नेपालको नयाँ नक्सा राजपत्रमा, भयो लागू, अब पालो भारतलाई बुझाउने

Home Feature राजनीति समाचार

काठमाडौं । नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नयाँ नक्सा राजपत्रमा प्रकाशन भएसँगै अब यो लागू भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाए लगत्तै मुद्रण विभागले प्रकाशन गरेको छ। राजपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव केदार न्यौपानेको हस्ताक्षर रहेको छ ।

सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको थियो ।

नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमाना सहितको यो नक्सा प्रकाशित भएको छ। भूमि राजपत्रमा प्रकाशित भएपछि अब यो नक्सा आम सर्वसाधारणले प्रयोग गर्न पाउने छन् ।

नयाँ नक्सा छापिएको राजपत्र अब सबै मन्त्रालय, निकाय र प्रदेश सरकार र स्थानीय तहसहित राज्यका सबै कार्यालयलाई पठाइने छ। नयाँ नक्सा भएकोले राज्यका सबै निकायलाई औपचारिक रूपमा जानकारी दिन राजपत्रमा प्रकाशन गरी पठाइने छ ।

यसैबीच नापी विभागले पहिलो चरणमा ३ हजार नेपालको नयाँ नक्सा छापेर सबै निकायलाई वितरण गर्ने भएको छ। विभागले नयाँ नक्साको छपाइ सुरु गरिसकेको छ।

अब पाठ्यपुस्तकमा नयाँ नक्सा राख्न लगाइने छ। प्रकाशन गृह, सञ्चार माध्यम, निजी तथा गैरसरकारी क्षेत्रमा लिम्पियाधुरासहित नक्सा प्रयोग गर्न निर्देशन गरिने छ।

अब भारतसंग वार्ता जरुरी
भारतले निरन्तर प्रयोगमा ल्याएको उक्त जग्गा सजिलै भारतले पक्कै दिने छैन । आरोप प्रत्यारोप भइरहेको छ । तर प्रमाण नेपालसंगै छ ।

नेपालले २०३२ सालमा आफैले नक्सा बनाउँदा गल्ती गरेको थियो । त्यसअघि नक्सा बनाउनु जरुरी नै परेको थिएन ।

भारत र चीनबीचको लडाइँमा भारतले नेपाली भूमि प्रयोग गर्दा अहिलेसम्म नेपालले वास्ता नै नगरेपछि भारतले कब्जा जमाएको हो ।

तर नेपाल अहिले जागेको छ । अब भारतलाई यो जग्गा नदिई सुख छैन । तर प्रमाण भारतलाई देखाएर जतिसक्यो छिटो कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न सक्नुपर्छ ।