संघीय संसद्को बर्खे अधिवेशन शुरु, ओली सरकारको चर्को आलोचना

Home Feature राजनीति


राजेन्द्र महतो भन्छन् – दुई तिहाइको सरकार दुई कौडीको
काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा बर्खे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ । सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०७७–७८ को आय तथा व्ययको विवरण (बजेट) आगामी जेठ १५ गते प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण संसद्को अधिवेशन शुरु भएको हो ।

कोभिड–१९ को जोखिम नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने सबै स्वास्थ्य परीक्षण र उपाय अवलम्बन गरेर अधिवेशन प्रारम्भ गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुअघि नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी बाध्यता छ ।

सदनमा भाग लिन आउने मन्त्रिपरिषद्का सदस्य, सांसद,कर्मचारी र सुरक्षाकर्मीलगायतलाई बैठक कक्षमा प्रवेश गर्नुअघि नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको मूलद्वारमा साबुनपानीले मिचीमिची हात धुने र सेनिटाइजरबाट निसङ्क्रमण हुने व्यवस्था मिलाइएको थियो । जुत्ताबाट हुन सक्ने जोखिमलाई ध्यान दिँदै मूलद्वार अघि सेनिटाइजरको व्यवस्था गरिएको छ ।

मूलद्वारमा सांसदको स्वास्थ्य परीक्षण गर्ने सन्दर्भमा ज्वरो नाप्ने व्यवस्था गरिएको थियो । सङ्घीय संसद्को छैटौं अघिवेशन प्रारम्भ भएसँगै सभामुख र अध्यक्षले राष्ट्रपति कार्यालयबाट संसद् आह्वानसम्बन्धी पत्र वाचन गरेका थिए । त्यसलगत्तै लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि बलिदान दिने शहीदको सम्मानमा मौनधारणा गरियो । सभामा संसद्का लागि दूरी कायम हुने गरी कुर्सीको व्यवस्था गरिएको छ ।

त्यसपछि बोल्ने क्रममा विपक्षी दलका सबै सांसदले यो सरकारको चर्को आलोचना गरेका छन् । केपी ओली नेतृत्वको सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भन्दै आलोचना भएको हो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडीको भन्दै यो सरकारबाट कुनै अपेक्षा नभएको बताए । उनले सबै नेपालीको यतिबेला कोरोना भाइरसबाट बचाउन आग्रह गरे ।

समाजवादीका अर्का नेता डा बाबुराम भट्टराईले ओलीले राजीनामा दिनु नै अहिलेको उत्तम विकल्प हुने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले यो सरकार नालायक भएको समेत बताए । तर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने अहिले कोरोनाको विषयमा सबै दलले देखाएको ऐक्यवद्धताप्रति विपक्षी दलका नेताहरुलाई धन्यवाद दिए ।