायक थियो । बिस्तारै ओली खेमाका नेताहरुले असन्तुष्टि ओकल्न थालेका छन् । त्यो हो विधानमा उपाध्यक्ष संख्या घटाएर ३ बनाएपछिको असन्तुष्टि । यसले शीर्ष तहको नेतृत्व व्यवस्थापनमा जटिलता देखिने भएको छ । त्यसैले केन्द्रीय कमिटीको जारी बैठकमा संख्या थप्न नेताहरूले माग गरेका हुन् । केन्द्रीय कमिटीको बैठकमा विधान संशोधन मस्यौदामाथि सुझाव प्रस्तुत गर्दै अधिकांश समूहले उपाध्यक्षको संख्या सातसम्म पु¥याउन सुझाव दिएका छन् । बैठकमा ‘एक प्रदेश एक जना उपाध्यक्ष’को व्यवस्था हुनुपर्ने माग भएको हो । संगठन विभागले तयार पारेको विधान संशोधन प्रस्तावमा उपाध्यक्षको संख्या ५ वाट घटाएर ३ र सचिवको संख्या ५ बाट बढाएर ७ पु¥याउने प्रस्ताव छ ।
विधान महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको विधान मस्यौदामा गरिएको व्यवस्था कार्यान्वयन भए आगामी महाधिवेशनमा उपाध्यक्ष चयनको विषय रोचक बन्ने देखिन्छ । विधानमा उपाध्यक्षको अधिकार खासै नभए पनि अध्यक्ष हाराहारीका सिनियर नेताहरूको व्यवस्थापन गर्नका लागि यो पद उपयोगी हुँदै आएको थियो । पछिल्लो समय ओली धेरै उपाध्यक्ष बनाउन नहुने धारणा राख्दै आएका छन् । तर केन्द्रीय कमिटीको बैठकमा विभिन्न समूहबाट उपाध्यक्ष संख्या बढाउनु पर्ने माग आएपछि ओली झस्किएका छन् । मस्यौदा विधानमा ३ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव र ७ सचिवको व्यवस्था गरिएको छ । यस्तो अवस्थामा भएमा ओलीकै हाराहारीकै योगदान र उमेर भएका धेरै नेताहरू मंसिरमा पार्टीको नेतृत्व छान्नका लागि हुने महाधिवेशनबाट बाहिरिने संभावना धेरै छ । नवौं महाधिवेशनबाट उपाध्यक्षमा बामदेव गौतम, भीम रावल, विद्यादेवी भण्डारी, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचितमध्ये दुई जनाले फरक फरक कारण एमाले छाडेका छन् । भण्डारीले राष्ट्रपतिमा निर्वाचित भएपछि एमाले छाडेकी थिइन् अर्को उपाध्यक्ष गौतम अध्यक्ष ओलीसँग असहमतिपछि हालै पार्टी परित्याग गरेका हुन् ।
उपाध्यक्षको संख्या घटाउने प्रस्तावले एमालेमा शीर्ष नेताहरूको व्यवस्थापनका लागि कठिन हुनेछ । हाल बाँकी रहेका भिम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली तीनै पहिलो कार्यकालका उपाध्यक्ष हुन् । उनीहरूलाई उपाध्यक्ष हुनका लागि पार्टी विधानले रोक्दैन । तीनै जना शीर्ष स्थानमा नपाए पनि अहिलेको जिम्मेवारीभन्दा तल झर्न चाहँदैनन् । लगातार दोस्रो पटक पार्टी महासचिव बनेका ईश्वर पोखरेल सो पदमा दोहिरन पाउँदैनन् । महासचिवपछि पोखरेलको स्थान अध्यक्ष वा उपाध्यक्षका लागि हुन्छ । अध्यक्षमा ओली नै नेतृत्वमा आउने अवस्थामा महासचिव पोखरेलका लागि जाने ठाउँ उपाध्यक्ष मात्र हुन्छ । तर नवौं महाधिवेशनमा निर्वाचित भएपछि पहिलो पटक आयोजना गरिएको औपचारिक कार्यक्रममा ओलीले एक कार्यकाल मात्रै अध्यक्ष हुने घोषणा गरेका थिए । तर त्यो घोषणामा ओली अडिग छन् वा छैनन् भन्ने विषयमा औपचारिक रुपमा केही बताएका छैनन् । तर ओलीले दोहोरिन सक्ने संकेत गरेका छन् । यी यावत् कुराहरुले गर्दा एमालेमा भाँडभैलो छ । बखेडै बखेडा छ ।