तानाशाही शैलीमा सर्वत्र हावी हुँदा पनि रमिते बन्दै गठबन्धन

Home Feature

परिवारवादमा रमाउँदै प्रचण्ड


काठमाडौँ । जब तमासा हेर्ने दर्शक नै धेरै छन् भने तमासा गर्नेको उत्साह बढ्छ । हुँदाखाँदाको मास्टरी पेशा छाडेर क्रान्तिमा होमिएर राजनेता बन्ने ध्याउन्नमा तीन पटक प्रधानमन्त्री भइसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई राजाभन्दा बढ्तै मान्छन् । उनको यही अहम्का कारण सशस्त्र द्वन्द्वको लक्ष्य धेरै पछि छुट्यो भने उनको अहम् पूरा गर्न द्वन्द्वमा होमिएकाहरुको ज्यान गयो । ती मारिनेका परिवारको विचल्ली छ । तर प्रचण्डको परिवार फस्टाएर डाँडाकाँडा ढाकेको छ तर उनी सर्वहारा वर्गलाई भुइँमा कुल्चेर निरन्तर अगाडि बढिरहेका छन् ।
पाप धर्मको ख्याल नगरी बोट बिरुवा ढालेजसरी मान्छे ढाल्दासमेत पनि कुनै ग्लानिबोध गर्न नसकेका प्रचण्डले आफू ज्यूँदो छन्जेल उथलपुथल पार्ने धम्की प्रधानमन्त्री भएकै बेलामा दिइसकेका छन् । त्यसैले त उनी ज्यूँदो छन्जेल मुलुक उथलपुथल भइरहेकै छ र अझ बढी हुनेमा दुईमत छैन । किनकि प्रचण्ड जे चाहन्छन् त्यो पूरा गरेरै छाड्छन् । उनले अन्य दलका औँला ठडाउने नेताहरुलाई लात्तै लात्ताले हान्ने बताइसकेका छन् । त्यसैले तानाशाह बनिसकेका प्रचण्डको तानाशाहपन रोकिने स्थितिमा छैन । यसको प्रमुखकारण हो मबाद । माओवादी केन्द्रभित्र प्रचण्ड–पथको अन्त्य भएको १५ वर्ष भैसक्दा पनि परिवारवाद भने बलियोसँग हावी भएको छ । राष्ट्रिय सभा अध्यक्ष आफ्नै भाइ नारायण दाहाललाई बनाएपछि परिवारवाद हावी भएको थप पुष्टि भएको छ । २०५७ माघ २६ देखि फागुन १ गतेसम्म भारत, पञ्जाबको भटिन्डामा भएको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्ड–पथ पारित गरेको थियो । त्यसपछि हरेक मोर्चामा उसले माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्ड–पथको नारा लगाउन थाल्यो ।
नाम र वाद दुवैमा पुष्पकमल दाहाल प्रचण्ड स्थापित हुँदै गए । २०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठको एकता केन्द्रसँग एकीकरण भएपछि माओवादीले प्रचण्ड–पथ त्यागेको थियो । २०६५ मंसिर ५ देखि ११ गतेसम्म भक्तपुरको खरिपाटीमा भएको भेलामा अल्पमतमा परेपछि । हतारहतार एकता केन्द्रसँग एकीकरण गरेर पार्टीको नाम नै एकीकृत नेकपा माओवादी राखेका थिए । प्रचण्ड–पथ
स्वीकार नगर्ने नारायणकाजी श्रेष्ठ र अरूहरूको सन्देशपछि उनले दस्तावेजबाट सुटुक्क प्रचण्ड–पथ पनि हटाएर जोगिएका प्रचण्डले १५ वर्षपछि आफ्नो परिवारलाई महत्वपूर्ण मुलुकको कार्यकारी ओहोदा पार्टीमा स्थापित गराउँदै ल्याए । नारायण दाहाल राष्ट्रिय सभाको अध्यक्ष हुनु त्यसकै नमूना हो । २०८० असार २३ मा प्रचण्डले ज्वाइँ अर्थात् छोरी तथा स्वकीय सचिव गंगा दाहालका श्रीमान् जीवन आचार्य कोशी प्रदेशको आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्ने निर्णय गराएका थिए ।
त्यसको भोलिपल्ट २४ असारमा ज्वाइँ आचार्य मन्त्रीमा नियुक्त भए । २२ असारमा आचार्यलाई मन्त्रीमा दोहोर्याउन नहुने बलियो मत कोशी प्रदेशको माओवादी संसदीय दलमा देखियो । आचार्यको सट्टा नयाँ अनुहारलाई अवसर दिनुपर्ने र पार्टीका पुराना नेतालाई मन्त्री पठाउने अडान केही सांसदहरूको थियो । सोही कारण २२ असारमा तत्कालीन मुख्यमन्त्री उद्धव थापालाई माओवादीले मन्त्रीको नाम दिन सकेको थिएन ।
