इलामको चुनावले दिएको सन्देश

Home Feature

काठमाडौँ । हरेक चुनावले कुनै न कुनै सन्देश दिएर जान्छ । यसपालिको इलाम २ मा भएको उपनिर्वाचनले पनि एउटा सन्देश दिएर गएको छ । पुराना दलबीच नै कडा भिडन्त भएको छ । पहिचानको मुद्दा पेचिलो भएको छ । रवि लामिछानेको जोड पूर्वमा कमै छ । अनि राजसंस्थाको नारा लिएर अगाडि बढेको राप्रपा हावामा दौडिरहेको छ । ऊसँगै जनमत छैन । छन् त नेतामात्रै । इलाम २ जसले जतिसुकै जोड लगाए पनि एमालेकै हो भन्ने प्रमाणित भएको छ । ०७९ मा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजय भोगेका कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्काले उनै नेम्वाङका छोरा सुहाङसँग ठूलो मतान्तरले पराजय भोगे । जित्ने अपेक्षा सहित उपनिर्वाचनमा होमिएका खड्काले यसपटक कांग्रेसको मत जोगाए तर आफू भने हारे । खड्काले हारमा ह्याट्रिक गरे ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा पनि एमालेकै उम्मेदवार राम राना मगरसँग खड्का पराजय भएका थिए । त्यसपछि एक वर्षको अन्तरमा अहिले दुई पटक पराजित भए । ०७९ मा नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले माओवादीको समेत जोडेर २९ हजार ९०६ मत पाएका थिए । समानुपातिकतर्फ भने एमालेले २६ हजार ५६२ मत मात्रै पाएको थियो । यसको अर्थ त्यतिबेला सुवास नेम्वाङको व्यक्तित्वले ४ हजार भोट बढी तानेको देखिन्थ्यो । कांग्रेसको पनि प्रत्यक्षमा भन्दा समानुपातिकमा कम भोट खसेको थियो । कांग्रेसले प्रत्यक्षमा २९ हजार ९०६ भोट पाउँदा समानुपातिकमा २२ हजार ३३३ मतमात्र खसेको थियो । त्यतिबेला कांग्रेसलाई माओवादी र नेकपा एसले साथ दिएको थियो । इलाम २ बाट माओवादीले ०७९ सालमा समानुपातिकतर्फ ५ हजार १५३ मत पाएको थियो । एकीकृत समाजवादीको समानुपातिक मत ५८६ मात्रै खसेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले त्यतिबेला समानुपातिकमा ४ हजार ६८६ मत ल्याएको थियो अहिले मिलन लिम्बूले त्यस पार्टीबाट उठ्दा पाँच हजार ५० मत ल्याए । पहिलाको तुलनामा रास्वपाको मत केही मात्रामा बढेको देखिन्छ । यस क्षेत्रबाट गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश सापकोटाले १ हजार ३८० मत मात्रै पाएका थिए । रास्वपाले यसपालि चुनाव जित्ने दाबी गरेर मिलनलाई उम्मेदवार बनाएको थियो । तर पनि रास्वपाले अपेक्षाकृत मत ल्याउन सकेन । कांग्रेस आफैँले जित्ने गरी तयारी गरेकोमा एमालेले पहिचान विरोधी नारा लागेको ठाउँमा निकै मेहनतपूर्वक आफ्नो मत सुरक्षित गर्नु पनि कांग्रेसका लागि यसपटक अनपेक्षित भएको थियो । एमालेले किरात धर्मगुरु आत्मराम लिङ्देन बसोबास रहेको वडाबाट झिनो मत पाएको थियो । पहिचान पक्षधरले एक हजार बढी मत ल्याउँदा एमालेले ६९ मतमात्रै पाएको थियो । तर त्यसको साटो एमालेले अन्य स्थानबाट राम्रो मत लिदै अघि बढ्यो ।
किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका वडा ५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका थिए । थेगिमले यो वडामा १ हजार ३२ मत ल्याए । नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले यो वडामा ३ मत ल्याएका छन् । यसरी हेर्दा एमालेलाई पहिचान पक्षधरहरुले पनि खास अप्ठेरो पारेनन । इलाम क्षेत्र २ को उपनिर्वाचनका १९ उम्मेदवारमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत ल्याउन नसक्दा उनीहरूको धरौटी गुमेको हो । १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा
रहेकामा एमाले, कांग्रेस र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिममात्र जमानत जोगाउन सफल भए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत नल्याए धरौटी जफत हुन्छ । यो क्षेत्रमा कुल सदर मत ६८ हजार ४ सय ७२ छ । यसको १० प्रतिशत ल्याउन छ हजार ८ सय मत चाहिन्छ । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत मात्र ल्याए । राप्रपा उम्मेदवार लक्ष्मी गुरुङले ४०४, जनमत पार्टीका प्रेम थाम्सुुहाङले ११८, नेकपा (एस)का जितबहादुर राईले ४०८, नेपाल मजुदर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, मंगोल नेसनल अर्गनाइजेसनका मणि लिम्बूले ८१६ मतमात्र ल्याएर धरौटी गुमाए । राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, नेपाल जनता दलका रेशबहादुर सुनुवारले २०६, नेसनल रिपब्लिकन नेपालका धन रानामगरले ३६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्तविक्रम साहले ४३ मत ल्याए ।
उनीहरूको पनि धरौटी बचेन । स्वतन्त्र उम्मेदवारहरू अर्जुनविक्रम शाहीको ५५, डाकप्रसाद गौतमको १४, दीपेश बोहोराको २१, मनोज निरौलाको १२, योगेन्द्र गुरुङको ४ र राज बस्यालको ३८ मत आएको छ । उनीहरू सबैले धरौटी गुमाएका छन् । जितेका सुहाङले २७ हजार ७७२ मत ल्याए भने कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ११ हजार ४५७ मत आयो । यसले पनि देखायो कि पहिचानवादीको सम्बोधन कोशीमा गर्नुपर्नेछ । अनि राप्रपाको पारा हुँदै भएन ।