‘हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को औपचारिक घोषणा

Home Feature

कांग्रेसमा ‘हिन्दूराष्ट्र’ को मुद्दा चर्कियो


काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा संविधान जारी गरियो । उक्त संविधानमा मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णय गरियो । यसअघि २०६३ सालको अन्तरिम संविधानमै नेपालले हिन्दूराष्ट्रको हैसियत गुमाएको थियो । यो कुनै राम्रो दीर्घकालीन सोचका कारण नभइ कांग्रेसहितका दलहरुको डलर हसुर्न गरिएको प्रपञ्चमात्र थियो । नेताहरुका घरमा करोडौँ डलर भित्रिएको अनुमान छ । तर यो आम नेपालीलाई चित्त बुझेको थिएन । ९४% जनता हिन्दू सनातन धर्मावलम्बी भएका बेलामा जवरजस्ती लादिएको यो कदम मान्न कोही तयार नभए पनि जनमत संग्रहका लागि आन्दोलन हुन सकेन ।
जसका कारण मुलुकमा धार्मिक हिंसा बढ्दो क्रममा रहेको छ । तर कांग्रेसभित्रै पनि अहिले आएर हिन्दूराष्ट्रको मुद्दा जुर्मुराएको छ । कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ । शनिबार काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा भएको नेता भण्डारीले बताएका हुन् । उनले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।
सोमबार (आजदेखि) ललितपुरको गोदावरीमा शुरु हुने कांग्रेसको चार दिने महासमिति बैठकमा यसले ब्यापकता पाउने धेरैजसो महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ । नहोस् पनि किन । नेपालमा हजारौँ मन्दिरहरु रहेका छन् । हरेक गाउँ टोलमा मन्दिर छन् । तर मुलुक धर्मनिरपेक्ष छ । अर्थात् धर्मविहीन छ । नेपाललाई धर्मविहीन बनाउने अरु कोही नभइ क्रिष्टियनहरु नै हुन् । उनीहरुले भने नेपालमा धमाधम चर्चहरु खडा गरिरहेका छन् । भण्डारी नेतृत्वको महाअभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव रहेका छन् । कांग्रेसमा पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । गत शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनु पर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर महासमिति बैठकको पूरक एजेन्डा बनाउन माग गर्दै सभापति शेरबहादुर देउवालाई प्रस्ताव पत्र बुझाएका थिए ।
महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्रको एजेण्डा उठाउने तयारी छ । अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए । ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ । अब यो मुद्दा राप्रपाको मात्र रहेन भन्ने पनि कांग्रेसका नेताहरुले देखाइदिएका छन् । यसपालि महासमितिमा कुनै पनि हालतमा हिन्दूराष्ट्र कांग्रेसको एजेन्डा हुनुपर्नेमा भण्डारी लगायतका नेताहरुको जोड छ । उनीहरुले महासमितिलाई कसरी प्रभावित पार्न सक्छन् त भन्ने चासो ब्याप्त छ । यो महासमितिले देउवालाई जतिसक्यो छिटो ‘बाइबाइ’ गर्नका लागि अबको दुई वर्षभित्रै महाधिवेशन गर्ने र कति पटक सभापति हुन पाउने भनेर पनि तोक्ने सम्भावना छ । त्यस्तै प्रधानमन्त्री पनि कति पटक हुन पाउने भनेर स्पष्ट रुपमा विधानमा लेखेर बुढाखाडा नेताहरुलाई बाइबाइ गर्ने योजनामा युवा नेताहरु रहेका छन् ।