अन्ततोगत्वा सेना पनि फस्यो सरकारको भ्रष्ट चंगुलमा

Home Feature राजनीति समाचार

काठमाडौं । इमानदारले अर्को इमानदार जन्माउन वर्षौं लाग्नसक्छ तर बेइमानले क्षणभरमा अर्को बेइमान जन्माउन सक्छ । यो संगत गुनाको फल हो । अर्कातिर इमानदार रहिरहन वर्षौंको तपस्या चाहिन्छ बेइमान क्षणभरमा बन्न सकिन्छ । संगतमा परेपछि जस्तोसुकै इमान भएको मानिस पनि बेइमान बन्न बेर लाग्दैन ।

अहिले त्यस्तै भएको नेपाली सेनालाई । सेनाको आफ्नै पहिचान छ । इमान छ । सेनाको आन्तरिक पाटो जस्तोसुकै भए पनि समाजमा उसको प्रतिष्ठा छ । परेका बेलामा सेनाले जस्तासुकै साहसिक कदम पूरा गर्न सक्छ भन्ने पहिचान सेनाले बोकेको छ ।
अहिले भने परिस्थिति फरक भएको छ । बेइमान सरकारले सेनाको इमानमाथि धावा बोलेको छ । सेनाको इमानमा बेइमानीको रङ्ग दलिदिएको छ । त्यसको असर अब सेनाले नराम्ररी चुक्ता गर्नुपर्नेछ । कोरोना भाइरसको महामारी बढेपछि त्यसको नियन्त्रणका लागि अग्रसरता देखाएको सेना सरकारको बेइमानी चंगुलमा फसेको हो ।


समाचारमा आए अनुसार सेनाले खरिद गरेका २८ हजार किट प्रयोगमा समस्या भएको छ । नेपालका प्रयोगशालामा कुन किट प्रयोग हुन्छ भन्ने अध्ययनसमेत नगरी ढुकुटीको ६ करोड अपव्यय भएको छ । कोरोना परीक्षणका लागि नमुना संकलन गर्दा ‘वान एमएल’ र ‘थ्री एमएल’का भिटिएम पद्धति हुन्छ । हाल नेपालमा ‘थ्री एमएल’का भिटिएममार्फत स्वाब संकलन हुँदै आएको छ  ।


थ्री एमएलभन्दा वान एमएल आफैँमा कम गुणस्तरको हो । सेनाले ल्याएको किट ‘वान एमएल’ भिटिएममा मात्र प्रयोग हुन्छ । गुणस्तर मात्र होइन, सेनाले ल्याएको यो किट प्रयोग गर्ने पद्धति हामीसँग नमिल्ने जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले संचारमाध्यममा बताएकी छिन् ।
दुई महिनाअघि चीनको तिब्बत सरकारले ३० हजार किट अनुदानमा दिएको थियो । तर, ती किट ‘वान एमएल’ पद्धतिको भएकाले प्रयोग नगरी गोदाममा राखिएको छ । चीन सरकारले सहयोग गरेको ३० हजार किट पनि यही कम्पनीको हो । त्यसबेला पिसिआर किट प्रयोग भएको थियो । एक्स्ट्रयाक्सन किट प्रयोग भएन किनकि एक्स्ट्रयाक्सन किट नेपालले प्रयोग गरिरहेको भिटिएमका लागि उपयुक्त भएन । एक्स्ट्रयाक्सन किट र भिटिएम फरकफरक कम्पनीको हुँदा परीक्षणको नतिजा गलत आउने समस्या भयो । त्यसैले चीन सरकारले दिएको किटबाट पनि परीक्षण रोकिएको थियो । सेनाले फेरि त्यही किट ल्यायो ।


स्वास्थ्य मन्त्रालयका अनुसार सेनाले ल्याएको किट सानस्योर बायोटेक कम्पनीको हो । उक्त किटका लागि सोही कम्पनीको मात्र भाइरल ट्रान्सपोर्ट मिडिया (भिटिएम) प्रयोग हुन्छ  । सेनाले ल्याएको किट अरू कुनै पनि भिटिएममा प्रयोग गर्न मिल्दैन । जनस्वास्थ्य प्रयोगशालाले जे भने पनि स्वास्थ्य मन्त्रालयले भने सेनालाई केही पनि भनेन । अहिले आएर धोका दिएजस्तो भयो । बेइमान गरेजस्तो भयो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे पनि यसबारे अनुत्तरित छन् ।

उनको एउटै भनाइ छ यदि नमिल्ने किट आएको भए तत्काल फिर्ता गरेर मिल्ने मगाउन हुने थियो । यसमा चीनले त धोका दियो नै सरकार उत्तिकै भ्रष्ट देखियो । सेनाका एक अधिकारीले भने, ‘हाम्रो टाउकोमा बन्दूक राखेर पड्काउने खेल भयो ।’ सेना यहाँ नराम्ररी चुकेको मात्र छैन भरोसा पनि गुमाउँदै गएको छ ।