त्यसपछि ज्वाइँ आचार्य बालुवाटारको बलमा २४ असारमा पासामात्र पल्टाएनन्, पुराना र अवसरको दाबीमा रहेका नेताहरूलाई पाखा लगाएर बढुवा भएर मन्त्री भए । त्यसको परिणाम उदयपुरबाट निर्वाचित प्रदेश सांसद नारायण बुर्जा मगरले सार्वजनिक रूपमै राजीनामा दिने मनस्थिति बनाएको अभिव्यक्ति दिएका थिए ।
यसको श्रृंखला यतिमा रोकिँदैन १९ असार २०७९ मा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य केन्द्रीय सदस्य मनोनित भएका थिए । केन्द्रीय समितिको तेस्रो बैठकमा उनीहरूको नाम सार्वजनिक भएको हो । बैठकमा केन्द्रीय सदस्यको सूचीको ३ सय १३ औँ नम्बरमा गंगा दाहाल र ३ सय १८औँ नम्बरमा ज्वाइँ आचार्यको नाम राखेर थप केन्द्रीय सदस्यको सूची सार्वजनिक भएको थियो । प्रचण्डका ज्वाइँ आचार्यको माओवादीमा योगदान भनेकै प्रचण्डकी छोरी गंगा दाहालसँग विवाह गर्नु थियो । माओवादीमा जोडिनेबित्तिकै अवसर हात पार्न थालेका आचार्यले विवादका बीच २०७४ को प्रदेशसभाको चुनावमा टिकट पाए पनि चुनाव हारे तर उपराष्ट्रपति नन्दबहादुर पुनको विज्ञ सल्लाहकारका रूपमा जागिर खाए । त्यसपछि ज्वाइँ आचार्यले प्रचण्डकै जोडबलमा २०७९ मा पनि प्रदेश सभाको टिकट पाएर जिते मन्त्री बने ।
प्रधानमन्त्री प्रचण्डले छोरी रेणु दाहाललाई पार्टीको उत्तराधिकारीका रूपमा अगाडि सार्ने रणनीति लिएका छन् । त्यसैकारण पार्टीको जिम्मेवारीमा केन्द्रीय कमिटीदेखि भरतपुर महानगरपालिकाको मेयरमा दोहोर्याएका छन् । रेणुलाई अर्को चुनावमा चितवन ३ बाट संघको उम्मेदवार बनाउने प्रचण्डको रणनीति देखिन्छ । रेणुका श्रीमान् अर्जुन पाठक अहिले मेयरको सचिवालयमा आवद्ध छन् ।
पाठक पहिले माओवादीको संसदीय दलको कार्यालयमा काम गर्दथे । त्यति मात्र होइन पाठकले गणेशमान पुन उद्योग, आपूर्ति तथा वाणिज्यमन्त्री भएका बेलामा स्वकीय सचिव भएर काम पनि गरेका थिए । प्रचण्डका अर्का ज्वाइँ सागर केसी भने संसद सचिवालयमा काम गर्दथे । सभामुख कृष्णबहादुर महरा र अग्नि सापकोटा रहेको बेलामा केसीले सचिवालयमा काम गर्ने गरेका थिए । रेणु दाहालसँग नातेदारी रहेका बुद्धि जीसीले पनि अवसर पाएका छन् । रेणुका श्रीमान् अर्जुन पाठकका ज्वाइँ नाता पर्ने जीसी पार्टीको केन्द्रीय सदस्य मात्र छैनन्, प्रधानमन्त्री कार्यालयको जनसम्पर्क सचिवालयमा कार्यरत छन् । प्रचण्ड परिवारको सदस्य भएकै भरमा कति छिटो अवसर पाइन्छ भन्ने उदाहारण हुन्, सृष्टि केसी दाहाल । ६ असार २०७९ मा माओवादी अध्यक्ष प्रचण्डकी नातिनी सृष्टि दाहाल अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन् ।
अध्यक्ष पञ्चा सिंहले दाहाललाई केन्द्रीय सदस्य मनोनयन गरेकी हुन् । दाहाल प्रचण्डकी जेठी छोरी ज्ञानु केसीकी छोरी हुन् । हाल राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार रहेका भाइ नारायण दाहाल शुरुकै दिनदेखि प्रचण्डको बही खाता राख्ने व्यक्ति हुन् । उनी पार्टीको जिम्मेवारीका अलावा सांसद हुँदैे राष्ट्रियसभा सदस्य भएकाले राष्ट्रिय सभा अध्यक्ष हुने अवसर जुरेको हो । दाहाल परिवार र उनी निकटले मात्रै अवसर पाउने भएकै कारण चितवनका माओवादी नेता केन्द्रीय सदस्य तथा चितवन जिल्ला सहइञ्चार्ज भइसकेका नेता यमबहादुर परियार चुनावको मुखमा २०७९ कात्तिकमा माओवादी छोडेर एमालेमा प्रवेश गरेका थिए । प्रचण्डसँग चितवनको दाहाल नाता भएकै आधारमा महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएका थिए ।
