हाम्रो पालो आइपुग्यो अब त !

Home Feature राजनीति

उहिले उहिलेको एउटा खुबै लोकप्रिय गीत – भोभो अब जुरेली चरी हाम्रो पालो आइपुग्यो अब त ! हेरिल्याउँदा त्यो गीत आजको समयमा पनि उत्तिकै समसामयिक लाग्छ । गीत त्यतिकै मीठो पनि छ । गीतको भावले जे भनिरहे पनि त्यसले अहिलेका आम नागरिकलाई होसियार गराइरहेको छ र तिमीले आफ्नो समयमा आफ्नो पालो आएको बेलामा जे पनि गर्न सक्छौ भन्ने सन्देश दिइरहेको छ ।
निश्चय पनि अहिले आम नागरिकको पालो आएको छ । किनभने यतिबेला स्थानीय तहको निर्वाचनको घोषणा भइसकेको छ । भन्न त स्थानीय तहलाई स्थानीय सरकार पनि भनिएको छ । यसको अर्थ स्थानीय निकायमा जिम्मेवार तहमा रहेर काम गर्न खोज्ने भिजन भएका जनप्रतिनिधिले आफूले चाहेअनुसारको काम गर्न सक्छन् भनेको हो । तर पहिलो स्थानीय सरकारको काम गराई देख्दा आम जनता दिक्क भएका छन् । तिनले गरेका कामको प्रशंसा गर्न कसैले सकेका छैनन् । अर्थात तिनले जुनरुपमा गाउँ, नगर र त्यहाँका जनताका लागि जेजति काम गर्नुपर्ने थियो त्यो गरेको देखिएन । पूर्वदेखि पश्चिम नेपालसम्मका सबै स्थानीय निकायहरुको हालत त्यस्तै नै रह्यो । आफूले नै कमाउनु पर्ने भन्ने विषयमा पनि साना साना कुरामा कर थोपरेर तिनले जनतालाई झन्झन् आक्रान्त बनाएका थिए । यदि तिनले जनताको हितमा नै काम गर्ने थिए भने त्यस भेगका जनताले तिनलाई सहयोग नगर्ने कुरै थिएन ।
तर सबै स्थानीय तहमा पुग्नेहरुले आफ्नो कर्तुत मात्रै देखाए । राज्यले दिएको सीड मनीको दुरुपयोग गरे ।
गाउँमा सडक नभए पनि गाडी किन्ने प्रचलन बढे पछि त्यसलाई कसरी विकास भएको मान्न सकिन्छ ? यो उदाहरण मात्रै हो । धेरै ठाउँमा त्यस्तो भएको छ । स्थानीय तहलाई वा सरकारलाई सुविधा दिएको नगर गाउका लागि भन्दा पनि जनप्रतिनिधिका लागि हो भनेजस्तो देखिएको छ ।
त्यसैले जुन रुपमा आम नागरिकले जनप्रतिनिधि छाने तिनले जनहितमा काम गर्ने सकेनन् । आफ्नो हितमा आफ्नो परिवारको हितमा मात्रै गरे । यदि तिनले गाउँ र नगरको हितमा काम गरिदिएको भए आज काठमाडौंमा यस किसिमको भीडभाड हुनेनै थिएन । तर फेरि अवसर आएको छ जनतालाई । अबको बल जनताको कोर्टमा पुगेको छ । त्यसैले सही र काम गर्ने मानिसलाई चुनेर स्थानीय निकायमा पठाउने मौका मिलेको छ । यो मौकाको फाइदा उठाउन सबैले सोच्नु पर्छ । पहिले काम नगर्नेलाई यतिबेला नै हो निमोठेर उखेल्ने । अर्को, युवा र गाउँको माया अनि जनताको हित गर्नेलाई स्थानीय निकायको कुर्सीमा बसाल्ने । त्यसैले यतिबेला हाम्रो पालो आएको छ । हरेकले आफ्नो पालोको र आफ्नो मतको सदूपयोग गर्नुपर्ने बेला छ । हैन भने भोलि पनि अघिल्लालाई जस्तै गाली गर्नुपरे हामीले दिने भोटको के अर्थ रह्यो !