कोरोना भाइरस संक्रमित नेपालमा पाँच सय ९१ पुगे, एक चौथाई बाँकेका

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक ४३ जनामा संक्रमण भेटिएसँगै कुल संक्रमितको संख्या पाँच सय ९१ पुगेको जनाएको हो ।

जसमा बाँकेमा २७, बैतडीमा चार, सुर्खेतमा तीन, बर्दियामा एक, झापामा एक र जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ७० जनाको उपचारपछि घर फर्किसकेका छन् । नेपालका कूल कोरोना संक्रमितमा एक चौथाइ त बाँके जिल्लाकै छन् ।

देशका ४१ जिल्लामा पाँच सय ९१ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा बाँकेका मात्रै एक सय ४३ पुगेका हुन् ।

प्रदेश ५ का कूल संक्रमितमध्ये आधाभन्दा बढी बाँकेकै छन् । बाँकेमा भने कूल संक्रमितमध्ये ८० प्रतिशत त नरैनापुर गाउँपालिकाका मात्र छन् । नरैनापुरमा मात्र एक सय १४ जना संक्रमित पुगेका छन्। देशका कूल संक्रमितमा नरैनापुर पाँच भागको एक भाग पुगेको छ।

२ जेठको शुक्रबार नरैनापुरमा सुरुमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ८ दिनको अवधिमा एक १४ जना संक्रमित पुगेका हुन् । यीमध्ये एक जना २५ वर्षका युवाको मृत्यु भइसकेको छ। अझै केही स्वाबका नमूनाको रिपोर्ट आउन बाँकी नै छ।

अहिलेसम्म तीन जनाको ज्यान गएको छ । गुल्मीका ४१ वर्षीय प्रधानाध्यापक, सिन्धुपाल्चोककी एक सुत्केरी र २५ वर्षे बाँकेका युवाको ज्यान गएको हो ।

दिनानुदिन सयको हाराहारीमा संक्रमितहरु बढ्दै जाँदा यसको स्थिति भयावह हुने देखिएको छ ।