माओवादीमा प्रचण्डकी बुहारी भएकै कारण बिना मगरले पनि अतिरिक्त अवसर पाउने गरेकी थिइन् । २०७४ मा कञ्चनपुर–४ बाट चुनाव जितेकी बिना प्रचण्डको आडमा खानेपानी मन्त्री भएकी थिइन् । पार्टीमा पनि निरन्तर बढुवा भइरहेकी मगर अहिले प्रचण्डको उत्तराधिकारीको दौडमा छिन् ।
उनी सुदुरपश्चिम इन्चार्ज भएपछि गएको स्थायी कमिटी बैठकमा जनार्दन शर्माले नोट अफ डिसेन्ट नै लेखेका थिए । प्रचण्डको साला नाता पर्ने हेमराज पाठककी श्रीमती अधिकारी अहिले प्रधानमन्त्री प्रचण्डको सचिवालयमा छिन् । प्रचण्डको परिवारसँग सम्बन्ध जोडिएकै कारण गोरखाका चुडामणि खड्काले पनि प्रशस्तै अवसर पाएका थिए । जब दिने मान्छे भएपछि स्वार्थ लिनेको लाइन नै लाग्दछ । तर माओवादीभित्रै चर्चा छ यत्तिकै तानाशाह त राजसंस्था पनि थिएन । प्रचण्ड सरकार नै भएका छन् । पार्टीबाट छुट्टै योजना लिएर सेवा गर्न निस्केकाहरुलाई प्रचण्डको आशीर्वाद नलिइ सुखै छैन । नयाँ गठबन्धन यत्तिको तमासे भएर बस्ला भन्ने अनुमान कसैको थिएन । प्रचण्ड श्री ३ भएको गुनासो माओवादीभित्रै छ ।
दिनदिनै विश्वास गुमाउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास गुमाउँदै गएका छन् । उनले १५ महिनाको अवधिमा संसदमा तेस्रो पटक विश्वासको मत लिए । विश्वासको मत लिँदै गर्दा सहयात्रीहरुबीचमै अविश्वास देखिएको छ । अविश्वास देखिएकै कारण माधवकुमार नेपाल नेतृत्वको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रचण्डलाई विपक्षीले भन्दा बढी घोचपेच गरे । खासगरी एमालेबाट विभाजित भएको नेकपा एसका सांसदहरु अहिलेको गठबन्धनप्रति सन्तुष्ट नहुँदा विश्वासको मत दिँदै गर्दा घोचपेच भएको थियो । १५ महिनामा तेस्रोपटक संसदमा विश्वासको मत लिँदा प्रचण्डप्रतिको विश्वासमा सहकर्मीहरुबाटै अविश्वास देखिएको छ । अर्थात् विश्वासमा संकट देखिएको छ । पाण्डेले संविधानको रक्षाका लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रविरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर विष पिएर उभिएको पार्टीलाई प्रधानमन्त्री प्रचण्डले बाटोमा छोडेर हिँडेको आरोप लगाएका थिए । नेकपा एससँग कुनै पनि छलफल नगरेको पाण्डेको गुनासोको रूपमा सो भनाइ आएको थियो ।
‘संविधानको रक्षाका लागि पार्टीभित्रको व्यक्तिवादी चरित्रविरुद्ध हामीले विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर विष पिएर तपाईको पक्षमा उभिएका थियौँ । हामीलाई बाटोमा छोडेर हिँड्नुभयो’, उनले प्रश्न गर्दै भने, ‘योभन्दा अनैतिकता के हुन्छ ? एकपटक हाम्रो पार्टीको ठाउँमा उभिएर सोच्नुहोस् ।’ उपाध्यक्ष पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडेका दिन प्रधानमन्त्री पदको हालत के हुन्छ भन्ने प्रश्न पनि गरे । ‘ओलीजी र देउवाजीले घाँटी जोडेका दिन तपाईको प्रधानमन्त्रीको पदको हालत के हुन्छ ? हेक्का राख्नुहोला,’ उनले भनेका थिए । २०७९ साल २६ पुसमा उनले संसदको झण्डै ९७ प्रतिशत मत प्राप्त गरेका थिए । ६ चैतमा दोस्रोपटक संसदको सामना गर्दा त्यो विश्वास घटेर ६३ प्रतिशतमा झरेको थियो भने ३० फागुनमा प्रधानमन्त्रीप्रतिको संसदको विश्वास ५७ प्रतिशतमा झरेको छ । अर्थात् सत्ता प्राप्तीका लागि प्रधानमन्त्री प्रचण्डले गरेको ओहोरदोहोरलाई राजनीतिक दलहरुले विश्वास गर्न सकिरहेका छैनन् । चुनावी गठबन्धन तोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस २०७९ मा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर २६ पुसमा कांग्रेससहित १० दलले उनलाई विश्वासको मत दिएका थिए ।
