कुम जोड्दै ओली–नेपाल

Home Feature

काठमाडौँ । समय सबैभन्दा बलबान छ भनेर त्यसै भनिएको हैन होला । माधवकुमार नेपालको नाम लिएपछि मुख कुल्ला गर्नुपर्ने हुने भनेर केपी शर्मा ओलीले दुई वर्षअघि नै भनेका थिए । त्यसपछि त दुई नेताको पानी बाराबार थियो । लाग्थ्यो बाँचुन्जेल यी नेताहरुको कहिल्यै कुम जोडिने छैन । तर समयले फेरि कुम जोडाइदिएको छ । त्यसैले त नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) बीच एकताको पहलकदमी थालिएको छ । नेकपा एससँग रहेको १० सिट एमालेमा भए मुलुकको सबैभन्दा ठूलो पार्टी हुने भएकाले त्यसका लागि एमालेका नेताहरुले प्रारम्भिक छलफल शुरु गरेका छन् । त्यसका लागि एमाले अध्यक्ष ओली पनि सकारात्मक बनेका छन् । ओली मात्र होइन नेकपा एसका नेताहरु पनि सकारात्मक बनेका छन् ।
एस पार्टीमा रहेका तल्लो तहका नेता कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि माथिल्लोतहका नेताहरुले पार्टीलाई मिलाउने कोसिस गरिरहेको स्रोतको दाबी छ । ‘एकाध चरणमा यो विषयमा कुराकानी भएको छ’, नेकपा एसका एक नेताले भने, ‘त्यसका लागि एमाले अध्यक्ष केपी ओलीले पहल गरे यसको समाधान निस्कन्छ ।’ ओली पनि माधवलसँग सम्बन्ध सुधार गर्ने पक्षमै रहेका छन् । ओली र नेपालबीच गत
साताको शनिबार मात्रै करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’को एकल भटघाट भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको होर । तर यो भेटघाटलाई गोप्य राखिएको छ । शनिबार नै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटघाट गरेका थिए । प्रचण्डलाई भेटेपछि ओली सिधै माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध प्रचण्ड र नेपाल ओलीविरुद्ध उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास भएपछि उनले दुई पटक संसद् विघटन गरेका थिए ।
दुई पटक नै सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेपछि ओली र नेपालले फरक बाटो लिएका थिए । त्यसयता उनीहरु बीचको सम्बन्ध निकै तिक्ततापूर्ण रहेको थियो । माधव नेपालको नाम लिएपछि केपी ओलीले मुख कुल्ला गर्नुपर्ने अभिव्यक्तिसमेत दिन भ्याए । माधवले पनि बाँकी राखेनन् भन्नलाई । वाक्पटुता जतिसुकै भए पनि अहिले आएर दुई नेता कुम जोडाउन पुगेका छन् । गत वर्ष यही ठूलो पार्टी बन्ने ध्यानका लागि ओलीले माधवलाई राष्ट्रपति बनाउन खोजेका थिए । तर धोका हुने थाहा पाएपछि माधव चार कोष टाढा भागेका थिए । अनि चिठ्ठा प¥यो कांग्रेस नेता रामचन्द्र पौडेललाई ।
२०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबीच बोलचाल बन्द थियो । पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठूलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी तथा नेताबीच सम्बन्ध झनै चिसिएको थियोर । यही फागुन २१ मा एमाले र माओवादीसहित दलहरूको नयाँ समीकरण बनेपछि गठबन्धनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि मिसिएको हो । एकीकृत समाजवादीलाई गठबन्धनमा सहभागी गराउन ओली र प्रचण्ड नेपाल निवास कोटेश्वर गएका थिए । त्यसयता ओलीले नेपाललाई फकाउने कोसिस गरिरहेका छन् । यो प्रयास अब एकता नहुँदासम्म जारी रहने एमालेका नेताहरुले बताउन थालेका छन् । त्यसो त एमालेमा जान खुट्टा उचालेका एसका नेताहरुको पनि भाउ बढेको छ । भित्रभित्रै खुशी भएका उनीहरुले एकता भएपछि आफूहरुको पनि ‘भ्यालु’ हुनुपर्ने बताइरहेका छन् । तर पार्टी एकता भए पनि पछि गएर भीम रावल भएर बस्नुपर्ने हो कि भन्ने चिन्ता एकथरी नेतालाई रहेको छ ।