देउवा लाई शेखर समूहको चेतावनी

Home Feature समाचार


काठमाडौं । कसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विधि र विधानअनुसार चल्छन् भनी दाबी गर्छ भने त्यो मुर्ख हो । किनकि जसले यसअघिको कार्यकालमा विधान मिच्यो, जसले पाँच पटकसम्म प्रधानमन्त्री हुँदा विधि विधान मिच्यो उसबाट अब सकारात्मक अपेक्षा राख्नु गलत हो । उनी टेष्टेड भइसकेका छन् । त्यसैले पनि उनलाई भरोसा गर्ने अवस्था नभएको कांग्रेसको संस्थापन इतर पक्षले बताएको छ । कांग्रेसको १४ औं महाधिवेशन सकिएको दुई साता नबित्दै इतर डा. शेखर कोइराला समूहले पार्टी विधि विधानमा चल्ने संकेत नरहेको निष्कर्ष निकालेको छ ।
कोइराला पक्षीय नेताहरूको गत बुधबारको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधिविधानमा आधारित भएर नचलाउने र प्रतिपक्षीलाई पेलेर जाने संकेत गरेको निष्कर्ष निकालेको हो । बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले देउवाले पार्टीलाई फेरि विधानबमोजिम चलाउने नदेखिएको बताएका थिए । नेता कोइरालाले बैठकको शुरुमै सम्बोधन गरेका थिए । कोइरालाले मुख्यगरी
पार्टीको निर्णय प्रक्रिया, न्यायोचित र विधिसम्मत् रुपमा अवसरको वितरण र व्यवस्थापनका विषयमा प्रश्न उठाए । उनले यस्ता विषयमाथि सभापतिले ध्यान नपु¥याए पार्टीभित्र नेता, कार्यकर्तामाझ आखिर कांग्रेसमै किन बस्ने भन्ने प्रश्न उठ्ने र त्यसले विभाजनको अवस्था ल्याउन सक्ने संकेत गरे । ‘महाधिवेशन भर्खरै सम्पन्न भएको छ, अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन, तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ ।’
उनले अगाडि भने, ‘हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगतरुपमा अगाडि बढोस् भन्ने चाहन्छौं, सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौं भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ,’ कोइरालाले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’ उनले सभापतिले केन्दीय सदस्य मनोनीत गर्दा मापदण्डका विषयमा प्रश्न उठेको बताए । ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्दीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के ‘मापदण्ड’ अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौं,’ उनले प्रश्न गरे । कोइरालाले सभापतिले मन पराए वा मन नपराएको अवस्थामा हुने छनोटले पार्टीलाई दुर्घटनामा धकेल्ने बताए ।
बैठकमा महामन्त्री गगन थापाले यी निर्णयमा देउवाले आफू र पार्टीमा ४० प्रतिशत हिस्सा ओगट्ने समूहसँग सामान्य छलफल र परामर्शसमेत नगरेको बताएका थिए । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको छनोट गर्दा देउवाले संसदीय बोर्डबाट छान्ने विधानको व्यवस्थालाई बेवास्ता गरेको र आफूहरूसँग समेत छलफल नगरेको सुनाएका थिए । त्यसपछि बोल्ने सबैजसो नेताहरूले बलियो प्रतिपक्षीको भूमिका खेल्न नसके देउवाले निरन्तर पेलेर अघि बढ्ने संकेत देखिएको बताएका थिए । छलफलको अन्तिममा उपसभापति गुरुङले सम्बोधन गर्दै अहिले पार्टीलाई समग्र एकताबाट अघि बढाउनुपर्ने आवश्यक रहेको बताएका थिए । उनले आफूहरू पार्टीभित्र गुटबन्दी नगर्ने, भागबन्डा पनि नखोज्ने तर सभापतिले सबै कार्यकर्तामाथि न्याय गर्न सक्नुपर्नेमा जोड दिएका थिए ।