२७५ सदस्यीय प्रतिनिधिसभाका २६८ सांसदले प्रधानमन्त्री प्रचण्डलाई त्यतिबेला विश्वासको मत दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेलै प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धन भत्काउन ‘ढोक्सा’ थापेको बताएका थिए । नभन्दै राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा प्रचण्ड कांग्रेस गठबन्धनमै फर्किए । जसको परिणाम कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएपछि गठबन्धन करिब एक वर्ष टिक्यो । पौडेल राष्ट्रपति निर्वाचित भएपछि एमाले सरकारबाट बाहिरियो । त्यसपछि २०७९ चैत ६ मा विश्वासको मत लिँदा प्रचण्डले १७२ मत प्राप्त गरेका थिए ।
विपक्षमा ८९ मत मात्र थियो । २१ फागुन २०८० मा एमाले नेतृत्वको गठबन्धनमा फर्किएर विश्वासको मत लिँदा प्रचण्डप्रति संसदको समर्थन अझै खस्किएको छ । बुधबार संसद बैठकमा उपस्थित २६८ सांसदमध्ये प्रधानमन्त्रीको विश्वासको मत प्रस्तावको पक्षमा १५७ र विपक्षमा ११० मत परेको छ । यी तथ्यले संसदमा प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत बढ्दै गएको छ । यति मात्र होइन उनको आफ्नो पार्टीभित्र पनि उनलाई अविश्वास गर्ने जमात बढ्दै गएको छ । खासगरी जनार्दन शर्माहरुले उनलाई परिवारवादको आरोप लगाउँदै आएका छन् । गत फागुन १ देखि ३ गतेसम्म भएको विधान अधिवेशनबाट प्रचण्डलाई नै अध्यक्ष बनाउने गरी विधान पास गरेपछि माओवादी केन्द्रभित्र उनी बाहेक अरु कोही अध्यक्ष वा नेता छैनन् भन्ने भान हुन्थ्यो ।
त्यही भएर नेताहरुले अध्यक्षको परिवारवादको विरोध गर्न थाले । त्यतिमात्र होइन राष्ट्रिय सभा अध्यक्ष आफ्नै काकाको र सानीमाको छोरा भाइलाई बनाएपछि पार्टीभित्र उनको छवि धुमिल हुँदै गयो । अर्कोतर्फ माधव सापकोटा, माया शर्मा लगायतका सांसदहरुले मन्त्री चयनको विषयमा पनि प्रश्न उठाए । जसले गर्दा पार्टीबाहिर मात्र होइन पार्टीभित्र पनि उनी एक्लिदै गएका छन् ।
शान्ति प्रक्रियामा आएपछि सत्ता र शक्तिमा मात्र केन्द्रित हुँदा माओवादी र त्यसका अध्यक्ष प्रचण्डको क्रान्तिकारी छवि धुमिल हुदै गएको छ । आर्थिक विकास, सामाजिक न्यायका लागि जनतालाई मर्न र मार्न पे्ररित गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि सत्ताकेन्द्रित हुँदा उनी र उनको पार्टीप्रतिको जनविश्वास घट्दै गएको छ । २०६२–६३ सालको आन्दोलनपछि शान्ति प्रक्रियामा आएको माओवादी त्यसयता सत्तावरिपरि मात्र घुमेको छ । शान्तिप्रक्रियामा आएपछिका १७ वर्षमा १४ वटा सरकार बनेका छन् । माओवादी झन्डै १४ वर्ष सरकारमा बसेको छ । चार पटक सरकारको नेतृत्व गरेको माओवादी २०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ सम्म माधवकुमार नेपाल र २०७० माघ २८ देखि २०७२ असोज २४ गतेसम्म सुशील कोइराला नेतृत्वको सरकारमा मात्र सहभागी भएन । बाँकी सबै समय सरकारमा रहेको छ । यसबाट स्पष्ट हुन्छ कि प्रचण्डको सर्वहारा वर्गको उत्थान परिवारवादमै अड्किएको छ ।