इलाम–२ मा कसको पल्ला भारी ?

Home Feature

काठमाडौँ । आगामी शनिबार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन हुँदैछ । शनिबार इलाम २ र बझाङ १ (क) को उपनिर्वाचन हुँदै गर्दा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिस्पर्धा, साथमा पहिचानवादीहरुको उम्मेदवार र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका कारण देशभर चर्चा भइरहेको हो । एमालेका प्रभावशाली नेता एवं संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएका कारण उपनिर्वाचन हुन लागेको हो । उनले निरन्तर जितेको क्षेत्र भएका कारण पनि चुनावी परिणाम बारे चर्चा हुनु स्वभाविक हो । राजनीतिक दलका नेता र कार्यकर्ता मात्र होइन सुरक्षा अंगका सूचना संकलकहरु पनि यतिबेला इलाम–२ मा सक्रिय छन् ।
चुनाव कसले जित्ने हो यकिन त छैन तर विभिन्न समूहले अध्ययन र अनुसन्धानलाई भने बाक्लै बनाएका छन् । सर्वे पनि गरेका छन् । सरकारी सर्वेले सत्तारुढ दलले नै जित्ने दाबी गरिरहेको छ भने स्वतन्त्र रुपमा गरिएका छोटा सर्वेहरुले भने पहिचानवादी, धरान उपमहानगरका मेयर हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जित्न सक्ने आँकलन गरेका छन् । सुरक्षा निकायको अनुसन्धान भने फरक छ । नेपाली सेनाको पूर्वी पृतना, सशस्त्र प्रहरीको बराह बाहिनी र नेपाल प्रहरीको कोशी प्रदेशका सूचना संकलकहरु गोप्य रुपमा खटिएका छन् । त्यतिमात्र होइन राष्ट्रिय अनुसन्धान विभागको एउटा टोली इलाममै रहेर अनुसन्धान गरेको छ । इलाम जिल्ला प्रशासन कार्यालयमा रहेको सो टोलीले दिनदिनको रिपोर्ट विभागमा पठाउने गरेको छ । इलामबाट
आएको रिपोर्टलाई विभागले विभिन्न ढंगले विश्लेषण गरिरहेको छ । रिपोर्टअनुसार इलाम २ मा हुने निर्वाचनमा एमाले, नेकपामा ओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्वाङको चुनावी अंकगणितमा सबैभन्दा अगाडि रहेको देखिएको छ । स्वभावैले सत्तारुढ दललाई त्यो फेभर सुरक्षा अनुसन्धानले गरेरै देखाउँछ । साथमा कांग्रेसले पछ्याएको छ । कांग्रेसका डम्बर खड्काको उपस्थिति पनि पहिलेको भन्दा बलियो देखिएको छ । राष्ट्रिय अनुसन्धान विभागमा पेश गरिएको पछिल्लो विवरणले प्रतिस्पर्धामा एमाले र कांग्रेस देखिएका छन् । दुवै पार्टीलाई उत्तिकै सहानुभूति देखाएको भएपनि सुहाङको हकमा अपरिपक्वता र डम्बरको हकमा परिपक्वताको जलपले काम गरिरहेको छ । यो आँखा चिम्लेर भन्ने कुरा मात्र भयो । तर जसरी ०७९ को चुनावमा स्थानीय तहमा काठमाडौँ महानगरमा बालेन साह र धरानमा हर्कले जिते अनि प्रतिनिधि सभामा रवि लामिछानेले जिते त्यसरी नै अहिले पनि परिणाम एमाले र कांग्रेसभन्दा बाहिर जाने विश्लेषण भइरहेको छ ।
एमालेको संगठित मत खस्किएको र कांग्रेसको आफ्नो मत भड्किएको देखिन्छ । साथै पहिचानको पक्षमा केही मत बढेको र त्यही अनुपातमा रास्वपाको मत बढेको विश्लेषण गरिएको छ । उनीहरुलाई कांग्रेस एमालेकै मत बाँडिने विश्लेषण गरिएको छ । ‘एमाले एक ढिक्काभएमा र माओवादीको मत इमानदारपूर्वक थपिएमा एमालेलाई जित निकाल्न सहज हुने बताइएको छ । २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा निर्वाचन हुँदा एमाले एक्लै र कांग्रेस, माओवादी, नेकपा (एस) लगायतका दल एकैठाउँ हुँदा पनि एमाले विजयी भएको थियो । एमालेका सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका डम्बर खड्काले २९ हजार छ सय नौ मत ल्याएका थिए ।
रास्वपाका उम्मेदवार प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए । समानुपातिकतर्फ पनि यो क्षेत्रमा एमालेले नै सबैभन्दा बढी मत ल्याएको थियो । समानुपातिकमा एमालेले सबैभन्दा बढी २६ हजार पाँच सय ६२ मत ल्यायो । कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मत मात्र ल्याएका थिए । माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्याएको थियो । विभागको विश्लेषण अनुसार एमालेको मतमा अहिले केही प्रतिशत खिया लागेको छ ।
२०७९ सालमा एमालेको प्रत्यक्षमा आएको मत र माओवादीको पाँचहजार एक सय मत जोड्दा अहिले सुहाङको मत कम्तीमा पनि ३५ हजार मतभन्दा बढी हुने एमालेको विश्लेषणमा विभागले घट्ने विश्लेषण गरिरहेको छ । कांग्रेसले २०७९ सालमा पाएको २९ हजार छ सय नौ मतमामा ओवादीको मत घटाउँदा २४ हजार चार सय ५६ मत हुन्छ । यसमा पनि २०७९ सालको निर्वाचनमा कांग्रेसलाई नै भोट हालेको नेकपा (एस) को मत पाँच सय ८६ मत घटाउँदा २३ हजार हाराहारी मतमात्र कांग्रेसको हुन्छ । एमालेको मत घट्दा रास्वपाभन्दा पनि पहिचानको पक्षमा जाने विभागको विश्लेषण छ । बझाङमा खासै चर्चा नभएपनि इलाम २ मा भने नेताहरुको जुहारी राम्रोसँग परेको छ ।