चीनको मुख्य चासो ‘एमसीसी’

Home Feature

काठमाडौं । गत साता चिनियाँ कम्युनिटट पार्टीको तेस्रो वरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटका लागि नेपाल आएर फर्के । चार दिने नेपाल बसाइको क्रममा उनले राजनीतिक तहका उच्च अधिकारीलाई भेटेर एउटै चिन्ता गरे अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको दुरुपयोग । जबदेखि नेपालको संसदले एमसीसी पारित ग¥यो त्यो बेलादेखि चीन नेपालप्रति सशंकित छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिवसीय औपचारिक भ्रमणमा गत सोमबार काठमाडौं आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरे ।
यसपल्ट चिनियाँ अधिकारीहरुले नेपालसँग दुई वटा विषयहरुमा मात्रै सरोकार राखेको पाइन्छ । चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे पहिलो चासो राखेको थियो । त्यस्तै प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँगको भेटका क्रममा लिले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा कमी आउन नहुने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको दुरुपयोग हुन नहुने आशय व्यक्त गरेको थियो । यी दुई वटा चासोमा स्पष्ट रुपमा चिनियाँ पक्षको लगानी रहेको बीआरआई र अमेरिकी पक्षको एमसीसीमै गएर ठोक्किएको थियो । प्रधानमन्त्री देउवासँग भएको भेटमा लिले नेपालको भूमि प्रयोग गरी चीनको राष्ट्रिय स्वार्थविरुद्ध गतिविधि हुन सक्नेतर्फ चासो व्यक्त गरेका थिए । उनले एमसीसीको दुरूपयोग हुन सक्नेतर्फ पनि चासो व्यक्त गरेको थिए । ‘एमसीसी कार्यान्वयनमा आइसकेको अवस्थामा त्यसको दुरूपयोग हुन सक्नेतर्फ चीनको चासो थियो,’ स्रोतले भन्यो ।
बीआरआईको सम्बन्धमा पनि चिनियाँहरुले कडा रुपले चासो राखेका थिए । एमसीसी कार्यान्वयन हुने अवस्था आउँदा पनि बीआरआईको बारेमा सरकारले प्रकृया नै अघि बढाउन नसक्नुको कारणसमेत मागिएको थियो । अमेरिकी राज्य साझेदार कार्यक्रम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको विषयमा भने चिनियाँ पक्षले धन्यवाद दिए पनि बीआरआईको बारेमा समान धारणा र चासो थियो । चिनियाँ पक्षले नेपालमा अमेरिकालगायत देशको चासो र स्वार्थबारे पनि चासो राखेको थियो । प्रधानमन्त्रीसँगको भेटमा लिले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता र अडानको सराहनासमेत गरेका थिए । भेटमा दुईपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, शैक्षिक मामिला, हवाइ सेवालाई पुनः निरन्तरता, सीमानाका सञ्चालनलगायतका विषयमा छलफल भएको थियो । नेपालले सीमानाका बन्द भएको विषय उठाएपछि चिनियाँ पक्षले तिब्बतमा कोरोना महामारी नियन्त्रण भएलगत्तै पुनः सञ्चालन गर्ने र मालबाहक कन्टेनर आवतजावतलाई सहज बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । ‘यो विषयलाई उनीहरुले बीआरआईसँग जोडेको आभाष हुन्छ’, स्रोतले भन्यो, ‘नाका चालु हुन केही ढिलाइ भएको विषयमा उनीहरु सचेत देखिन्छन् । यद्यपि बीआरआईको प्रकृया अघि नबढ्दासम्म घच्याकघुच्चुक हुने अवस्था देखिन्छ ।’ लिले ओली र प्रचण्डसँगको भेटमा पनि नेपाली भूमिबाट हुनसक्ने चीनविरोधी गतिविधिबारे चासो राखेका थिए ।
ओलीसहितका नेताहरूसँगको भेटमा लिले नेपालबाट चीनलाई अप्ठेरो नहोस् भन्ने धारणा व्यक्त गरेको थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा पनि लिले नेपाली भूभागबाट चीन विरोधी गतिवधि नहोस् भनेका थिए । प्रचण्डले नेपालबाट चीन विरोधी गतिवधि हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । लिले बिहान राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री खड्कासँग भेट गरेका थिए । दुवै भेटमा दुईपक्षीय हित बारेमा कुराकानी भएको भनिए पनि चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे बढी चासो राखेको भेटघाटमा संलग्न एक अधिकारीले बताए ।
पछिल्ला ६ महिनाको अवधिमा चिनियाँ जनकंग्रेस प्रमुख लीसहित चीनबाट तीन उच्चस्तरीय भ्रमण भएका छन् । ती भ्रमणका क्रममा चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ । विशेषगरी नेपालको संसद्बाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि चीन थप सशंकित देखिन्छ । वर्तमान सरकार बनेपछि हुम्लामा सीमा विवादको कुरा, संसद्बाट एमसीसी अनुमोदन तथा नेपाल भ्रमणमा आएका उच्च अमेरिकी अधिकारीले तिब्बती क्याम्पमा भ्रमण गरेको विषयले चीन नेपालप्रति विश्वस्त हुन सकिरहेको छैन । झान्सुले राष्ट्रपतिदेखि नेताहरुसम्मको कानमा विशेषगरी एउटैमात्र विषयलाई साझा गरेका छन् । त्यो हो एमसीसी । एमसीसीलाई लिएर नै चीन सशंकित देखिन्छ । त्यसैले पनि चीनको आफ्नो मनशान्ति गर्नका लागि झान्सुले भूमिका खेलेर गएको स्पष्ट हुन्छ ।