नेपालमा एकैदिन थपिए ११४ कोरोना संक्रमित, पुगे ८८६

Home Feature समाचार समाज

काठमाडौं । बुधबार कूल ११४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८८६ पुगेको छ ।

मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकाटाले कूल सङ्क्रमितमध्ये ७९६ पुरुष र ९० महिला रहेको जानकारी दिनुभयो । सङ्क्रमण पुष्टि भएकामा सप्तरीको बोदेबसाइन नगरपालिकाका आठ, बालनविभूल गाउँपालिकाका दुई र सुरुङ्गा नगरपालिकाका एक जना छन् ।

यसैगरी झापाको गौरादह नगरपालिकाका दुई, कचनकवल नगरपालिकाका १५ जना छन् । मकवानपुरको हेटौँडाका एक, रौतहटको गढिमाई नगरपालिकाका सात, बागलुङको तमानखोला गाउँपालिकाका चार र बडिगाड गाउँपालिकाका दुई, रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका तीन, दाङको घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ, बाँकेको डुडुवा गाउँपालिकाका दुई, राप्ती सोनारी गाउँपालिकाका सात, वैजनाथ गाउँपालिकाका छ र खजुरा गाउँपालिकाका एक जना छन् ।

यस्तै सिरहाको सिद्धिचरण नगरपालिकाका एक, सिरहा स्थायी ठेगाना भएका तर हाल सप्तरीको रुपनी बस्ने एक, बाराको पर्चौदा नगरपालिकाका सात, रौतहट स्थायी ठेगाना भई हाल बारामा रहेका एक, रौतहटको गौर नगरपालिकाका आठ, देवाही भोनाही नगरपालिकाका दुई, कटहरिया नगरपालिकाका दुई र रौतहटकै अन्य स्थानका १६ जना छन् । सबै पहिचान भएका सङ्क्रमित क्वारेन्टिनमै रहेका प्रवक्ता देवकाटाले जानकारी दिए ।

सबैभन्दा बढी सङ्क्रमित प्रदेश नं ५ का छन् । सो प्रदेशका नौ जिल्लामा ३६५ जनामा सङ्क्रण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेश नं १ का सात जिल्लामा १०३, प्रदेश नं २ का आठ जिल्लामा ३२४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको चार जिल्लामा १३ र कर्णाली प्रदेशको तीन जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

१८३ जनाले जिते कोरोना
नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ । देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् ।

यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।