के लगानी गर्नेले मौका पाउँछन् ?

Home Feature

तेस्रो लगानी सम्मेलनको हो हल्ला व्यापक रुपमा फैलिएको छ । ‘आउनुस्, नेपालमा लगानीको वातावरण गज्जब राम्रो छ । यहाँ लगानी गरे दिन दुई गुना र रात चार गुना उन्नति र समृद्धि हुने निश्चित छ…’ भन्ने चर्चा गरिएको छ । लगानी सम्मेलनका लागि नेपाली आम लगानीकर्ताहरुसँग लगानी माग गरिएको छैन । किनभने नेपालीहरुको लगानीभन्दा गतिलो र खाँदिलो खानयोग्य (?) लगानी बाहिरियाले गर्ने भएकोले यसो गरिएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
नेपालको राजनीतिक दल, दलका नेता कार्यकर्ता, सरकार संचालनको जिम्मामा रहेको मन्त्री, सरकारी कर्मचारी अथवा राष्ट्र सेवक जो भए पनि
हरेकको सोचाइमा केही न केही कमिसन खाने दृष्टिकोणले मालपोत र भन्सार मात्रै नभएर सरकारी सेवाका हरेक अंक बिग्रिँदै गएको स्पष्ट देख्न सकिन्छ । यदि त्यस्तो नहुँदो हो त विदेशमा सामान्य काम गरेर कमाउने साधारण नेपालीले नेपालमै एक आध लाख डलर लगानी गर्छु भन्दा लगानी गर्न पाउने अवस्था नै देखिँदैन ।
नेपालको अवस्था दिनदिनै बिग्रिँदै गएको छ । घुसले देशलाई यति खोक्रो बनाइदिएको छ कि जसका बारेमा सोचे भने मात्रै पनि रिंगटा चल्छ । अरुले घुस खाएको अवस्थामा नियन्त्रण गर्नुपर्ने निकायले नै घुसकै लेनदेनमा काम गर्दै आएको प्रसंग अवकास लिइसकेका राष्ट्र सेवकहरुले नसुनाएका हैनन् । तर सिधै कसैले भन्न सक्दैनन् । प्रमाण हुन्न त्यसैले भन्ने अवस्था पनि रहन्न । तर चल्तापुर्जाहरुको अवस्था त्यस्तै छ । माग्ने र चलाउने । राजनीतिक नेताको पछाडि लाग्ने र आफ्नो दुनो सोझ्याउने । र दुनो सोझ्याउने काममा लगानी सम्मेलनले पनि ठुलो काम गर्न सकिन्छ ।
लगानी सम्मेलनको नाममा विदेशी लगानीकर्ताहरुलाई बोलाउने र तिनलाई यसमा लगानी गर उसमा लगानी गर भनेर अरबौं खरबौंको योजना अगाडि सार्ने । तर साधारण नेपालीले पेट काटी काटी हाइडूोपावरमा गरेको लगानीको प्रतिफल पाउन गाह्रो रहेको छ । एक दुई जनाले जलविद्युतमा लगानी गरे । तर स्थानीय नेता, कार्यकर्ता र कर्मचारीले यति दुख दिए कि तिनले लगानी नै नगर्ने निर्णय गरे र फर्किए पुरानै बाटो । विदेशमा बस्ने नेपालीहरुले नेपालमा लगानी गर्न खोजेको तर बाहिरका नेपाली भन्नासाथ घुसको मात्रा दोब्बर माग्ने प्रचलनले गर्दा कतिपय लगानी गर्नसक्ने नेपाली युवाहरुले नेपालमा लगानी नगरेको अवस्था छ । यस्तोमा यो लगानी सम्मेलन काम पाइनस बुहारी पाडाको कन्ने कन्या भन्दा फरक मान्न सकिन्छ होला र ?