सबै मिलौं, कसैलाई निषेध नगरौं ः पूर्वराजा

Home Feature

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरिएको छ । सबै मिलेमात्र मुलुकको भलो हुने भन्दै पूर्वराजाबाट कसैले कसैलाई निषेध गर्न नहुने पनि बताइएको छ । यससँगै पूर्वराजाबाट नेपालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेकोसमेत उल्लेख गरिएको छ । नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहबाट नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको उल्लेख गरिएको हो । पूर्वराजाबाट आम नेपालीको चिन्ता यही विषयमा भएकोसमेत सन्देशमा उल्लेख गरिएको छ ।
सन्देशमा भनिएको छ, ‘न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतितलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन् ।’ पूर्वराजा शाहबाट बौद्धिक समाज उदासिन हुँदै जानु र होनहार युवाशक्ति विदेश पलायन हुँदै जानुले देशको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय भएकोसमेत उल्लेख गरिएको छ । सन्देशमा भनिएको छ, ‘देशको बौद्धिक समाज उदासिन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो । शिक्षा, स्वास्थ्य, इलम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किदै जानु आजको विडम्बना हो ।’
पूर्वराजाको सन्देशमा उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आशा जगाउन सक्नुपर्नेमा जोड दिइएको छ । भनिएको छ, ‘जनतामा उत्साह पैदा गर्न सक्नुपर्दछ तर
हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्य र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो । त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ । गम्भीर भएर सोचौँ । सबै मिलौँ । कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ ।’ सन्देशमा अगाडि भनिएको छ, ‘मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार प्रकार शिल स्वभावका आधारमा फरक–फरक भए पनि –राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ – स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनु पर्छ । आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’
यसबाट पूर्वराजाको देशप्रतिको चिन्ता स्पष्टै देखिएको छ । तर हैसियत गुमाएका नेताहरु भने देशलाई दाउमा राखेर अझै पनि देशलाई लुट्न उद्यत देखिएका छन् । राजालाई राजदरबारबाट हटाएपछि आफैँ राजा बनेको अनुभूति गर्ने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गरिब बने पनि अवैध सुन प्रकरणमा पार्टीका नेताहरु जोडिएको देख्दा यिनको हैसियत पनि छर्लङ्ग भएको छ । कांग्रेस र एमालेका नेताहरु देश लुट्न नपुगेर नेपालीलाईसमेत नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु कहाँसम्मको राष्ट्रघात होला कल्पनासम्म पनि गर्न सकिन्न । यसैले पनि अबको विकल्प फेरि राजसंस्था नै फर्किनु पर्छ भन्नेहरु धेरै छन् ।