पूर्वराजा शाहबाट भनियो –नेपाली जनता टुहुरा भए

Home Feature राजनीति

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहबाट जब नेपाली जनता टुहुरा भए भनी प्रतिक्रिया दिइएको छ त तब नेपालीहरु एकपटक सोच्न वाध्य भएका छन् । २०६५ सालमा गणतन्त्रको लहलहैमा लागेर जसरी राजतन्त्र फाल्ने काम भएको छ तब १२ वर्षमा बाग्मतीमा थुप्रै पानी बगेको छ । अस्तित्व नै समाप्त पार्ने खेल राजनीतिक दलहरुले खेलिरहेका छन् । देशको अवस्था दूरावस्थामा पुगेको छ । जनता अभिभावकविहीन भएका छन् ।

कोरोना भाइरसको महामारीलाई उदाहरण दिँदा अझ स्पष्ट हुन्छ । सरकार जनताको उपचार गर्न तर्कियो । अर्बौं रुपैयाँ भ्रष्टाचार गरेर पचायो । त्यो पनि गरीव जनताले तिरेको करबाट असुलेर । पूर्वराजा शाहबाट अहिलेको परिस्थिति आँकलन गरेकै त्यो अभिव्यक्ति दिइएको हो । नेता विदेशमा भासिन सक्छ तर राजा भासियो भने उसको अस्तित्व समाप्त हुन्छ । मतलब हो राजा जहिले पनि देशकै लागि हुन्छ । देश सकिँदा राजा सकिन्छ ।

त्यस्तो राजतन्त्रमाथि शंका गरेर दलहरुले विभिन्न शक्तिको पछि लागेर राजा बन्ने शौख पालेर बस्दा आज देश अस्तव्यक्त भएको छ । त्यही भएरै पूर्वराजाबाट जनताले आजको बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेको उल्लेख गरिएको छ । बडादशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहबाट वर्तमान परिस्थितिप्रति आक्रोश पोख्दै सरकारलाई सचेत गराइएको हो ।

वर्तमान परिस्थितिप्रति कटाक्ष गर्दै शाहबाट शुभकामना सन्देशमा ‘समाजमा अनेक आपराधिक गतिविधि र पिशाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आसुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् ’ लेखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दै कोरोना भाइरस संक्रमण रोकथाममा समेत सरकार असफल भएको टिप्पणी पूर्वराजाबाट गरिएको छ ।

विपदका बेलामासमेत जनताले अभिभावक नपाएको भन्दै वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको टिप्पणी पूर्वराजाबाट गरिएको छ । सन्देशमा शाहबाट लेखिएको छ, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै पूर्वराजा शाहबाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ । जनता बचाउन सकेमात्र राजनीति र राज्य बच्ने भन्दै सन्देशमा ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ’ भनिएको छ ।

विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै शाहले देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको आरोप पनि पूर्वराजाबाट लगाइएको छ । सन्देशमा ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ’ भनिएको छ ।

राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिएका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएकामा चिन्तित पूर्वराजा शाहबाट दैनिक जिविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको पनि उल्लेख गरिएको छ ।

पूर्वराजा शाहबाट यसपटकको दशैंमा जनताको दुःखसँग सँगै रहेको भन्दै शक्तिपीठहरुको दर्शन भएन । बडादशैंका दिन टीका पनि सर्वसाधारणलाई लगाइएन । पीडामा जनताको साथमा हुनुपर्छ भन्दै पूर्वराजाबाट असारमा परेको आफ्नो जन्मदिन पनि नागरिकसँग साटासाट गरेर मनाइएको थिएन । यो जनभावनासँग मेल खाने पूर्वराजाको यो व्यवहारबाट नेपाली जनता फेरि एकपटक नतमस्तक भएका छन् ।

राजनीतिक चरित्र र व्यवहार घृणित भइरहँदा पूर्वराजामाथि एकपटक फेरि अभिभावकीय भूमिका निर्वाह गर्नका लागि आग्रहसमेत गर्न थालिएको छ ।