जनभक्त राजाको सम्झना, राजपरिवार हत्याकाण्डको २० वर्ष पूरा

Home Feature समाचार

काठमाडौं । ‘राजा भनेको राजै हो ।’ नेपाली चलनचल्तीको उखान । अर्थात् कोही देशभक्त हुन सक्छ भने त्यो राजै हो । जो जनभक्त हुन सक्छ भने त्यो राजै हो । राजाले यसै पनि देशको रक्षा गर्छ । देश रहेसम्म राजा रहन्छ । त्यसैले पनि तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवप्रति जनताको भरोसा उच्च थियो ।

जनताको आड भरोसा र देशलाई माया गर्ने ती दयालु राजालाई भने कालले माया गरेन । उनको परिवारलाई पनि छुट दिएन । नियोजित रुपमा भएको शाहको वंश नाश भएको नारायणहिटी दरबार हत्याकाण्डको बुधबार २० वर्ष पूरा भएको छ ।

२०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंश नाश भएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग विक्रम र अन्य राजपरिवारका सदस्यहरूको पनि हत्या भएको थियो ।

उक्त वंशनाशको घटना अझै पनि रहस्यमय नै छ । तत्कालीन अवस्थामा घटनापछि सरकारले छानबिन समिति बनाएर तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा प्रतिवेदन सार्वजनिक गरिएको थियो । उक्त प्रतिवेदनले युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली प्रहार गरेपछि आफैंलाई गोली हानेर मारेको खुलाएको थियो । घटनालाई अन्तै मोड्ने क्रममा रानाभाटले पत्रकार सम्मेलनमा बन्दुक लिएरै भटटट भन्ने शब्दको प्रयोग गरेर जनतालाई झनै स्तब्ध बनाएका थिए ।

राजा वीरेन्द्रको वंश नाश भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाहले राजगद्दी सम्हालेपछि मुलुक अगाडि बढेको थियो । तर उक्त घटनाको बारेमा तयार भएको प्रतिवेदन भने अहिलेसम्म शंकाको घेरामा छ । उक्त प्रतिवेदनप्रति राजपरिवारलाई माया गर्ने एक जना नेपाली नागरिकले पनि विश्वास गरेका छैनन् । अत्यन्तै संवेदनशील र उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

युवराज वीरेन्द्रले आफूले चाहेको प्रेमिकासँग विवाह गर्न परिवारले स्वीकृति नदिएको झ्वाँकमा वंश नै नाश गरेको पनि बताइन्छ । तर युवराजका साथीहरु र संगतीहरुले कहिल्यै पनि उनी त्यो हदसम्म जान नसक्ने भनी यो घटनालाई रहस्यमा पार्नका लागि किंवदन्ती बनाइएको बताउँछन् ।

उदार राजाको छवि बनाएका वीरेन्द्रकै कारण नेपालमा बहुदल आएको थियो । २०४६ सालको जनआन्दोलनमा कमभन्दा कम क्षति होस् भन्नेमा राजा थिए । त्यसैगरी उनै राजाले माओवादीको सशस्त्र द्धन्द्धमा माओवादी पनि नेपाली नै भएकाले सेनाद्धारा निमिट्यान्न पार्न हुन्न र शान्ति वार्तामा ल्याएर मुलुकलाई फेरि शान्त बनाउनु पर्छ भन्ने पक्षमा थिए ।

मुलुकमा राजतन्त्र हटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पनि राजा वीरेन्द्रको वंश नाश भएको जेठ १९ को घटनाले अहिले पनि नेपालीलाई झस्काउँछ ।