लकडाउनको फाइदा उठाउँदै खसीको मासु किलोको १८ सयसम्म

अर्थ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्नका लागि सरकारले लगाएको लकडाउनको मौका छोपी मासु व्यवसायीले मासुको मुल्य बढाएका छन् । त्यस्ता व्यवसायीको पसलमा छापा मारी सचेत गराइएको छ ।

देशका विभिन्न स्थानमा खसीको मासुको मुल्य ६ सय रुपैयाँसम्म बढाइएको छ । भक्तपुरमा छ सयसम्म बढाएको व्यवसायीले नै बताएका छन् । काठमाडौंमा चार सयसम्म महङ्गो भएको छ ।

खसीको अभाव देखाउँदै व्यवसायीले मासुको मूल्य वृद्धि गरेका हुन् । लकडाउन अघिसम्म एक हजार दुई सयमा बिक्री हुँदै आएको खसीको मासु अहिले प्रतिकिलो एक हजार ८ सय पुगेको छ ।
कुखुराको मासुसमेत पनि महंगो भएको छ । अति भएपछि भक्तपुर नगरपालिकाले मासु पसलमा छापा मारेको छ । बिहान नगरपालिकाले विभिन्न पसलमा छापा मार्दा व्यापारीले मनोमानी मूल्यमा मासु बिक्री गरेको पाइएको हो ।

भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा सरोकारवालासहितको टोलीले गरेको मासु पसलको आकस्मिक अनुगमनमा कालोबजारी गरेर मासु बिक्री गरेको पाइएको हो ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न गरिएको लकडाउनका बेलामा कुखुराको मासु प्रतिकिलो रु ३०० सम्म र खसीको मासु किलोको रु एक हजार ५०० सम्म लिई मनपरी मूल्यमा कालोबजारी गरेको पाइएको संयोजक गोराले जानकारी दिए ।