नेकपाको भाँडभैलो अझै लम्बिने, सचिवालय बैठक निष्कर्षविहीन, फेरि २० गते बस्ने

Home Feature राजनीति

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलह निकै लम्बिने देखिएको छ । सचिवालय बैठक मार्फत आन्तरिक किचलो अन्त्य गर्ने अपेक्षा गरिएको भए पनि गुटहरुबीच हस्ताक्षर अभियान चल्न थालेपछि बैठकले निचोड ननिकाल्ने पक्का छ ।

यसकै कारण बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । बैठक फेरि वैशाख २० गते बस्ने गरी टुंगिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टीका आन्तरिक समस्या, पार्टी एकता सुदृढिकरणको महत्व, सरकारका काम र स्थायी कमिटीको बैठकबारे छलफल भएको थियो । तर कुनै निर्णय नभएपछि सबै बिषयको छलफल गर्न फेरि बैशाख २० गते बैठक बस्ने निर्णय भएको उनले बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीसंग छलफल नै नगरी दुई विवादित अध्यादेश ल्याउने अनि पार्टी फुटाउन खोज्ने जस्ता हर्कत गर्न खोजेपछि उनी विवादको घेरामा रहेका छन् ।

यसको झोंकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि देखाइदिने भन्दै आइरहेका छन् । त्यसक्रममा प्रचण्ड पक्ष र ओली पक्षका सांसदहरुले हस्ताक्षर संकलन गरिरहेका छन् ।

माधव नेपाल भने तटस्थ बसिरहेका छन् । उनको मत नै निर्णायक बन्न सक्ने देखिन्छ । ओलीले नेतृत्व सम्हालेपछि सरकार सबैभन्दा भ्रष्ट बनेको आरोप लागेको छ ।

सबैभन्दा असफल प्रधानमन्त्री बन्दै गर्दा उनले पदबाट राजीनामा नदिने तर कि पार्टी फुटाउने वा मध्यावधि चुनाव गर्नेसम्मको सोच बनाएको समेत बुझिन्छ ।